२७ लाख मुनाफा कमाएको कालिका लघुवित्तको कसरी कायम भयो वार्षिक १३.९३ रुपैयाँ EPS ?

0
Shares

चुक्ता पूँजी २५ करोड २३ लाख ३० रुपैयाँ रहेको कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को वार्षिक प्रतिशेयर आम्दानी १३.९३ रुपैयाँ उल्लेख गरिएको छ । अब प्रश्न उठ्छ २७ लाख ९ हजार मुनाफाका आधारमा वार्षिक २.१५ रुपैयाँ इपिएस रहेको लघुवित्तले कसरी १३.९३ रुपैयाँ उल्लेख गर्यो ?

लघुवित्तले वार्षिक प्रतिशेयर आम्दानीभन्दा तल स्पष्ट भाषामा लेखेको छ कि लघुवित्तमा मर्ज भएको अर्को कम्पनी जनसेवी लघुवित्तको मर्जर अघि अर्थात पुस २३ गतेसम्म आर्जन भएको १ करोड ४८ लाख ६६ हजार १६१ रुपैयाँ सिधै वासलातमा देखाइएको र सो नाफालाई समेत आधार माने वार्षिक इपिएस गणना गरिएको छ ।

जनसेवी लघुवित्तसँग मर्जर सम्झौतामा रहेको कालिका लघुवित्त वित्तीय संस्थाले २७ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको यो मुनाफा गत आवको यसै अवधिको तुलनामा ४४.९१ प्रतिशत कम हो।

खराब कर्जा १.५९ बाट ३.०१ प्रतिशतमा बढेको लघुवित्त कम्पनीको सम्भावित नोक्सनी व्यवस्थामा ३ करोड ४८ लाख र कर्मचारी खर्चमा ५ करोड बढी खर्च हुँदा आम्दानीको अनुपातमा मुनाफा ज्यादै न्यून मात्र भएको देदिन्छ। लघुवित्तलाई अबको चुनौति भनेको बढ्दो कर्मचारी खर्च र खराब कर्जा घटाएर संस्थालाई अगाडि बढाउनु देखिन्छ।

मर्जर पश्चात लघुवित्तको जगेडा कोषमा उल्लेख्य सुधार आएको छ । गत आवको यसै अवधिमा ५ करोड १८ लाख रहेकोमा हाल १४ करोड ६५ लाख रुपैयाँ सञ्चित भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ४० पैसा छ ।  यस अवधिमा लघुवित्तले १ अर्ब १ करोड निक्षेप संकलन र १ अर्ब ३१ करोड अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर आफ्ना ऋणीहरुमा ४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

दोस्रो त्रैमाससम्म लघुवित्तले ८ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आवको तुलनामा ३५.४४ प्रतिशतले धेरै हो।
कालिका लघुवित्त र जनसेवी लघुवित्तसँग गत जेठ ५ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता गरिसकेको छ। जसकले पुस २३ गतेदेखि संयुक्त कारोबार थालेपनि नेप्सेमा कारोबार खुला भएको छैन।

उता जनसेवी लघुवित्तले गत बैशाख २७ देखि ३१ गतेसम्म आईपीओ जारी गरेर जेठ ६ गते बाँडफाँड गरेपनि मर्जरका सम्झौताका कारण कालिका लघुवित्तका नाममा सूचीकरण पश्चात कारोबार खुल्नेछ।