दुई खर्ब ७१ अर्ब पूँजी परिचालन गरेर २७ बैंकले कमाए ३३ अर्ब २० करोड मुनाफा

0
Shares

चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमाससम्म आइपुग्दा २७ वाणिज्य बैंकले २ खर्ब ७१ अर्ब २३ करोड ५२ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी परिचालन गरेर ३३ अर्ब २० करोड ५१ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

पूँजीको हिसाबले बैंकहरुले कमाएको यो नाफा औसतमा १२.२४२ प्रतिशत हो। जसमा पछिल्लो समय ग्लोबल आईएमईमा मिसिएको जनता बैंकले कमाएको ४५ करोड १३ लाख ३० हजार रुपैयाँ समेत समावेश रहेको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेको २७ वाणिज्य बैंकले २९ खर्ब ४६ अर्ब २५ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरि २६ खर्ब १४ अर्ब १ करोड ८ लाख रुपैयाँ कर्जा परिचालन गरेका छन् । यसबाट बैंकहरुले कूल ६५ अर्ब २५ करोड २२ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेका छन्।

यस अवधिमा बैंकहरुको वार्षिक प्रतिशेयर आम्दानी औसतमा २५ रुपैयाँ २१ पैसा रहेको छ । जसमध्ये नेप्सेमा सूचीकृत नभएको सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै ४९ रुपैयाँ ७ पैसा रहेको छ भने सिभिल बैंकको ७ रुपैयाँ १६ पैसा रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ भन्दा माथि हुने बैंकहरुको संख्या १८ रहेको छ ।

  • चार वाणिज्य बैंकले कमाए दुई अर्ब माथि

यस अवधिमा सञ्चालनमा रहेका २७ मध्ये ४ वटा वाणिज्य बैंकले २ अर्बभन्दा माथि खुद नाफा आर्जन गरेका छन्। राष्ट्रिय वाणिज्य बैंक पहिलो नम्बरमा रहँदा ग्लोबल आईएमई बैंक दोस्रो, नबिल बैंक तेस्रो र चौंथोमा एनआईसी एशिया बैंक रहेको छ।

दुई अर्बभन्दा कम र एक अर्बभन्दा बढी मुनाफा कमाउने बैंकहरुको संख्या १२ छ। ११ वाणिज्य बैंकको नाफा १ अर्बभन्दा कम छ । सिभिल बैंकले सबैभन्दा कम ३१ करोड ६२ लाख नाफा कमाउँदा अन्य बैंकको नाफा ५० करोडभन्दा बढी छ ।

  • आठ वाणिज्य बैंकको चुक्ता पूँजी १० अर्ब बढी, ग्लोबल आईएमईको सबैभन्दा उच्च

यस अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी १८ अर्ब ९७ करोड ५८ लाख चुक्ता पूँजी पुर्याएको छ । जनता बैंकलाई ८५ शेयर स्वापमा गाभेकाले बैंकको चुक्ता पूँजी सबैभन्दा उच्च भएको हो ।

चुक्ता पूँजीका आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख रहेको छ भने एनएमबि बैंकको १३ अर्ब ९५ करोड ९ लाख रहेको छ ।

यसैगरि नेपाल बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख र प्राइम कर्मर्सियल बैंकको ११ अर्ब २३ करोड ६७ लाख, मेगा बैंकको १० अर्ब ३८ करोड ८६ लाख, प्रभु बैंकको १० अर्ब ३१ करोड ५५ लाख र नबिल बैंकको १० अर्ब ९ करोड ७४ लाख रहेको छ ।

कृषि विकास बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख रहेको छ। बैंकमा सरकारको अग्राधिकार शेयर वापत ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ रहेको छ । जसलाई साधारण शेयर पूँजी सरह हिसाब नगरिएकाले बैंकको चुक्ता पूँजी १० अर्ब तल उल्लेख गरिएको हो ।