प्रदेशगत अर्थतन्त्रमा गण्डकी सबैभन्दा सबल, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बागमती पहिलो

0
Shares

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको अर्थतन्त्र सबैभन्दा सबल देखिएको छ । राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको अर्थतन्त्र ४.३५ प्रतिशतले वृद्धि हुने देखिएको हो ।

चालु आवमा गण्डकी प्र्रदेशको अर्थतन्त्रले राष्ट्रिय अर्थतन्त्रमा ९.१ प्रतिशतको योगदान गर्ने कार्यालयको अनुमान रहेको छ । कार्यालयले चालु आवमा राष्ट्रिय अर्थतन्त्र ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । चालु आवमा गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र वाग्मतीको आर्थिक वृद्धि राष्ट्रिय अर्थतन्त्रको भन्दा धेरै हुने जनाएको छ ।

कार्यालय¬का अनुसार चालु आवमा गण्डकी प्रदेशको ४.३५, लुम्बिनी प्रदेशको ४.०५, वाग्मती प्रदेशको ३.९६, कर्णली ३.९, मधेश ३.८७, सुदुर पश्चिम ३.४१ र कोसी प्रदेशको अर्थतन्त्र ३.५१ प्रतिशतले बढ्ने अनुमान छ । प्रदेश अर्थतन्त्रको यो वृद्धिले समग्र राष्ट्रिय अर्थतन्त्र ३.८७ प्रतिशतले बढ्ने अनुमान कार्यालयको रहेको छ ।

चालु आव २०८०/८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान छ । उक्त कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदुर पश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान रहेको छ । गत आवको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदुर पश्चिमको योगदान सिमान्त रूपमा घटेको छ भने बाँकि प्रदेशको योगदान बढेको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब ५ खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान तथ्याङक कार्यालयको छ । गत आवमा करिब ४ खर्ब ८४ अर्ब रहने संशोधित अनुमान छ । चालु आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.०६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा पनि यस प्रदेशले ९.०६ प्रतिशत नै योगदान पुर्याउने संशोधित अनुमान रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा ४.५५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आवमा ३.३० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । चालु आवमा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२५.७२ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३१ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ ।

गत गत आवमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (२५.४३ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३१) मा रहने संशोधित अनुमान छ। गण्डकी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२२.८४ प्रतिशत ) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (– १.९६ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान छ । त्यसैगरी, गत आवका लागि कुल मूल्य वृद्धिदर सबैभन्दा धेरै (२१.९७ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (–२.७६ प्रतिशत ) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान छ ।

त्यसैगरी चालु आवमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ८ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान छ । गत आवमा करिब ७ खर्ब ६४ अर्ब रहने संशोधित अनुमान छ । चालु आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४.२६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा यस प्रदेशले १४.२९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आवमा १.९९ प्रतिशत रहने संशोधित अनुमान छ ।

चालु आवमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब २० खर्ब ७५ अर्ब हुने प्रारम्भिक अनुमान छ । गत आवमा करिब १९ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको रहने संशोधित अनुमान छ । चालु आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६.३६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान कार्यालयको छ । गत आवमा यस प्रदेशले ३६.२२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा ३.९६ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आवमा १.७७ प्रतिशत रहने संशोधित अनुमान छ ।

चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा थोरै मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान छ । गत आवमा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा थोरै मधेश प्रदेशको रहने संशोधित अनुमान छ । चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यूएस डलरमा बागमती प्रदेशको २४८४, गण्डकी प्रदेशको १५५७, कोशी प्रदेशको १३३६, लुम्बिनी प्रदेशको ११५९, सुदुरपश्चिम प्रदेशको ११११, कर्णाली प्रदेशको १०६६ र मधेश प्रदेशको ८९२ हुने प्रारम्भिक अनुमान छ ।

चालु आवका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यूएस डलरमा १४३४ हुने प्रारम्भिक अनुमान छ । यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।