नियम उलङ्घन गर्ने ८ संस्थालाई राष्ट्र बैंकको कारबाही

0
Shares

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रयमासमा नियम उलङ्खन गर्ने आठ ओटा बैंक तथा वित्तीय सस्थालाई कारवाही गरेको छ । ऐन विपरीत काम गर्ने पाँच ओटा विकास बैंक र तीन फाइनान्स कम्पनी केन्द्रीय बैंकको कारवाहीमा परेका हुन् ।

राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । यसैगरी बेष्ट फाइनान्स, रिलायन्स फाइनास, प्रोग्रेशिभ फाइनान्सलाई कारबाही गरेको हो । जसमा अध्यक्ष, सञ्चालक देखि सीईओसम्म केन्द्रीय बैंकको कारबाहीमा परेका छन् ।

राष्ट्र बैंकले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेको भन्दै कर्णाली विकास बैंकलाई २ हजार ५४६ रुपैयाँ जरिवाना लगाएको छ । त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकलाई यसअघि २०८० माघ २१ मा गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई केन्द्रीय बैंकले निरन्तरता दिएको जनाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको र त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ । बैंकले वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी सिन्धु विकास बैंकले सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुगेको भन्दै केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ । उसको पूँजीकोष अनुपात ६.७१ मात्रै रहेकाले केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको हो । त्यस्तै सिन्धु विकास बैंकका अध्यक्ष र सञ्चालक समितिलाई संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरिएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैह–जिम्मेवारीपूर्ण तर्क पेश गरेको तथा संस्था सुधारका लागि पटक पटक दिइएका निर्देशनहरू पालना नगरेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष, राजेन्द्र कुमार श्रेष्ठलाई राष्ट्र बैंकले ५ लाख नगद जरिवाना गरेको छ ।

त्यस्तै एक्सेल डेभलेपमेण्ट बैंकलाई राष्ट्र बैंकले वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारण सभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ ।
त्यसैगरी प्रोग्रसिभ फाइनान्सले तोकिएको समयमा वाह्य लेखापरीक्षण सम्पन्न गरी वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्नेमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधराणसभा २०८०–८१ मा मात्रै सम्पन्न गरेको छ । आव २०७९र८० को बाह्य लेखापरीक्षण प्रतिवेदन प्रकाशित गर्न सहमतिका लागि अझै पनि राष्ट्र बैंकमा पेस गरेको छैन । सोही कारण फाइनान्स सञ्चालक समिति प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।