बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जा लगानी बढाउन नसक्दा केन्द्रीय बैंकमा निक्षेप राख्ने क्रमलाई तिब्रता थालेका छन्। कर्जा लगानी विस्तार हुन नसक्दा बढेको तरलतालाई बैकहरुले केन्द्रीय बैंकमा निक्षेप राखी अल्पकालिन आम्दानीमा केन्द्रीत भएका हुन् ।
अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जा माग अपेक्षा गरे अनुसार हुन सकेन । साथै रेमिट्यान्स आप्रबाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेप बढ्न मद्दत पुग्यो । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो ।
वित्तीय प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर पनि क्रमिक रुपमा घटाउदै आएका छन् । तर पनि कर्जाको माग बढ्न सकेको छैन । केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गर्न नीतिगत कडाइ गरेकाले पनि कर्जा लगानी बढ्न नसकेको हो ।
सरकारी खर्च, निमार्ण क्षेत्रमा गतिविधि बढेपछि अहिलेको अधिक तरलता प्रयोग हुने गरेको छ । त्यसका साथै पछिल्लो समयमा बैंक विरोधी गतिविधिहरु बढेकाले पनि कर्जामैत्री बातावरण नभएको जानकारहरु बताउँछन । अर्थतन्त्र आफैं सुस्त भएको र बैंक विरोधि गतिविधि बढेको अवस्थाले बैंकहरु लगानी बढाउन उत्साहित नभएका हुन। केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको तरलता खिच्न नसकेपछि निक्षेप संकलन उपकरणको पनि प्रयोग गर्दै आएको छ भने बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडिएफ) को उपयोग बढाउँदै लगेका छन ।
आइतबार मात्रै केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा (एसडिएफ) मार्फत झण्डै २ खर्ब ६८ अर्ब ५५ करोड रुपैयाँ २ दिनका लागि निक्षेप राखेका छन । यसरी निक्षेप राख्दा बैंकहरुले ३ प्रतिशत ब्याजदर पाउँछन् ।
बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा आइतबार, मंगलबार र शुक्रबार केन्द्रीय बैंकमा सिधै निक्षेप राख्न सक्छन । यसरी राखेको निक्षेपबाट बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउछन । गत बुधबार केन्द्रीय बैंकले २१ दिन अवधिको ५० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिचेको थियो ।
अधिक तरलताले अन्तर बैंक दर घट्छ । अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले तरलता खिच्ने र अन्तर बैंक ब्याजदर घट्न नदिन स्थायी निक्षेप सुविधा (एसडिएफ) मार्फत प्रणालीको पैसा केन्द्रीय बैंकले खिच्छ । सोही क्रममा आइतबार २ खर्ब ६८ अर्ब ५५ करोड रुपैयाँ बरावरको तलरता केन्द्रीय बैंकले खिचेको हो ।
पछिल्लो समय बैंकिङ क्षेत्र बिरोधी गतिविधि बढेसँगै बैंकहरु कर्जा लगानी विस्तारमा उत्साहित छैनन् । त्यसैगरी कर्जा र धितोको मूल्याङकन नमिलेको आधारमा बैंकरहरु पक्राउ परेपछि बैंकहरु कर्जा लगानीमा थप निरुत्साहित भएका छन् । जसका कारण अधिक तरलता बढेर झण्डै एक खर्ब पुगेको छ ।
बैंकहरुले पनि कर्जा लगानी विस्तार भन्दा पनि कोरोना तथा आर्थिक मन्दीका कारण ‘डिफल्ट’ भएको कर्जा असुलीमा केन्द्रीत हुन थाले । बढ्दो खराब कर्जाका कारण बैंकहरु असुलीमा केन्द्रीत हुँदा पनि कर्जा लगानी सुस्त हुनुमा मद्दत पुग्यो। त्यसले समेत अधिक तरलताको समस्या बढ्नमा सहयोग पुगेको हो।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ । निक्षेप बढे अनुसार कर्जा माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निरन्तर बैंकिङ प्रणाली मार्फत तरलता तानिरहेको छ ।
केन्द्रीय बैंकका अनुसार आइतबारसम्म वित्तीय प्रणालीमा झण्डै ९८ अर्ब ९० करोड ३७ लाख अधिक तरलता रहेको छ । बैंकिङ प्रणालीमा लगातार निक्षेप थपिरहने तर कर्जा लगानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा तल आएको छ। बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ७८.८० प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।
केन्द्रीय बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ६३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । कुल निक्षेप मध्ये वाणिज्य बैंकमा मात्रै ५६ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
साथै हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा वाणिज्य बैंकले ४५ खर्ब ५७ अर्ब र विकास बैंक तथा फाइनान्सले ५ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
आर्थिक वर्षको अन्तिम महिनामा सरकारी खर्च बढेसंगै बैंकहरु समेत कर्जा असुलीमा केन्द्रीत हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या गहिरीदै गएको हो। बैंकहरुले कर्जा लगानी गर्न नसक्ने, सरकारी खर्च बढ्ने तथा रेमिट्यान्स आप्रबाहमा देखिएको निरन्तरको सुधारले अधिक तरलताको समस्या पेचिलो बनेको हो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया