वाणिज्य बैंकहरुले ६ महिनामा तिरे सरकारलाई १३ अर्ब रुपैयाँ आयकर

0
Shares

चालु आर्थिक वर्षको ६ महिना अवधिमा २७ वाणिज्य बैंकहरुले १३ अर्ब ४० करोड ५२ लाख रुपैयाँ आयकर तिरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्था अनुसार पुस मसान्तसम्ममा सो रकम बराबरको कर बुझाएका हुन्।

बैंकहरुले सरकारलाई कर वापत बुझाएको यो रकम बोनस र कर अघि आर्जन गरेको नाफाको औसतमा २६.२९ प्रतिशत हो। यो अवधिमा बैंकहरुले कर अघि ५० अर्ब ९८ करोड ९० लाख रुपैयाँ गरेका छन्। खुद नाफाको आधारमा हेर्दा यस्तो कर रकम ४०.३७ प्रतिशतको अनुपात हुन आउँछ। यस अवधिमा बैंकहरुले कूल ३३ अर्ब २० करोड ५१ लाख खुद नाफा आर्जन गरेका छन्।

बैंकको आम्दानीमा भएका वृद्धि संगै बैंकहरुले तिर्ने करमा पनि वृद्धि भएको हो ।यस अवधिमा सरकालाई सबैभन्दा धेरै कर तिर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैक रहेको छ। राष्ट्रिय वाणिज्य बैंकले यो अवधिमा आय कर स्वरुप सरकारलाई ९४ करोड ६९ लाख २१ हजार रुपैयाँ कर तिरेको छ। यो कर अघिको नाफाको ३० प्रतिशत हो ।

दोस्रो ठूलो कर तिरेको नबिल बैंकले ८६ करोड ६३ लाख ९ हजार कर तिरेको छ । तेस्रो ठूलो कर तिर्नेमा एनआईसी एशिया बैंक, चौंथोमा नेपाल इन्भेष्टमेन्ट बैंक र पाँचौंमा ग्लोबल आईएमई बैंक रहेको छ । यी बैंकहरुले ६८ देखि ८६ करोडको बीचमा कर तिरेका छन्।

चालु आवको ६ महिना अवधिमा सबैंभन्दा थोरै कर तिर्ने बैंकमा सिभिल बैंक रहेको छ । बैंकले सरकारलाई १२ करोड ९६ लाख ९ हजार रुपैयाँ कर तिरेको छ। दोस्रो कम कर बुझाएको सेञ्चुरी बैंकले २७ करोड ८६ लाख रुपैयाँ सरकारलाई आयकर वापत बुझाएको हो। ५० करोडभन्दा कम कर बुझाउने बैंकहरुको कूल संख्या १६ रहेको छ।