आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो , छ अर्ब ८६ करोड सङ्कलन


आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०\८१ मा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखापरेको छ ।

कार्यालयले आव २०७९\८० को तुलनामा आव २०८०\८१ मा २७ करोड १५ लाख रुपैयाँ कम राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको बताए ।

“गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर सङ्कलन र आयकर सङ्कलन उत्साहजनक देखिएको छ”, उनले भने, “गत आवमा अन्तःशुल्क करवापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व सङ्कलनमा असर पारेको छ ।”

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार रुपैयाँ सङ्कलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब २० करोड २५ लाख चार हजार रुपैयाँ सङ्कलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ चार अर्ब २० करोड २५ लाख ३६ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत दुई अर्ब ३९ करोड ८६ लाख २० हजार रुपैयाँ सङ्कलन गरेको छ ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए । आन्तरिक राजस्व विभागले आव २०७९र८० मा कार्यालयलाई १० अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने सात अर्ब १४ करोड रुपैयाँ सङ्कलन गरेको थियो । कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ ।

मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड राजश्व सङ्कलन

पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार रुपैयाँ पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०\८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार रुपैयाँ बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ । उहाँका अनुसार आव २०७९\८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार रुपैयाँ आयात र २२ अर्ब चार करोड १८ लाख ९३ रुपैयाँ निर्यात रहेको थियो ।

गत आवमा पेट्रोलियम पदार्थ चार दशमलव ५१ प्रतिशत, जुट सात दशमलव २५ प्रतिशत, जिप्सम छ दशमलव ५७ प्रतिशत, तरकारी १७ दशमलव ८५ प्रतिशत, अलडिड रेजिन पाँच दशमलव ६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो । मेसिनरी उपकरण ६६ दशमलव १० प्रतिशत, दाल १८ दशमलव छ प्रतिशत, इलेक्ट्रिक उपकरण ३० दशमलव ३४ प्रतिशत र फलाम २२ दशमलव प्रतिशतले आयात बढेको छ ।

मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार दुई सय ५३ दशमलव ९७ प्रतिशतले बढ्दा प्लाइउड ५५ दशमलव ३८ प्रतिशत, छुर्पी २९ दशमलव ७९ प्रतिशत, अम्रिसो ३० दशमलव १२ प्रतिशत, अदुवा–सुठो २१ दशमलव ६८ प्रतिशतले निर्यात बढेको छ । अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०\८१ मा मेची भन्सार कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।