विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च, साढे १९ खर्ब कायम हुँदा १२.६० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

0
Shares

रेमिटेन्समा भएको वृद्धि र घट्दो आयातका कारण मुलुकमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ बैशाखमसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाउँदा नेपाली रुपैयाँ र डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च कायम भएको हो ।

विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा २६.२ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्घि भई २ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार बैशाख मसान्तमा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले दश महिनाको आयातलाई आधार मान्दा १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

आयात २.४ प्रतिशतले घटेर १३ खर्ब ३ अर्ब ३६ करोड रूपैयाँमा सीमित भएको छ । यस्तै वस्तु निर्यात ३.६० प्रतिशतले कमी आई १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । कुल वस्तु ब्यापार घाटा २.३० प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा पनि वस्तु आयातमा १६.८० प्रतिशतले कमी आएको थियो ।

विसं २०८१ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँग ३४ प्रतिशत, कुल आयासँग १०५.३ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपातहरु २९.२ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।