कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा

0
Shares

कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ ।

कोशी प्रदेशमा कुल सक्रिय बीमालेखको संख्या २० लाख ४३ हजार ७६ ओटा रहेको छ । जसमध्ये जीवन बीमाको संख्या १७ लाख ६८ हजार ८९३ ओटा रहेको छ भने निर्जीवन बीमलेखको संख्या २ लाख ७४ हजार १८३ रहेको छ । २०८० फागुन मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेख सहित जीवन बीमा र निर्जीवन बीमालेख संख्या कुल १ करोड ५७ लाख ६६ हजार ६३५ रहेको प्राधिकरणकाे तथ्याङ्क छ । जसमा कोशी प्रदेशको हिस्सा १२.९६ प्रतिशत बराबर छ । प्रतिवेदन अनुसार कोशी प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४१२ जना रहेको छ ।

फागुन मसान्तसम्ममा काेशीमा १५ अर्ब ९२ करोड ६३ लाख १२ हजार २५४ रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ । जसमा जीवन बीमातर्फ १३ अर्ब ३७ करोड ५७ लाख ६४ हजार र निर्जीवन बीमातर्फ २ अर्ब ५५ करोड ५ लाख ४७ हजार रुपैयाँ संकलन भएको हो । फागुनसम्म कुल १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख ९५ हजार कुल बीमाशुल्क संकलन भएकोमा कोशी प्रदेशको हिस्सा १२.७६ प्रतिशत बराबर हाे ।

समीक्षा अवधिमा कोशी प्रदेशमा २१ अर्ब ६५ करोड ७९ लाख २७ हजार २५३ रुपैयाँ दाबी भुक्तानी गरेको छ । जसमा जीवन बीमातर्फ २ अर्ब ८६ करोड ४७ लाख ८५ हजार र निर्जीवन बीमातर्फ १८ अर्ब ७९ करोड ३१ लाख ४१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी भएको हो । यसरी हेर्दा कोशी प्रदेशमा संकलन भएको कुल बीमाशुल्कभन्दा दाबी भुक्तानी ५ अर्ब ७३ करोड १६ लाख रुपैयाँ धेरै हो ।

फागुन मसान्तसम्ममा कोशीमा बीमा कम्पनीको कुल संख्या ४३४ रहेकोमा जीवन बीमा कम्पनीको संख्या २८४ ओटा तथा निर्जीवन बीमा कम्पनीका शाखा १५० ओटा छन् । फागुनसम्म देशभर जीवन र निर्जीवन बीमा कम्पनीको कुल शाखा संख्या २ हजार ९३२ रहेकोमा कोशीको हिस्सा १४.८० प्रतिशत छ ।

त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार ५९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६.०६ प्रतिशत अर्थात् १ हजार ८६२ ओटा शाखा छन् । बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको ७.१३ प्रतिशत अर्थात् चार खर्ब ४१ अर्ब रुपैयाँ बराबर कोशी प्रदेशमा छ । त्यस्तै कूल कर्जाको ११.२६ प्रतिशत अर्थात् रु पाँच खर्ब ७२ अर्ब ऋण कोशी प्रदेशमा विस्तार भएको छ ।

अहिले समग्र बैंकिङ प्रणालीबाट ६१ खर्ब ८७ अर्ब बराबर निक्षेप संकलन र ५० खर्ब ८४ अर्ब बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस प्रदेशमा २२ हजार १०७ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसमा ३४ अर्ब २ करोड ५२ लाख रुपैयाँ बराबर सहुलियत कर्जा स्वीकृत भएको छ । सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार ८६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा आठ हजार ९२२ जनाले लिएका छन् ।

कूल ७ लाख ७९ हजार ५८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा ७ लाख २ हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कूल सिञ्चित क्षेत्रफल ३ लाख १५ हजार ८११ हेक्टर रहेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कूल गार्हस्थ्य उत्पादन ९ खर्ब ३ अर्ब बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर ३.५१ प्रतिशत अनुमान गरिएको छ । कोशी प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन १ हजार ३३६ अमेरिकी डलर बराबर छ ।

त्यस्तै, गरिबी दर १७.१९ र बहुआयामिक गरिबी १५.९ प्रतिशत रहेको छ । मुलुकको कूल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४.४४ र निर्यात हिस्सा ३९.०६ प्रतिशत बराबर छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।