बजेटमाथिको छलफलमा सांसदहरूको मिश्रित प्रतिक्रिया

0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएकोे बताए ।

सांसद चौधरीले भने, “कृषिमा लगानी दशक घोषणा गरिएको छ । यसको कार्यान्वयनमा ठोस योजना बनाउन जरुरी छ ।” कृषिमा अग्रिम आय कर लगाइएको उल्लेख गर्दै उनले बजेटमा स्थानीय संस्कृति र पर्यटनको विकासका लागि गरिएको व्यवस्था सकारात्मक भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले आर्थिक मन्दिका बेला सार्वजनिक भएको बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको विचार व्यक्त गरे । “एकातिर पुँजीको अभाव छ, अर्कोतिर पुँजी पलायन भइरहेको छ । यसलाई रोक्न ध्यान दिनुपर्छ” उनले भने ।

जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्रप्रसाद महतोले बजेटमा सकरात्मक पक्ष रहेका बताउँदै बजेटले समग्र रुपमा सबै क्षेत्रलाई समेटेको उल्लेख गरे । उनले पनि कार्यान्वयन पक्ष सबल हुनुपर्नेमा जोड दिए । “ बजेटमा राम्रा पक्ष पनि छन्, कार्यन्वयनका चुनौती पनि छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले बजेटका बारेमा सत्तापक्षले समर्थन र विपक्षीले आलोचना गर्नुपर्छ भन्ने धारणाप्रति असहमति जनाउँदै बजेट रोजगारी सृजना र कृषि विकासमा बढी केन्द्रित हुनुपथ्र्यो भने । साथै उनले हिमपातका कारण हिमाली जिल्लामा वैशाख र जेठमा मात्र विकास–निर्माणका गतिविधि सञ्चालन गर्न सकिने यथार्थ सुनाउँदै हिमाली भेगका लागि बेग्लै आर्थिक वर्ष निर्धारण गर्नुपर्ने विचार व्यक्त गरे ।

‘राजस्वका लक्ष्य प्राप्त गर्न थप स्रोतको खोजी आवश्यक छ’: धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व सङ्कलन हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे ।

सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे । “औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने २ खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप २ खर्ब राजस्व सङ्कलन गर्न सकिन्छ । त्यस्तै नेपालमा रहेका ७३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप २ खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्र्फ पनि सोच्न जरूरी छ”, गुरुङ्ले भने । उनले देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने सङ्कल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।

हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उहाँले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिए । सांसद गुरुङले बजेटमा ‘बर्थिङ हब’ भनेर आएको र अब ‘हनिमुन सिटी’ पनि बनाउनुपर्ने धारणा व्यक्त गरे । “घाटा बजेटलाई काम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्ने छ । यसैगरी बजेट कार्यान्वयन जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्याङ्कन गर्नुपर्छ”, उनको भनाइ थियो ।

बजेट कार्यान्वयनका लागि आर्थिक अनुशासन कायम गर्नुपर्छः रघुजी पन्त

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं सांसद रघुजी पन्तले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक अनुशासनहीनतालाई नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले तोकिएको राजस्व नउठे के गर्ने भनी प्रश्न गरे ।

उनले भने, “अघिल्लो वर्ष पनि तोकिएको लक्ष्यअनुसार राजस्वको उठेन, यो बजेटमा पनि निर्धारित राजस्व उठेन भने कसरी पूर्ति गर्नुहुन्छ ।” बजेटमार्फत कृषि लगानी वर्ष घोषणा गरिए पनि बजेट घटेको भन्दै उनले लक्ष्य हाँसिल हुनेमा शंका व्यक्त गरे । अनुत्पादक पूँजीगत बजेटलाई पनि कटौती गर्नुपर्ने उनको धारणा थियो ।

बजेटमा केही अन्तरविरोधी विषय भएको उल्लेख गर्दै सांसद पन्तले राखिएका लक्ष्य पूरा हुनेमा आशङ्का व्यक्त गर्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । “विभिन्न आशङ्का छन् । बजेटलाई यथार्थवादी भएर समीक्षा गर्दै पूँजीगत खर्चमा कडा हुन अर्थमन्त्रीलाई मेरो आग्रह छ”, उनले भने । यसैगरी काठमाडौँ–हेटौँडा दू्रतमार्ग बनेमा पेट्रोलियम पदार्थमा जाने ठूलो रकम बचत हुने भन्दै उनले उक्त आयोजना चाँडो कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

बजेट सकारात्मक छः अच्युतप्रसाद मैनाली

प्रतिनिधिसभाको आजको बैठकमा सांसद अच्युतप्रसाद मैनालीले आर्थिक वर्ष २०८१—८२ को बजेट सकारात्मक भएको भन्दै पूर्ण समर्थन जनाएका छन्। आर्थिक वर्ष २०८१र८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज भएको छलफलमा उनले बजेटको पूर्ण समर्थन गरे ।

सांसद मैनालीले भने, “बजेटमा प्रस्तुत भएका कार्यक्रमहरु जनता केन्द्रित र न्यूनतम साझा विषयमा केन्द्रित छन् ।” उनले बजेटमा विस्तृत छलफल हुनुपर्नेमा नभएको भन्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । “१५औं योजनाको अन्त्य हुन गइरहेको छ, त्यसलाई हामीले समीक्षा गर्न सक्यौं वा सकेनौं ?, अर्थतन्त्रमा संरचनागत चुनौती बढ्दै गएको अवस्थामा यसको सुधारका उपायहरु बजेटमा प्रस्तुत भएनन्”, उनले भने ।

सांसद माधव सापकोटाले बजेटको मुख्य चुनौतीे कार्यन्वयनको पाटो भएको बताए । बजेटलाई कार्यान्वयन गर्न सकेमा यो डेढ दशककै सफल बजेट हुने विश्वास व्यक्त गरे । “बजेट परिचालनको क्षमता घट्दै गएको छ, यो निकै चुनौतीको विषय हो । सार्वजनिक खरिद ऐनका विषयमा गम्भीरतापूर्वक बहस गर्नुपर्ने देखिन्छ”, उनले भने ।

सांसद निशा डाँगीले समग्रमा अघिल्लो वर्षभन्दा यो वर्षको बजेट सकारात्मक रहेको टिप्पणी गरिन् । “अनुमानित राजस्व र वैदेशिक अनुदानबाट आगामी वर्षको खर्च बेहोर्न सकिने परिप्रेक्ष्यमा जुन आकारको बजेट आएको छ त्यो सन्तुलत नै देखिन्छ । करसम्बन्धी सूचना विश्लेषण गर्न एआइको प्रयोगको घोषणाले राजस्व सङ्कलनको नयाँ अभ्यास थपिदिएको छ । मानव स्वास्थ्यका लागि हानिकारिक रहेको मदिराजन्य, सुर्तिजन्य पदार्थमा लगाइएको शुल्कको वृद्धि सकारात्मक छ” उनले भनिन् ।

उक्त शुल्क वृद्धिले राज्यको राजस्व वृद्धि गर्नुका साथै राज्य नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको देखाउने सांसद डाँगीको भनाइ छ । उनले भनिन्, “बजेटमा राम्रा पक्ष भए पनि आन्तरिक ऋण बढाइएको छ, त्यो चिन्ताजनक विषय हो ।” 

सांसद रोशन कार्कीले सरकार परिवर्तनसँगै सरकारको सिद्धान्त र प्राथमिकता परिवर्तन हुन नहुने भन्दै बजेट कार्यानवयन प्रभावकारी रुपमा हुनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाका सांसदद्धारा बजेट प्रभावकारी कार्यान्वयनमा जोड

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०८१–८२ को बजेट प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक मन्दीको समाधन खोज्न बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको बताइन् । “सन् २०२५ लाई पर्यटन वर्ष मनाउनेसम्बन्धी कुनै विषय उल्लेख गरिएको छैन, के सरकार यस्ता प्रतिबद्धताबाट पछि हटेको हो ? हामी स्पष्ट हुन चाहान्छौँ”, उनले प्रश्न गरिन् ।

सांसद मायाप्रसाद शर्माले आगामी आवको बजेट नयाँ ढङ्गले यथार्थपरकरुपमा आएको टिप्पणी गरे । उनले भने, “नीति तथा कार्यक्रम र बजेट वक्तत्व सबै अध्ययन गर्दा गतिशील देखिन्छ । हिजोका दिनमा गर्नुपर्ने प्रतिबद्धतासँगै समस्या पनि उजागर भएका छन् । बजेट कार्यान्वयन प्रभावकारीरुपमा हुनेमा विश्वास लिएको छु ।”

सांसद शारदादेवी भट्टले सरकारद्वारा प्रस्तुत बजेट केही हदसम्म सन्तुलित र चलायमान भएको टिप्पणी गरे उनले बजेटको स्वागत गर्दै पूर्ण समर्थन जनाइन् । “बजेट जनता केन्द्रित हुनुपर्छ”, उनले भनिन् ।

सांसद जयन्तीदेवी राईले आगामी वर्षको बजेट सैद्धान्तिक रुपमा हेर्दा अत्यन्त सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरिन् । “बजेटमा कृषि लगानीको वर्ष, स्वदेशी उत्पादनलाई प्रोत्साहन, प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सकारात्मक छन् । यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ”, उनले भनिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।