जेठमा मात्रै १२९ अर्ब रेमिट्यान्स भित्रियो, ११ महीनामा १३ खर्ब २७ अर्ब धेरै

0
Shares

मुलकमा हालसम्मकै धेरै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १३ खर्ब २७ अर्ब ५१ करोड रुपेयाँ रेमिट्यान्स भित्रिएको हो । जेठ महीनामा मात्रै १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेर ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ भित्रिएको थियो । गत आवको एघार महीनाको तुलनामा चालु आवको सोही अवधिमा २ खर्ब १४ अर्ब ९९ करोड रुपैयाँ धेरै रेमिट्यान्स भित्रिएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेर ८ अर्ब ५१ करोड रुपेयाँ पुगेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६ हजार ७०५ जना रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या४ लाख ५९ हजार ४१५ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६० हजार २६२ थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेर १२ खर्ब २९ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ असार २०८१, बुधबार  १७ : ०४ बजे