बैंकिङ क्षेत्रमा तरलता अभाव,राष्ट्र बैंकले १० अर्ब दिँदा बैंकहरुले मागे १७ अर्ब

0
Shares

नयाँ निक्षेप सिर्जना हुन नसकेपछि बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको छ । तरलता अभावसँगै अन्तर बैंक कारोबारको ब्याजदर बढ्न थालेको छ ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र अन्तर बैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले आइतबार दश अर्बको रिपो जारी गरेको छ । केन्द्रीय बैंकले दश अर्ब बराबरको रिपो जारी गर्दा बैंकहरुले भने १७ अर्ब १५ करोड रुपैयाँ माग गरेका छन् । राष्ट्र बैंकले आइतबार जारी गरेको रिपो फागुन २५ गते परिपक्क हुनेछ। 

राष्ट्र बैंकले न्यूनतम ४ दशमलव ५ प्रतिशतभन्दामाथिका लागि ब्याजदर कायम हुने गरी बोलकबोल आह्वान गरेकोमा विभिन्न १० बैंकहरुले ४६ आवेदन मार्फत १७ अर्ब १५ करोड माग गरेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले ४.६७ प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशतसम्म ब्याज कबुलेर आवेदन गरेका थिए। जसको औषत ब्याजदर भने ४.७८ प्रतिशत कायम भएको छ।

वित्तीय प्रणालीमा तरलताको अवस्था सहज बनाउन राष्ट्र बैंकले पछिल्लो ६ महिनामा ९ पटक रिपो जारी गरिसकेको छ। राष्ट्र बैंकले असोज यता एक खर्ब ८ अर्ब ५५ करोड बराबरको रिपो जारी गरेको छ । बैंकहरुले एक खर्ब ४३ अर्ब ६४ करोड रकम माग गरेका थिए ।

राष्ट्र बैंकका अनुसार दश अर्बको रिपो जारी गरेपछि अहिले बैंकिङ प्रणालीमा ३१ अर्ब बराबरको तरलता रहेको छ । रेमिट्यान्सको आप्रवाह दरमा आएको कमि र सरकारी खर्च बढ्न नसक्दा वित्तीय क्षेत्रमा नयाँ निक्षेप आउँन सकेको छैन् ।

नेपाल बैंकर्स संघका अनुसार फागुनको पहिलो साता वाणिज्य बैंकहरुमा ३ अर्ब निक्षेप घटेकोमा दोस्रो साता ३ अर्ब निक्षेप थपिएको छ । यस्तै फागुन पहिलो साता एक अर्ब कर्जा घट्दा दोस्रो साता कर्जा विस्तार चार अर्बले बढेको छ । फागुन सुरु भएयता बैंकहरुको निक्षेप स्थिर रहँदा कर्जा तीन अर्बले बढेको छ ।

बैंकहरुको निक्षेप वृद्धि अति सुस्त, कर्जा प्रवाह पनि खुम्चिदै

चालु आर्थिक वर्ष सुरु भएयता बैंकहरुले निक्षेप संकलनको तुलनामा ६७ अर्ब रुपैयाँ बढीले कर्जा विस्तार गरेका छन् । यसअवधिमा वाणिज्य बैंकहरुमा १ खर्ब ८८ अब निक्षेप थपिदा २ खर्ब ५५ अर्ब कर्जा परिचालन गरेका छन् ।

हालसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप ३० खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा विस्तार २७ खर्ब ५३ अर्ब रुपैयाँ छ। गत अषाढ मसान्तसम्म बैंकहरुमा कुल निक्षेप २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो भने त्यस अवधिमा बैंकहरुले कुल २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।