बढ्दो रेमिट्यान्स र घट्दो आयातका कारण अर्थतन्त्रको बाह्य क्षेत्र सबल हुँदै

0
Shares

निरन्तर बढ्दो क्रममा देखिएको रेमिट्यान्स र घट्दो आयातका कारण अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सबल हुँदै गएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत जेठसम्मको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा १३ खर्ब २७ अर्ब ५१ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ४२५ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२४ अर्ब ९० करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।

२०८१ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५१४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४४५ अर्ब १३ करोड (८.८ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु आयात १.८ प्रतिशतले कमी आई १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.० प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकमध्येभारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ र अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युत्तीय उपकरण, हवाइजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई १३९ अर्ब २६ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।