स्थायी तरलता सुविधा थप सहज बनाउदै केन्द्रीय बैंक, ‘ओभर नाइट’ गराउन बैंकरहरुको सुझाव

0
Shares

नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्थालाई थप खुकुलो बनाउने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था अनुसार खुकुलो बनाउन आन्तरिक तयारीमा जुटेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासीक समीक्षा मार्फत केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने उल्लेख गरेको छ । सो अनुसार केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्थाहरुमा परिवर्तन गर्ने तयारी करिब अन्तिम चरणमा पु्र्याएको हो ।

केन्द्रीय बैंकले फागुन १ गते देखि स्थायी निक्षेप सुविधाको सुरुवात गरेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको खण्डमा सिधै केन्द्रीय बैंकमा निक्षेप राख्न सकिने सुविधा नै स्थायी निक्षेप सुविधा हो । केन्द्रीय बैंकले अधिक तरलता भएको समयमा बैंक तथा वित्तीय संस्थाले बचतकर्तालाइ निकै न्यून ब्याज दिने समस्या थियो । उक्त समस्यालाई समेत सम्बोधन गर्दै केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा प्रयोग गर्न पनि बैंक तथा वित्तीय संस्थाले बचतकर्तालाई ३ प्रतिशत ब्याजदर दिएकै हुनुपर्ने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले खुलाबजार कारोबार विनियमावली र कार्यविधि संशोधन गरेर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम अर्थात ३ प्रतिशत बराबर बचत निक्षेपको न्यूनतम ब्याजदर हुनुपर्ने व्यवस्था गरेको छ । खुला बजार कारोबार सञ्चालन कार्यविधि २०७८ अनुसार अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो तीस दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको, पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको, र काउण्टरपार्टीले सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको हुनुपर्ने व्यवस्था छ।

हालको व्यवस्था अनुसार आइतबार र बुधबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाइन्छ । त्यसरी केन्द्रीय बैंकमा राखिएको पैसा फिर्ता लिने अवधि ४ दिनको रहेको छ । हालको व्यवस्थाले अहिलेको अधिक तरलता व्यस्थापन गर्न मुस्कील भएपछि स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था सहज बनाउन लागेको केन्द्रीय बैंकका एक अधिकारीले बताए।

“अहिलेको स्थायी निक्षेपको फ्रिक्वन्सी र परिपक्क हुने अवधिका बढाउने गरी समीक्षा हुदैछ,” ती अधिकारीले भने, “स्थायी निक्षेप सम्बन्धी समीक्षामा भएका व्यवस्थाहरु असारको दोस्रो सातासम्म कार्यान्वयनमा आइसक्छ ।” अहिले बैंक तथा वित्तीय संस्थाहरुसंग छलफल गर्ने तथा बजारको अवस्था अनुसार के गर्दा हुन्छ भनेर खाता तयारी गर्ने काम भैरहेको उनले बताए । छलफलका क्रममा आएका सुझावलाई पनि सम्बोधन गर्ने गरी हालको व्यवस्था परिवर्तन हुने ती अधिकारीको भनाइ छ ।

छलफलका क्रममा बैंक तथा वित्तीय संस्थाका अधिकारीहरुले स्थायी निक्षेप सुविधा ओभर नाइट हुनुपर्ने व्यवस्था गर्न सुझाएको ती अधिकारीको भनाई छ । बैंकरहरुले भनेजस्तै त नभएपनि स्थाइ निक्षेप सेवा लिनका लागि तोकिएका सर्तहरुमा हेरफेर हुने उनले जानकारी दिए । शर्तसंगै अवधि बढाउने र अहिले साताको २ पटक मा त्यसलाई बढाएर ३ देखि ४ सम्म गर्ने सन्दर्भमा छलफल भैरहेको ती अधिकारीको भनाई छ । त्यसका साथै अहिलको २ पटक कायम राखेर पपिक्क हुने अवधि बढाउने वा दुबै गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनले बताए ।

केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था खुकुलोे गरेको खण्डमा हालको तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणको प्रयोग समेत गर्न पर्दैन । अहिले केन्द्रीय बैंकले स्थायी निक्षेप मार्फत तरलता र अन्तर बैंक दर व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको समेत प्रयोग गर्नु परेको अवस्था छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।