निक्षेप संकलनको ब्याजदर ४ महिना यताकै उच्च, खर्चिलो बन्दै तरलता व्यवस्थापन

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अल्पकालिन ब्याजदर भने बढ्दो गतिमा देखिएको छ । बैंकहरुले ब्याजदरमा मोलमोलाई गर्न पाउने भएपछि स्थायी निक्षेप सुविधा भन्दा पनि निक्षेप संकलनमा लगानी गर्दा ब्याजदर बढेको हो ।

बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा ३ प्रतिशत ब्याजदर पाउछन् । तर, निक्षेप संकलन मार्फत पैसा राख्दा ब्याजदर बोलकबोलको आधारमा निर्धारण हुने भएकाले स्थायी निक्षेपको भन्दा पनि धेरै पाउन सम्भावना भएकाले पनि अकर्षण बढेको हो । बैंकहरुले स्थायी निक्षेप सुविधामा पाइरहेको ब्याजदर भन्दा धेरै निक्षेप संकलनमा माग गर्ने गरेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले बताए।

“स्थायी निक्षेपमा फिक्स छ, निक्षेप संकलनमा बोलकबोल गर्नुपर्ने हुन्छ” भण्डारीले भने,“बोलकबोल गर्दा बैंकहरुले पनि स्थायी निक्षेपको भन्दा धेरै ब्याज माग गर्ने गरेका छन् ।” निक्षेप संकलनको प्रयोग पनि ब्याजदर करिडोरको तल्लो सीमा कायम गर्ने वा सोभन्दा केही माथीसम्म अल्पकालिन ब्याजदर राख्न हो । त्यसैले पनि बैंकहरुले माग गरेको न्यूनतम ब्याजदर ३ प्रतिशत भन्दा धेरै माग गर्दा पनि निक्षेप लिएको भण्डारीको भनाई छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएको खण्डमा केन्द्रीय बैंकले खिचेर अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल जान दिदैन । त्यसका लागि अहिले केन्द्रीय बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ ।

बुधबार २५ अर्ब ७० करोड रुपैयाँ स्थायी निक्षेप राखेका बैंक तथा वित्तीय संस्थाले बिहीबार निक्षेप संकलन मार्फत ४० अर्ब केन्द्रीय बैंकलाई दिएका छन् । यसभन्दा अघि जेठ ११ र १८ गते लिएको निक्षेप बिहीबार परिपक्क भएपछि केन्द्रीय बैंकले ४० अर्ब खिचेको हो। त्यसका साथै गत आइतबार लिएको स्थायी निक्षेप पनि परिपक्क भएपछि प्रणालीमा अधिक तरलता भएपछि निक्षेप संकलन गरेको हो। बैंक तथा वित्तीय संस्थाले परिपक्क भएको निक्षेप संकलनलाई पुन केन्द्रीय बैंकमा सोही उपकरण मार्फत बिहीबार फिर्ता दिएका हुन ।

बिहीबार निक्षेप संकलन मार्फत केन्द्रीय बैंकलाई पैसा दिदाँ बैंक वित्तीय संस्थाले ब्याजदर भने बढाएका छन् । बैंक तथा वित्तीय संस्थाले बिहीबारको निक्षेप संकलनका लागि माग गरेको ब्याजदर पछिल्लो ४ महिनाको उच्च हो । यसभन्दा अघि २०८० माघ २३ गतेको निक्षेप संकलनका लागि बैंकहरुले ३ प्रतिशत ब्याजदर माग गरेका थिए । त्यसपछि बैंक तथा वित्तीय संस्थाले बिहीबार(आज) पनि सोही दर माग गरेका छन् । केन्द्रीय बैंकले पनि सो दरमा निक्षेप लिएको छ।

बिहीबार केन्द्रीय बैंकले १४ दिन अवधिको ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन आह्वान गरेको थियो । त्यसका लागि बैक तथा वित्तीय संस्थाले ४४ अर्ब १० करोडको आवेदन दिएका थिए । तर, केन्द्रीय बैंकले न्यूनतम ३ र अधिकत ३.१४९१ प्रतिशतसम्म ब्याज बोल गर्ने संस्थाको निक्षेप लिएको छ । बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर ३.०५६१ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले शुक्रबारका पनि १४ दिन अवधिको ३० अर्बको निक्षेप संकलन गर्ने जनाएको छ । शुक्रबार पनि विगतका निक्षेप परिपक्क हुने भएकाले उक्त निक्षेप बजारबाट खिच्ने भएको हो।

पछिल्लो समयमा कर्जाको मागमा आएको कमी संगै पुँजी कोषको दबाबका कारण बैंकहरुले कर्जा लगानी गर्न सकेका छैनन । त्यसका साथै कर्जा लगानी विस्तार भन्दा पनि विगतको कर्जाले बढाएको जोखिम न्यूनीकरणमा बैंक तथा वित्तीय संस्था केन्द्रीत हुँदा अधिक तरलता समस्या झनै बढ्दै गएको छ । वित्तीय प्रणालीमा तरलता बढेसंगै तरलता र व्याजदर व्यस्थापनका लागि केन्द्रीय बैंकको खर्च समेत बढ्दै आएको छ । केन्द्रीय बैंकले गर्नुपर्ने काम नै भएकाले खर्चको विषय गौण हो । अल्पकालिका लागि खर्च बढेको देखिएपछि केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता खिच्दा थोरै दिन्छ भने तरलता पठाउदा धेरै ब्याज लिने गर्छ । त्यसले गर्दा दिर्घकालमा खर्च भएको रकम समायोजन हुन्छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता खिचेसँगै बिहीबारको अन्तर बैंक दर २.९ कायम भएको छ । त्यसका साथै प्रणालीको तरलताको अवस्थामा पनि सन्तुलन रहेको केन्द्रीय बैंकले जनाएको छ । बिहीबारको स्थायी निक्षेप संकलन पछि केन्द्रीय बैंकसंग बैंक तथा वित्तीय संस्थाको एक खर्ब ५२ अर्ब १५ करोड रुपैयाँ बक्यौता रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।