बंगलादेश घटनाको ‘बाछिटा’ नेपालको अर्थतन्त्रमा, विद्युत् व्यापारबारे अन्योल


बंगलादेशमा सुरु भएको विद्यार्थी आन्दोलन जनविद्रोहमा परिणत हुँदा डेढ दशक लामो समय अकण्टक शासन चलाएकी प्रधानमन्त्री शेख हसिनाले सत्तामात्रै गुमाउनुपरेन, देशै छाडेर भाग्नुपर्ने अवस्था आइपुग्यो ।

सरकारी जागिरमा स्वतन्त्रता सेनानीका सन्तानका लागि छुट्ट्याएको आरक्षणको विरोधमा सुरु भएको शान्तिपूर्ण आन्दोलनमा सत्ताले दमन गर्न खोज्दा छोटो समयमै आर्थिक समृद्धि हासिल गरेको बंगलादेशको राजनीतिक परिस्थिति नै उलटपुलट भएको छ ।

यसअघि ३० प्रतिशत रहेको आरक्षणलाई अदालतले ५ प्रतिशतमा सीमित गरिदिए पनि आन्दोलनकारीले त्यसको प्रत्याभूति गर्नुपर्ने र आन्दोलनमा दमन गर्दा मृत्यु भएकाहरूको न्यायका लागि भन्दै प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै पुनः चर्काएको आन्दोलन थप हिंसात्मक बन्दै जाँदा सेनाले पनि सत्ताको साथ छाडेपछि सोमबार प्रधानमन्त्रीले पदबाट राजीनामा दिँदै देशै छाडेर भागेकी थिइन् ।

बंगलादेशको राजनीतिक उथलपुथलको असर नेपालसम्मै परेको छ । आन्दोलन उत्कर्षमा पुग्दै गर्दा दुई देशीय व्यापारमा सुरु भइसकेको असर सोमबारको घटनापछि अझ वृद्धि भएको छ । नेपालका लागि बंगलादेशमा लोड भएका ५ वटा गाडी र नेपालबाट लोड भएका ११ वटा गाडी सीमामै रोकिएका छन् । आन्दोलन चर्किएसँगै नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापार नाका फूलबारी–बंगलाबन्ध विगत १० दिनदेखि ठप्प छ । बंगलादेश शान्त नबनेसम्म यहाँबाट व्यापार सुचारु हुने सम्भावना नरहेको जानकारहरू बताउँछन् ।

यसले गर्दा नेपालको आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर पुगेको छ । बंगलादेशबाट नेपालमा हुने र नेपालबाट बंगलादेशमा हुने आयात–निर्यात पछिल्लो समय ठप्प छ । बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरे पनि विद्यार्थी नेताहरूले सेनाको नेतृत्व नस्वीकार्ने बताइसकेका छन् । यस्तोमा आन्दोलन थप चर्किने सम्भावना रहेकाले नेपालको आर्थिक गतिविधिलाई ठुलै असर गर्ने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन् । ‘अहिले नै नेपाली सामान बोकेर निर्यातका लागि छुटेका ११ वटा गाडी बाटोमै रोकिएका छन्,’ उनले भने, ‘आन्दोलन थप चर्किंदै गयो भने नेपालबाट निर्यात ठप्प हुन्छ, जसले गर्दा समग्र अर्थतन्त्रमा नै असर पर्ने हुन्छ ।’

यस्तो छ विगत ५ वर्षमा भएको दुई देशबीचको व्यापार

नेपालले बंगलादेशमा वार्षिक ५५ देखि ७५ करोड रुपैयाँसम्मको वस्तु तथा सामान निर्यात गर्ने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष (२०८०\८१) मा मात्रै पनि नेपालले ५५ करोड ४६ लाख ६८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको छ । बंगलादेशबाट भने नेपालमा ४ अर्ब २२ करोड ५६ लाख २ हजार रुपैयाँको वस्तु तथा सामान आयात गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९\८० मा ५७ करोड ४० ला २४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात हुँदा ६ अर्ब ४ करोड ५९ लाख ७९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७८\७९ मा ७२ करोड ६५ हजार रुपैयाँको निर्यात हुँदा ११ अर्ब २० करोड ६ लाख १५ हजार रुपैयाँको आयात भएको छ । यस्तै आर्थिक वर्ष २०७७\७८ मा ६७ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको सामान निर्यात हुँदा १० अर्ब ६७ करोड ४४ लाख १४ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७६\७७ मा ९५ करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात हुँदा ५ अर्ब २९ करोड २० लाख १३ हजार रुपैयाँको सामान आयात भएको छ । नेपालबाट खुदो, विभिन्न किसिमका दाल, जडीबुटी, दानालगायत आधा दर्जन नेपाली वस्तु बंगलादेश निर्यात हुने गरेको छ । नेपालले बंगलादेशबाट ब्याट्री, औषधि, सोयाबिन, आलु, जुटलगायत २० भन्दा बढी वस्तु तथा सामान आयात गर्ने गरेको छ ।

के होला विद्युत् व्यापार सम्झौता ?

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको झन्डै ६ वर्षपछि विद्युत् निर्यात गरिने भएको थियो । प्राधिकरणले वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने बताइएको थियो । हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने लक्ष्य छ । तर, बंगलादेशको राजनीतिक परिस्थिति र सरकार परिवर्तनका कारण विद्युत् व्यापार सम्झौता के हुन्छ भन्ने अन्योल सिर्जना भएको छ ।

प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गर्दा प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा) पाउने र ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर (करिब १ अर्ब २३ करोड) रुपैयाँ आम्दानी हुने बताइएको थियो । बंगलादेशमा सरकार परिवर्तन भएपछि विद्युत् व्यापार सम्झौतालाई अघि बढाउने वा नबढाउने भन्ने अन्योल सिर्जना हुने जानकारहरू बताउँछन् । बंगलादेशमा भएको विद्यार्थीहरूको आन्दोलन चर्किएपछि उक्त सम्झौता पर सर्दै गएको उनीहरुको तर्क छ ।

तर, साउन १३ मा गर्ने भनिएको सम्झौता केही पर सरेको भए पनि भदौ महिनासम्ममा सम्झौता हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह बताउँछन् । तत्काल सम्झौता भएमा आगामी ५ महिनामा जम्मा १ लाख ४४ हजार मेगावाट बिजुली बंगलादेश निर्यात हुने र त्यसबाट १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।