बैंकहरुले कर्जा लगानी विस्तार गर्न नसक्दा नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनमा सकस परेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि नियमित रुपमा स्थायी निक्षेप सुविधा संगै निक्षेप संकलन उपकरण पनि प्रयोग गर्दै आएको छ ।
गत बुधबार २५ अर्ब स्थायी निक्षेप सुविधा लिएका बैंकहरुका लागि केन्द्रीय बैंकले बिहीबार ३५ अर्बको निक्षेप संकलन उपकरण प्रयोग गरेको छ । तर, १६ बैंक तथा वित्तीय संस्थाले ५१ आवेदन मार्फत ५९ अर्ब १० करोडको निक्षेप संकलन सुविधा लिन तयार भए । बैंकहरुले न्यूनमतम २.९९०० देखि अधिकतम ३.०६०० ब्याजदर माग गर्दै उक्त रकमको स्थायी निक्षेप सुविधा उपयोग गर्न चाहेका हुन । तर राष्ट बैंकले ३.०२९२ ब्याजदरमा ३५ अर्ब निक्षेप संकलन सुविधा मार्फत बैंकहरुको रकम लिएको छ ।
बैंकहरुले माग भन्दा अधिक रकम निक्षेप संकलन उपकरणमा राख्न चाहेपछि केन्द्रीय बैंकले शुक्रबार १४ दिनका लागि थप ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ। बैंकहरुले गत बुधबार मात्रै २४ अर्ब ७५ करोड रुपैयाँ बरावरको अधिक तरलता केन्द्रीय बैंकमा राखेका थिए । उक्त स्थायी निक्षेप मार्फत वित्तीय प्रणालीको अधिक तरलता वयवस्थापन नहुने भएपछि विहीबार केन्द्रीय बैंकले १४ दिन अवधिको लागि ३५ अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन उपकरण जारी गरेको थियो।
बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा स्थायी निक्षेप मार्फत ४ दिनका लागि र निक्षेप संकलन उपकरण मार्फत ७ र १४ दिनका लागि केन्द्रीय बैंकमा पैसा राख्छन । यसरी पैसा राख्दा बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधामा ३ प्रतिशत ब्याजदर पाउछन् । त्यसैगरी निक्षेप उपकरणमा बोलकबोल मार्फत निर्धारण भएको ब्याजदर पाउछन । पछिल्लो समयमा स्थायी निक्षेपको ब्याजदर भन्दा निक्षेप संकलन उपकरणको ब्याजदर केही माथि छ ।
कर्जाको माग नबढ्दा बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । निक्षेप बढिरहे पनि त्यसको अनुपातमा कर्जा प्रवाह नबढ्दा हरेक महिना लगानी गर्न मिल्ने रकम थुप्रिँदै आएको हो ।
अर्थतन्त्रका बाह्य सूचकमा सुधार, घट्दो ब्याजदर, पर्याप्त तरलतालगायत कारणले चालु आर्थिक वर्षको सुरुदेखि कर्जा माग बढ्ने अपेक्षा गरिएको थियो । तर अर्थतन्त्रको स्थिति सोचेअनुरूप सुधार नहुँदा कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको जानकारहरू बताउँछन।
बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप (सीडी) अनुपात ८०.२० प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म यो अनुपात कायम गर्न पाउँछन । यसका आधारमा अहिले पनि बैंकहरूसँग ६ खर्बभन्दा बढी लगानीयोग्य रकम छ ।
पछिल्ला महिनामा अपेक्षित रूपमा कर्जा असुली हुन नसक्दा बैंकहरूको खराब कर्जा बढेको छ । खराब कर्जा बापतको नोक्सानी व्यवस्था गर्नुपर्दा बैंकहरूको पुँजी कोषमा चाप परेकाले उनीहरूको कर्जा प्रवाह क्षमतामा केही कमी आए पनि लगानीका लागि पर्याप्त तरलता रहेको छ ।
समग्र वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि केही बैंकहरू प्राथमिक पुँजी कोष र कुल पुँजी कोषको दबाबमा छन । यसकारण उनीहरूले अपेक्षाअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन । यद्यपि समग्र वित्तीय प्रणालीमा कर्जा प्रवाहका लागि पर्याप्त पुँजी रहेको जानकारहरू बताउँछन । यो समस्या समाधान गर्नकै लागि राष्ट्र बैंकले ‘पर्पेचुअल प्रिफरेन्स सेयर’ नामक वित्तीय औजार प्रयोगमा ल्याउने सुविधा बैंक तथा वित्तीय संस्थालाई दिने तयारी गरेको छ । मौद्रिक नीतिको तेस्रो समीक्षामा बैंक तथा वित्तीय संस्थाको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने घोषणा राष्ट्र बैंकले गरेको थियो ।
अर्थतन्त्र चलायमान बन्न नसक्दा आर्थिक गतिविधिमा सुस्तता आएको र त्यसको असरले कर्जा माग बढ्न नसकेको राष्ट्र बैंकका अधिकारीहरू स्वीकार गर्छन । कर्जा माग बढेर आर्थिक गतिविधि चलायमान बन्न सहयोग पुगोस भन्ने उद्देश्यले पछिल्लो समयमा राष्ट्र बैंकले मौद्रिक लचकता अपनाउदै आएको छ । मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत पनि राष्ट्र बैंकले घरजग्गा, सवारी कर्जामा विगतभन्दा लचिलो नीतिगत व्यवस्था गरिएको छ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ । निक्षेप बढेअनुसार कर्जा माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणाली मार्फत तरलता तानिरहेको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण प्रयोग गर्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा छ । बैंकहरु निक्षेप थपिने क्रम जारी छ । तर, कर्जाको न्यून माग तथा पुँजीकोष दबाबका कारण बैंकहरुले कर्जा लगानी गर्ने अवस्था छैन । त्यसले गर्दा पनि तरलता वृद्धिलाई सहयोग पुगेको हो ।
केन्द्रीय बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ६२ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा मात्रै ५५ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
साथै हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा वाणिज्य बैंकले ४५ खर्ब ४२ अर्ब र विकास बैंक तथा फाइनान्सले ५ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंकिङ प्रणालीमा लगातार निक्षेप थपिरहने तर कर्जा लगानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा तल आएको छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८०.२० प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया