नियामकले तोकेको चुक्ता पूँजी कायम नगरेको RBCL को प्रतिशेयर आम्दानी २३५ रुपैयाँ


बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न नसकेको राष्ट्रिय बीमा कम्पनी (RBCL) ले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तमा ३१ करोड ४४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १६ करोड ८४ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बीमा कम्पनीको खुद नाफा ८६ दशमलव ६८ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बीमा व्यवसायको आकार घटाएको कम्पनीले अन्य शिर्षकका आम्दानीको आकार बढाएर खुद नाफा बढाएको हो ।

आन्तरिक विवादका साथै बक्यौता वर्षहरुको लेखापरीक्षण गर्न नसकेका कारण पूँजी वृद्धिमा बीमा समितिले रोक लगाए पछि बीमा कम्पनीले तोकिएको न्युनतम पूँजी १ अर्ब कायम गर्न सकेको छैन । पूँजी बढाउन नसके पछि कम्पनीको प्रतिशेयर आम्दानी नाफासँगै बढेको छ भने प्रतिशेयर नेटवर्थको आकार प्रत्येक त्रैमासमा बढ्दै गएको छ ।

यसरी नियामक निकायको निर्देशन पालना गर्न नसकेर नेटवर्थ बढ्दै गर्दा दोस्रो बजारमा भने कम्पनीको शेयर मूल्यमा धेरै चलखेल हुने गरेको छ । कम्पनीमा खुल्ला प्रतिष्पर्धाबाट नभई मन्त्रालयको ठाडो आदेशमा प्रमुख कार्यकारी अधिकृत डिल्ली अर्यालले नेतृत्वदायी भुमिका निर्वाह गरिरहेका छन् । उनी प्रमुख कार्यकारी हुँदै गर्दा सञ्चालक नियुक्तिमा बदमासी भएको भन्दै केही समय अघि कम्पनीका एक जना सञ्चालकले नै असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्नुका साथै बीमा समिति र कम्पनी रजिष्ट्रारको कार्यालयमा मुद्धा समेत दर्ता गरिसकेका छन् ।

 

कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया छ । पछिल्ला केही आर्थिक वर्ष यता लगानीकर्तालाई शतप्रतिशत बोनस बितरण गर्ने, एफपीओ निष्काशन गर्ने जस्ता प्रलोभनमा पार्दै दोस्रो बजारमा शेयर मूल्यमा तिब्र उतार चढावको अवस्था कम्पनीले निम्त्याउँदै आएको छ । यो अवस्थामा पूँजी बढाउन कुनै कसरत नगरेको कम्पनीको प्रतिशेयर आम्दानी २ सय ३५ रुपैंया ८८ पैसा छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ सय २६ रुपैंया ३५ पैसा थियो ।

गत आर्थिक वर्षको यसै अवधिमा खुद बीमा शुल्क आर्जन रकम २५ करोड ६७ लाख २५ हजार रुपैंयाबाट १४ करोड १ हजार रुपैंयामा झरेको छ । त्यसै गरी पुनर्बीमा कमिशनबाट हुने आम्दानीको आकार पनि १२ करोड ६४ लाख २९ हजार रुपैंयाबाट ९ करोड २० लाख ४६ हजार रुपैंयामा झरेको छ ।

लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानीको आकार भने समीक्षा अवधिमा ४ करोड ९४ लाख ३३ हजार रुपैंयाबाट बढेर १० करोड १२३ लाख ८० हजार रुपैंया पुगेको छ । यसले बीमा कम्पनी बीमा व्यवसायको प्राथमिकताबाट चुक्दै अन्य शिर्षकबाट मात्र आम्दानी बढाउन केन्द्रित भएको देखिन्छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विबरण अनुसार गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ४ लाख ९० हजार रुपैंयाको बीमा दाबी भुक्तानी गरेको कम्पनीले यस पटक ३ करोड ८० लाख २१ हजार रुपैंयाको मात्र बीमा दाबी भुक्तानी गरेको छ ।

भुक्तान हुन बाँकी दा संख्या र रकम भने वित्तीव विबरणमा खुलाइएको छैन । यस सम्बन्धमा कम्पनीका परुमुख कार्यकारी अधिकृतले भुक्तान हुन बाँकी रकम र संख्याले कुनै पनि किसिमको अर्थ नराख्ने भएकाले वित्तीय विबरणमा नखुलाइएको बताए ।

अर्यालको भनाईलाई सत्य मान्ने हो भने भोलिका दिनमा नै बीमा कम्पनी सबल भएर जानेमा दुई मत छैन । तर, भुक्तान हुन बाँकी रकम र दाबी संख्याको अर्थ छैन भन्नुले भने कम्पनीले ठुलो रकमको बीमा दाबी भुक्तान गर्नु पर्ने बुझ्न सकिन्छ । यस्तो अवस्थामा कम्पनीका शेयरधनीले पाउने प्रतिफलको अवस्था के होला सहज आँकलन गर्न सकिन्छ ।

प्रमुख कार्यकारी अधिकृतका अनुसार पुष मसान्तसम्मको प्रिमियम रकम बल्ल अहिले मात्र संकलन भएकाले वित्तीय विबरणमा गत आर्थिक वर्षको तुलनामा अहिले प्रिमियम घटेको हो । यद्यपी कति प्रिमियिम संकलन भयो भन्नेमा भनेृ उनले केही खुलाएनन् । उनले मुद्धती निक्षेप तथा अन्य उपकरणमा कम्पनीले लगानी बढाएको स्वीकार गर्दै यस्तो आम्दानीकै कारण पुस मसान्तमा खुद नाफा बढेको भने स्वीकार गरे ।

गत आर्थिक वर्षको पुसा मसान्तमा ९ सय ८ रुपैंया १६ पैसा रहेको प्रतिशेयर नेटवर्थ चालु आर्थिक वर्षको पुस मसान्तमा १ हजार ९३ रुपैंया ५० पैसा पुगेको छ । कुनै पनि माध्यमबाट पूँजी बढाउन नसक्नुका साथै प्रतिफल बितरण गर्न नसक्दा कम्पनीको नेटवर्थ बढ्दै गएको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा १५०.३७ गूणाले बढी रहेको मूल्य आम्दानी अनुपात ७६.३० गूणाले बढी छ । अर्थात कम्पनीका कृयाकलापले लगानीकर्तामा असन्तुष्टि उत्पन्न भए पछि शेयर मूल्यमा आएको गिरावटले मूल्य आम्दानी अनुपातमा सुधार देखिएको हो ।

बीमा समितिले तोकेको १ अर्ब चुक्ता पूँजी कायम गर्न कम्पनीले अझै ७३ करोड रुपैंयाभन्दा धेरै पूँजी बढाउनुपर्ने हुन्छ ।