जलविद्युतमा जस्तै प्रसारण लाइन पनि प्रभावितहरुलाई सेयर उपलब्ध गराउने गरी कानुनी व्यवस्था गरिँदै

0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले प्रसारण लाइन निर्माणमा रहेको मार्गधिकारको समस्या समाधान गर्न जलविद्युत आयोजनामा जस्तै प्रभावितहरुलाई सेयर उपलब्ध गराउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताएका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मार्गधिकारमा परेका जग्गाको कित्ताकाटको समस्या नीतिगत रुपमै सम्बोधन गर्न काम भइरहेको बताए । देशभित्रको विद्युत् उपभोग क्षमता बृद्धि गरी बचत भएको विद्युत् निर्यात गर्ने गर्ने र ऊर्जामा आत्मनिर्भर बन्ने योजनाकासाथ काम अगाडि बढाइएको बस्नेतले बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मकवानपुरका संघीय सांसदहरु दीपक बहादुर सिंह र महेश बर्तोलाले स्थानीयका जायज मागलाई सम्बोधन गरी विकास आयोजनाहरु अगाडि बढाउनुपर्नेमा जोड दिए ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत ७-८ वर्षको तुलानामा अहिले विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा गुणात्मक फड्को मारिएको बताए । जग्गा प्राप्ति ऐनमा अध्यादेशमार्फत गरिएको संसोधनले प्रसारण लाइनको निर्माणमा जग्गा प्राप्तिको समस्यालाई झनै जटील बनाएको उल्लेख गर्दै उक्त संसोधन गरिएको व्यवस्थालाई संसदबाट कानुन बनाउँदा विशेष ध्यान दिन अनुरोध गरे ।

प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको बताए ।  हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने उनले उल्लेख गरे ।

हेटौंडा सवस्टेसनलाई आवश्कता अनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरि निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको छ ।
राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटांैडा, ढल्केबर इनरुवा ४०० के.भी. सवस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजना अन्तर्गतका तीन वटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् ।

हेटौंडा ४०० केभी सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गएिको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनावाट निर्माण गरिएको २२०-१३२-११ केभी हेटौडा सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८मा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौंडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोना महामारीको कारणले सवस्टेसन जडान हुने विभिन्न उपकरणहरु र प्राविधिकहरु पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केहि ढिलाइ भएको थियो ।

उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत

उर्जा, सिँचाई तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताए । उनले राजनीतिक परिवतनपछि उर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताए ।

मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताए । विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उनको भनाइ थियो । तीनवटै तहका सरकार, निजी क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिए ।

समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत हेटाँैडाको रातमाटेदेखि राप्ती नदीसम्म ‘बाइपास सडक’ निर्माण गरिने बताए । राजनीतिक परिवर्तन भइसकेको सन्दर्भमा अब सबैको ध्यान मुलुकको विकास र समृद्धितर्फ जानुपर्नेमा जोड दिँदै उनले यसका लागि दलीय आस्थाभन्दा माथि उठ्न सबैसँग अनुरोध गरे ।

समारोहमा मकवानपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसदद्वय दिपकबहादुर सिंह र महेश बर्तौलाले हेटौंँडा बजारको विस्तार र मध्यवर्ती क्षेत्रको समस्यालाई गम्भीररुपमा लिन सरकारसँग आग्रह गरे ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा ४०० केभी क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएसँगै नीजि क्षेत्रसमेतको सहयोगमा जलविद्युत् उत्पादनतर्फ उल्लेखनीय प्रगति भइरहेको बताए । यसबाट स्वदेशमा विद्युत् प्रशारण सुनिश्चित गर्न र विद्युत् विदेशमा निर्यात गर्न बाटो खुलेको उनको भनाइ थियो ।

समारोहमा उक्त सवस्टेसन निर्माणमा योगदान पु¥याउने निर्माण कम्पनी र प्राविधिकहरुलाई सम्मान गरिएको थियो । मुलुकको तेस्रो ठूलो सबस्टेसनको आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।