आईसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन खुल्यो, हालसम्मकै उच्च ब्याजदर

0
Shares

आईसिएफसि फाइनान्स (ICFC) ले हालसम्मकै उच्च ब्याजदरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र जारी गरेको छ। यसका साथै फाइनान्स ऋणपत्र जारी गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ ।

फाइनान्सले हालसम्मकै उच्च वार्षिक १२ प्रतिशत व्याजदरमा ‘१२%आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ जारी गरेको हो ।

७ वर्ष अवधिको सो ऋणपत्रमा फाइनान्सले वार्षिक १२ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गर्ने बताएको छ।

कुल निष्काशित २० करोडको ऋणपत्रमध्ये फाइनान्सले व्यक्तीगत तबरबाट १२ करोड रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता बिक्रीगर्ने जनाएको छ । बाँकी ८० हजार कित्तामध्ये ४० लाख रुपैयाँ बराबरको ४ हजार कित्ता सामुहिक लगानीकोषका लागि छुट्याईएको छ भने ७६ हजार अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ ।

फाइनान्सको ऋणपत्रमा यही फागुन १३ गतेदेखि छिटोमा १६ गते तथा ढिलोमा २७ गतेसम्म आवेदन गर्न पाइने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलले जनाएको छ। उक्त ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता देखि ७६ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल, आईसीएफसी फाइनान्सका विभिन्न शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

फाइनान्सले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ्ग प्रदान गरेको छ ।

हालसम्म “क” वर्गका वाणिज्य बैंकहरु ऋणपत्र निष्काशन गर्दै आइरहेकोमा आइसिएफसी फाइनान्सले पहिलो फाइनान्स कम्पनीको रुपमा ऋणपत्र निष्काशन गर्न लागेको हो। फाइनान्सले वाणिज्य बैंकहरुको भन्दा बढी ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । वाणिज्य बैंकहरुले साढे दश प्रतिशतसम्म ब्याजदर दिने गरेका छन् ।

कस्तो छ कम्पनीको अवस्था ?

फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

जसकोे प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.६१ गुणा रहेको छ।

८८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले जगेडा कोषमा ३२ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। यसैगरी फाइनान्सको रिटेन्ड अर्निङमा ९ करोड २३ लाख जम्मा गरेको छ ।

यस अवधिमा फाइनान्सले ११ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ५६ करोड १९ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

फाइनान्सको निष्क्रिय कर्जा अनुपात ०.६० प्रतिशत रहेको छ। यसैगरी, कोषको लागत ९.२७ प्रतिशत, आधारदर १०.९८ प्रतिशत, स्प्रेडदर ४.७६ प्रतिशत रहेको छ।