प्राथमिक पुँजी कोष बढाएपनि मुक्तिनाथले लाभांस दिन नपाउने, ज्योती विकास बैंक झनै दबाबमा

0
Shares

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकहरुलाई पनि क्यापिटल फ्रेमवर्क २०१५ लागु गरेपछि मुक्तिनाथ र ज्योती विकास बैंक दबाबमा छन् । दुबै बैंक प्राथमिक पुँजी कोष फ्रेमवर्कको सीमा अनुसार कायम गर्न नसक्ने अवस्थामा पुगेका हुन ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्रिय स्तरका विकास बैंकहरुले पनि प्राथमिक पुँजी कोष ८.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था ग्रयो । सो अनुसार राष्ट्रिय स्तरका विकास बैंकले पनि पुँजीको अनुपात कायम गर्नुपर्ने भयो । तर, केन्द्रीय बैंकले नीतिगत व्यवस्था गरेपनि अधिक कर्जा लगानी गरेका वा खराब कर्जा धेरै भएका राष्ट्रिय स्तरका केही विकास बैंकलाई त्यसले झनै दबाबमा पार्यो ।

चालु आर्थिक वर्षको सुरुवाती देखि लागु भएको उक्त व्यवस्था अनुसार मुक्तिनाथ विकास बैंकको पुसमसान्तसम्ममा आइपुग्दा प्राथमिक पुँजी कोष अनुपात तोकिएको सीमा भन्दा तल आयो । त्यसैगरी ज्योती विकास बैंकको हरेक त्रैमासमा क्रमीक रुपमा घट्दै आएको छ ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा ८.२६ प्रतिशत रहेको मुक्तिनाथ विकास बैंकको प्राथमिक पुँजी कोष अनुसार चेसम्ममा आइपुग्दा बढेर ९.२६ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको mपहिलो त्रैमासमा बैंकको प्राथमिक पुँजी कोष ८.६७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत पुसमा प्राथमिक पुँजी कोष अनुपात तोकिएको सीमा भन्दा तल आएपछि मुक्तिना विकास बैंकले सेयर धनीलाई लाभांस दिन पाउदैन । प्राथामिक पुँजी कोष आर्थिक वर्षको कुनै पनि समयमा सीमा भन्दा तल आएको खण्डमा लाभासं वितरण गर्न नपाउने व्यवस्था छ ।

मुक्तिनाथ विकास बैंकको कर्जा लगानी अधिक तथा खराब कर्जा बढेसंगै प्राथमिक पुँजी कोष अनुपात तोकिएको सीमा भन्दा तल आएको थियो । केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा मार्फत रेगुलेटरी रिटेल कर्जाको सीमा बढाएपछि मुक्तिनाथको प्राथमिक पुँजी कोष अनुपातमा केही सहजता आएको हो । त्यसका साथै बैंकले असुली बढाउनुका साथै कर्जा लगानी रोकेकाले पनि पुँजीको सीमा भन्दा माथि पु्रयाउन मद्दत पुगेको हो ।

त्यसैगरी चालु आर्थिक वर्षको सुरुवात देखि ज्योती विकास बैंकलाई पनि प्राथामिक पुँजी कोष अनुपातको दाबाब बढीरहेको छ । नयाँ व्यवस्था लागु भएदेखि नै ९ प्रतिशत भन्दा तल रहेको ज्योती विकास बैंकको प्राथमिक पुँजी कोष अनुपात चैतसम्म आइपुग्दा ८.५८ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

ज्योती विकास बैंकको गत असोजमा ८.७९ प्रतिशत रहेको प्राथमिक पुँजी कोष अनुपात पुससम्म आइपुग्दा ८.५९ प्रतिशतसम्म झरेको थियो । बैंकको खराब कर्जा करिब ५ प्रतिशतको हाराहारीमा भएकाले पनि प्राथमिक पुँजी कोषमा दबाब पुगेको हो । बैंकले पुँजीकोष बढाउनका लागि कर्जा असुली बढाउने तथा नयाँ कर्जा लगानी रोक्नुपर्ने अवस्था छ । केन्द्रीय बैंकले दिएको नीतिगत सहजताले पनि ज्योती विकास बैंकको प्राथमिक पुँजीकोषमा देखिएको दबाब सुधार नआउनुले आगामी दिन झनै चुनौतिपुर्ण रहेको स्पष्ट हुन्छ ।

चालु आवको पहिलो त्रैमासमा सञ्चालनमा रहेको ८ वटा राष्ट्रिय स्तरका विकास बैंक मध्ये मुक्तिनाथ, ज्योती, सांग्रीला डेभलमेन्ट र कामना सेवा विकास बैंकको प्राथमिक पुँजी कोष अनुपात ९ प्रतिशत भन्दा तल थियो । पुसमसान्तसम्ममा आइपुग्दा मुक्तिनाथको तोकिएको सीमा भन्दा तल झर्यो । ज्योती विकास बैंकको पनि घट्यो तर सीमा भन्दा तल आएन । तर सांग्रीला र कामना सेवाले भने प्रथामिक पुँजीकोषमा सुधार गरे । चैतसम्ममा आइपुग्दा मुक्तिनाथले सीमा भन्दा तल पुगेको प्राथमिक पुँजी कोषलाई ९ प्रतिशत भन्दा माथि पुर्यायो । त्यसैगरी कामना सेवा र सांग्रीलाले पनि ९ प्रतिशत भन्दा माथि पु्रयाएका छन् ।

क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार विकास बैंकको प्राथमिक पुँजीकोष अर्थात टियर वान क्यापिटलको अनुपात जोखिम भारीत सम्पत्तिको ८.५ प्रतिशत हुनु पर्छ । त्यसैगरी कुल पुँजीको अनुपात (कोर क्यापिटल र सप्लीमेन्ट्री क्यापिटल गरेर) ११ प्रतिशत हुनु पर्छ । प्राथमिक पुँजी (कोर क्यापिटल) भनेको बैंक तथा वित्तीय संस्थाको जोखिम बहन गर्ने सुचक हो । संस्थाले लिने र लिन सक्ने जोखिम प्राथमिक पुँजीको आधारमा निर्धारण हुन्छ ।

केन्द्रीय बैंकले पुँजीकोष सम्बन्धी निर्देशन पालना नगरेमा बैंक तथा वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ अनुसार कारवाही गर्छ । उक्त विनियमावली अनुसार लाभांश वितरणमा रोकदेखि व्यवस्थापन लिनेसम्मको कारबाही हुन्छ । त्यसैगरी पुँजीको गणना गर्दा कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको तर, सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा तथा वितरण गर्न नपाउने केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनमा उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार चैतमसान्तसम्ममा अन्य ६ बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात ९ प्रतिशत भन्दा माथि रहेको छ । सो अवधिमा गरिमा विकास बैंकको प्राथमिक पुँजी कोष अनुपात १०.९८, महालक्ष्मी विकास बैंकको ९.६२, साइन रेसुङगा डेभलपमेन्ट बैंकको ११.३८, लसम्बिनी विकास बैंकको ९.६३, सग्रीला डेभलपमेन्ट बैंकको ९.२९ र कामना सेवा विकास बैंकको ९.०३ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।