असार १५ मा पनि छैन जुजु धौको माग : व्यवसायी भन्छन्– फ्रिजमा दहि जमाएर बेच्नेले बजार बिगारे


भक्तपुर घलातेका गणेश ज्याखुसीले व्यवसाय गर्न सुरु गरेको ४० वर्ष भइसक्यो । तर, अहिलेको जस्तो मन्दी उनले यसभन्दा अघिका वर्षहरुमा खेप्नु परेको थिएन । पहिलेको १० वर्ष अघि सामान्य दिनहरुमा बिक्री हुने जुजु धौ अहिले असार १५ गते र अन्य मुख्य चाडवाडको आसपास पनि हुँदैन ।

उनले पुर्खैली व्यवसायलाई निरन्तरता दिएका हुन् । पहिले उनका बुबाले जुजु धौको पसलमा काम गरेका रहेछन् । उनका बुबाले राजा महेन्द्रलाई सधैँ बिहान ६ वजे नै जुजु धौँ पुर्याउने गरेका रहेछन् । पछि उनका बुबालाई आफ्नै व्यवसाय गर्ने सोच आयो । उनी उनले त्यो काम छाडेर आफैँले व्यवसाय सुरु गरे । यही व्यवसायलाई उनले पनि निरन्तरता दिएका हुन् ।

ज्याखुसीले बुबालाई ५ वर्षको उमेरदेखि नै जुजु धौँ बनाउन सघाउने गरेका थिए । त्यसैले ज्याखुसीलाई अन्त कतै गएर व्यवसाय वा जागिर गर्ने मन भएन र थाले पूर्खौली पेसा ।

उनलाई अहिले पुर्खौली पेसा जोगाउन हम्मे हम्मे परेको छ । पहिला असार १५ गते एक दिन मात्रै ६\७ हजारको व्यापार गर्ने उनले अहिले २\३ हजारको व्यापार गर्न पनि मुस्किल छ ।

उनले त्यही व्यवसायमार्फत छारा छोरी पठाए । अहिले उनीहरु पनि आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् । तर, उनका छोराछोरीले अब जुजु धौँको पेसा गर्न मन नगरेको उनी बताउँछन् । पेसा नै धरासायी भएको भन्दै उनले भने, “अब यो पेसाबाट पैसा कमाउन सकिदैन । म सँगै यो व्यवसाय गरेका धेरै जनाले छाडि सके । अब त जुजु धौँलाई नै मानिसले विश्वास गर्न छाडि सके ।”

अजिमा दहि भण्डारका सञ्चालक ज्याखुसी जुजु धौँका लागि चाहिने दुध सिपाडोल, छ्यालिङ लगायत ठाउँबाट आयात गर्ने गरेका छन् भने काठमाण्डौं र ललितपुरमा दहि निर्यात गर्ने गरेका छन् । तर उनले ल्याउने दहि शुद्ध नभएका कारण आफ्ना बुबाको पालाको जस्तो स्वादिलो दहि उनले दिन सकेका छैनन् । ज्याखुसी भन्छन्, “दुधमा नै विशादी प्रयोग हुन्छ त्यसैले हामी शुद्ध र स्वस्थ्य दहि बनाउँन सक्दैनौँ । ”

मीठो, रसिलो, स्वादिलो दुधको परिकार हो जुजु धौँ । बाक्लो राम्रोसँग पकाएको दुधबाट केमिकलरहित बनाइन्छ जुजु धौँ । विशेषगरी नेवाः समुदायमा कहिँ कतै जानु पर्यो भने, नयाँ काम शुरु गर्नु पर्यो भने, कुनै पनि काममा सफलता मिल्यो भने र शुभ कामको लागि सगुनस्वरुप जुजु धौँ दिने चलन छ । भक्तपुर जुजु धौका लागि प्रसिद्ध मानिन्छ । स्वदेशी हुन् वा विदेशी जो कोहीलाई जु जु धौले मोहित गर्छ । नेवारहरुमा जुजु धौ सगुनको लागि नभई नहुने चिज पनि हो ।

यता, सगुन सैजु जुजु धौका नाममा बिकृती फैलिएको बताउँछन् । अहिलेका कयौँ व्यवसायीले जुजु धौकै नाममा फ्रिजमा दही जमाएर बिक्री गर्ने गर्दा जुजु धौको गुणस्तर र महत्व घट्दै गएको उनको जिकिर छ । उनले भने, “जुजु धौ दहीको अचेल बजारमा पाइने कतारो सामान्य हल्लियो भने पनि दहीबाट पानी आउने हुन्छ, तर शुद्ध जुजु धौको कतारोलाई घोप्ट्याउँदा पनि दही हल्लिने र पोखिने हुँदैन ।” यसरी गुणस्तरहिन जुजु धौले बजार नै बिगारेको उनको भनाइ छ ।

परम्परागत शैलीलाई नअपनाइ अहिले मानिसहरूले आधुनिक शैलीमा पाउडर दूधलाई फ्रिजिङ गरेर जमाएको दहीलाई समेत जुजु धौ नाम दिएकाले दहीको गुणस्तरमा कमी आई माग नै घट्न थालेको उनी बताउँछन् ।

अहिले बाहिरबाट आउने दुध नै खराब आउने भएकोले पनि दहिको गुणस्तर माथि प्रश्न उठ्ने गरेको उनी बताउँछन् । आजकल गाई, भैँसीलाई नै धेरै दुध दिने भिटामिन खुवाउने गरेकोले पनि जुजु धौको गुणस्तर घट्दै गएको उनको भनाइ छ ।

यसरी बनाइन्छ जुजु धौ

भक्तपुरका पुराना व्यवसायीहरुले परम्परागत शैलीबाट जुजु धौ बनाउने गरेका छन्। जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदै उमाल्नुु पर्दछ । दूध उमाल्दा कम्तिमा ४० लिटर दूधलाई ३० लिटर हुने गरी उमाल्नु पर्ने व्यवसायीहरु बताउँछन् ।

उमाल्न पुगेपछि जुजु धौ तयार गर्न सबैभन्दा पहिले दही बनाउने स्थानमा आवश्यकताअनुसार भुस बिछ्याइन्छ । भूसमाथि राखेको माटोको कतरामा पहिले आधा भाग मात्र दूध राख्नु पर्दछ ।

उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको ‘बिऊ दही’ (जोरन) राखेर माथिबाट कतराले नै छोप्नुपर्छ । त्यसलाई माथिबाट बाक्लो सिरक या केही न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । त्यसलाई करिब ४ घण्टा छोप्ने बित्तिकै जुजु धौ खानाको लागि तयार हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।