बैंकहरु ऋण असुलीमा केन्द्रीत हुँदा राष्ट्र बैंकमा थुप्रियो २१५ अर्ब

0
Shares

आर्थिक वर्षको अन्तिम महिनामा सरकारी खर्च बढेसंगै बैंकहरु समेत कर्जा असुलीमा केन्द्रीत हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या गहिरीदै गएको छ ।

बैंकहरुले कर्जा लगानी गर्न नसक्ने, सरकारी खर्च बढ्ने तथा रेमिट्यान्स आप्रबाहमा देखिएको निरन्तरको सुधारले अधिक तरलताको समस्या पेचिलो बनेको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अल्पकालिन ब्याजदर अर्थात अन्तर बैंक दर घट्छ । अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल अर्थात ३ प्रतिशत भन्दा तल आएको खण्डमा बैंक वित्तीय संस्थालाई ब्याज दिएर केन्द्रीय बैंकले तरलता खिच्छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो समयमा केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै थप सहज बनाएको छ । नयाँ व्यव्सथा अनुसार बैंक तथा वित्तीय संस्थाले साताको ३ दिन यस्तो सुविधा लिन सक्छन । स्थायी निक्षेप मार्फत राखिएको निक्षेप २, २ र ३ दिनमा परिपक्क हुने व्यवस्था छ । यसले गर्दा पनि विगतको तुलनामा स्थायी निक्षेपको प्रयोग बढेको छ ।

आइतबार बैंक तथा वित्तीय संस्थाले एक खर्ब २५ करोड १५ करोड रुपैयाँ बराबरको तरलता केन्द्रीय बैंकमा राखेका छन । स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा राखेको पैसा हालसम्मकै धेरै हो । आइतबार करिब ६८ अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएकाले पनि स्थायी निक्षेप धेरै भएको केन्द्रीय बैंकका अधिकारी बताउछन् ।

“आर्थिक वर्षको अन्तिम समयमा भएकाले बैंकहरुले कर्जा असुलीमा ध्यान दिएका छन,” ती अधिकारीले भने,“सरकारी खर्च पनि बढेको हुनाले प्रणालीमा तरलता थपिएको छ ।” असारको महिनामा सामान्यत वित्तीय प्रणालीमा तरलता बढ्ने गरेको उनको भनाई छ ।

गत साताको बिहीबार र शुक्रबार ६५ अर्ब रुपैयाँ बरावरको स्थायी निक्षेप परिपक्क भएको थियो । त्यसका साथै गत बिहीबारको करिब ६६ अर्ब रुपैयाँ परिपक्क भएकाले पनि आइतबार एक खर्ब २५ अर्बको स्थायी निक्षेप उपयोग भएको हो । आइतबारको स्थायी निक्षेप संगै केन्द्रीय बैंकसंग बैंक तथा वित्तीय संस्थाको २ खर्ब १५ अर्ब १५ करोड रुपैयाँ बक्यौता रहेको छ । केन्द्रीय बैंकमा २ खर्ब भन्दा धेरै बक्यौता रहेपछि अन्तर बैंक ब्याजदर ३ प्रतिशतको हाराहारीमा पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।