पूँजी निमार्णको आधार शेयरबजार, दायरा फराकिलो बनाउन यस्तो आँउदैछ आगामी बजेट

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार संसदमा पेश गरेको आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामा पूँजी बजारको बिषयलाई समेत समेटिएको छ । यसका आधारमा आगामी बर्षका लागि आउने बजेटमा पूँजी बजारका बिषयले प्राथमिकता पाउने देखिएको छ ।

अर्थमन्त्रीले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकताको ४६ बुंदामा वीमा तथा पूँजी बजारको दायरा विस्तार गरिने उल्लेख छ । यसका साथै बैकल्पिक वित्तीय उपकरणको विकास पनि बजेटको प्राथिमकतामा रहने अर्थमन्त्रीले बताएका छन् ।

आगामी बजेटले वित्तीय संस्थाहरूको संस्थागत क्षमता, प्रतिस्पर्धा र पारदर्शिता अभिवृद्धि गर्दै वित्तीय साधनलाई उत्पादनमूखी बनाउन पनि कार्यक्रम ल्याउने भएको छ ।

एक वर्ष्भित्र सबै नेपालीको बैक खाता हुने गरी वित्तीय पहूँच अभिवृद्धि गरी वित्तीय संस्थाहरूको संस्थागत क्षमता, प्रतिस्पर्धा र पारदर्शिता अभिवृद्धि गर्दै वित्तीय साधनलाई उत्पादनमूखी बनाउने सरकारको लक्ष्य छ । सरकारले बीमा तथा पूँजी बजारको दायरा विस्तार र बैकल्पिक वित्तीय उपकरणको विकास बजेटको प्राथिमकतामा दिने अर्थमन्त्रीले जानकारी दिए ।

सरकारले पूँजी बजारको विकास र विस्तारका लागि सामुहिक लगानी कोष तथा भेन्चर क्यापिटल संचालन गर्ने घोषणा गरिसकेको छ । सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा छरिएर रहेको रकमलाई एकिकृत गर्न सामुहिक लगानी कोष र भेन्चर क्यापिटलको स्थापना गरी पूँजी बजारमा विस्तार गर्ने उल्लेख छ ।

चालू आवमा राष्ट्रिय पूँजी निर्माणको दरिलो आधार तयार भएको लगानीको वातावरणमा उल्लेख्य सुधार आएसँगै स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको अर्थमन्त्रीको भनाई छ । उनले वित्तीय सेवा र पहुँच विस्तार भएको, वित्तीय साधन उत्पादनमुखी हुँदै गएको उल्लेख गर्दे पूँजी निर्माण र उत्पादन शक्तिको विकासमार्फत् राष्ट्रिय पूँजीको सम्वद्र्धन गर्ने बजेटको लक्ष्य हुनेमा जोड दिए ।

प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड सञ्चालन गर्न कम्तीमा पनि पन्ध्र करोड रुपैयाँ चाहिने छ । हेजफन्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटलजस्ता पुँजीबजारका पछिल्ला र जटिल अभ्यासलाई नेपाली पुँजीबजारमा प्रवेश गराउने उद्देश्यले धितोपत्र बोर्डले ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ लागू गरिसकेको छ ।

गत बजेटमा ‘प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेजफन्डलगायत नयाँ संस्थाहरू पूँजीबजारमा प्रवेश गराउने घोषणा सरकारले गरेको थियो । तर कार्यान्वयन हुन सकेको थिएन । आगामी बजेटबाट पूँजी बजारमा यस्ता नयाँ औजारहरुले प्रवेश गराउने सरकारको योजना छ ।

प्राइभेट इक्वीटी फण्ड –कोषको उद्देश्य प्राप्तिका लागि सर्वप्रथम स्वःपूँजी वा स्वःपूँजीसँग सम्बन्धित अन्य उपकरण वा लगानी गर्ने कम्पनीका साझेदारहरुको इच्छा बमोजिम लगानी गर्ने कोषलाई प्राइभेट इक्वीटी फण्ड भनिन्छ ।

भेन्चर क्यापिटल फण्ड – धितोपत्र सूचीकरण नभएका संचालनको शुरुवातीक्रममा रहेका वा संचालनको प्रकृया अगाडि बढिसकेका नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ बस्तु, सेवा, प्रविधि वा बैद्धिक सम्पत्तीसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न सेयर स्वामित्व पूँजीमा लगानी गर्ने कोष नै भेन्चर क्यापिटल फण्ड हो ।

हेज फण्ड- लगानीको उच्च जोखिम रहेको जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी स्थापना भएको कोष हेज फण्ड हो ।