दाबी भुक्तानीमा कसिलो नीति: जीबन बीमा कम्पनीहरुले ७ र निर्जीबनले २१ दिनभित्र भुक्तानी गरिसक्नुपर्ने

0
Shares

जीबन बीमा कम्पनीहरुले ७ दिनभित्र र निर्जीबन बीमा कम्पनीहरुले २१ दिनभित्र बीमा दाबी भुक्तानी गर्नुपर्ने भएको छ। बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउने उदेश्यका साथ बीमा दाबी भुक्तानी मार्गदर्गन, २०७६ जारी गर्दै यस्तो व्यवस्था गरिएको हो।

मार्गदर्शन अनुसार हरेक बीमकले विभागिय प्रमुख सहित आवश्यक कर्मचारी नियुक्त गरि दाबी विभाग गठन गरि आवश्यक कागजात जाँचबुझ गरि निवेदन भएको ७ दिनभित्र र निर्जीबन बीमा कम्पनीको हकमा बीमालेख बमोजिम बीमा दाबी निवेदन प्राप्त भई दायित्व ठहर भएको (सर्भेयरबाट दायित्व निर्धारण गरि बिमक समक्ष प्रतिवेदन पेश भएको) २१ दिनभित्र भुक्तानी गर्नुपर्ने उल्लेख छ।

बीमा कम्पनीहरुमा दाबी भुक्तानी प्रक्रियालाई विभिन्न आलटाल गरि अनावश्यक लम्ब्याउने प्रवृत्ति बढ्न थालेको गुनासो आएपछि समितिले दाबी भुक्तानी प्रक्रियालाई ब्यवस्थित बनाउन दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०७६ जारी गरेको हो।

दाबी भुक्तानी मार्गदर्गन, २०७६ को पूर्ण विवरण यस लिङ्कबाट पढ्न सक्नुहुन्छ…

  • जीबन बीमा

निर्देशन लागू भएसँगै प्रत्येक जीबन बीमा कम्पनीले आफ्नो कम्पनीमा बीमालेख परिपक्क भएको १५ दिनभित्र सक्कल बीमालेख र परिचयपत्र खुल्ने कागजात सहित भुक्तानी लिन आउन बीमितको नाममा सूचना जारी गर्नुपर्नेछ ।

मृत्यु दाबी भुक्तानीको हकमा बीमितले इच्छाएको व्यक्तिले दाबी विवरण, बीमितको मृत्युदर्ता प्रमाणपत्र, दुर्घटनाबाट मृत्यु भएकाको हकमा सरकारी चिकित्सकले गरेको शव परिक्षण र मृत्युको कारणबारेको प्रतिवेदन र नाताप्रमाण सहित निवेदन दिनुपर्छ।  यसरी निवेदन प्राप्त भएको १५ दिनभित्र आवश्यक छानबिन गरि निवेदकको नाममा दाबी फस्र्यौट पूँर्जा जारी गर्नुपर्ने र निवेदकको सहिछाप प्राप्त भएको अर्को १५ दिनभित्र दाबी भुक्तानी गर्नुपर्नेछ ।

बीमकको छानबीनमा कुनै दायित्व भुक्तानी गर्नु नपर्ने देखिएमा कारण खोली निवेदकलाई लिखित जानकारी दिनुपर्ने र निवेदकलाई चित्त नबुझेमा नियामक निकाय बीमा समितिमा उजुर समेत गर्नसक्ने प्रावधान मार्गदर्शनमा राखिएको छ।

  • निर्जीबन बीमा

मार्गदर्शन अनुसार निर्जीबन बीमाकम्पनीहरुको दाबी भुक्तानीको हकमा आवश्यक कागजात प्राप्त भई दायित्व ठहर भएको २१ दिनभित्र दाबी भुक्तानी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

सर्वप्रथम बीमितले बिमकलाई बीमा दाबी गर्नुपर्ने भएमा यथासम्भव छिटो बीमकलाई लिखित रुपमा जानकारी वा निवेदन दिनुपर्छ। यसरी निवेदन दिएको मितिलाई दाबी मिति मानेर (बीमालेखमा दाबी गर्ने हदम्याद उल्लेख भएको बाहेक) बिमकले दाबी दर्ता किताबमा अभिलेख गरि आवश्यक कागजातहरु संकलन गरी आवश्यक जाँचबुझ प्रकृया अगाडि बढाउनुपर्नेछ।

कुनैपनि दाबीका लागि सर्भेयर नियुक्ती गर्नुपर्ने देखिएमा बीमितको नाम, ठेगाना, र दाबीको विवरण सहित बीमा समितिबाट इजाजत प्राप्त र योग्य सर्भेयर नियुक्ती गर्नुपर्ने र सोको जानकारी बीमितलाई गराउनुपर्नेछ।

यसरी नियुक्ती भएको सर्भेयरले १५ दिनभित्र आवश्यक दायित्व निर्धारण गरि बीमक समक्ष प्रतिवेदन र सोको जानकारी बीमितलाई दिनुपर्नेछ। बीमकले नियुक्त गरेको सर्भेयरको काम चित्त नबुझेमा सो को कारण खोली समितिमा स्वीकृतिका लागि बीमितले अनुरोध गर्नसक्छ।

दायित्व निर्धारण गरि प्रवेदन प्राप्त भएको २१ दिनभित्र बीमकले दायित्प ठहर गरि दाबी भुक्तानी गरिसक्नुपर्नेछ। तोकिएको समयमा भुक्तानी गर्न नसकेमा वा गर्नु नपर्ने भएमा कारण खुलाई सो जानकारी विरुद्ध समितिमा उजुरी गर्न सकिने व्यवस्थाको बारेमा समेत बीमितलाई लिखित जानकारी दिनुपर्छ।

बीमालेखमा समाविष्ट जोखिमबाट हानी नोक्सानी भई स्थापित भएमा, न्यूनतम दायित्व बीमालेखबाट आउँछ भन्ने यकिन भएका बीमकले आंशिक भुक्तानी दिन सकिने व्यवस्था समेत गरेको छ।

नोक्सानीको पुरै वा नोक्सानीको कुनै भाग तेश्रो पक्षवाट भराउनुपर्ने भएमा दावी भुक्तानी वा दावी फछर्यौट गर्नु अगाडि बीमितले अन्य पक्षबाट असुल उपर गरी लिन पाउने अधिकार वा हस्तान्तरण वा कानूनी कारवाहीमा जानु पर्ने भएमा कानुनी अख्तियारनामा लिनुपर्न व्यवस्था समेत छ।

यस्तै जीबन र निर्जीबन दुबैको दाबी भुक्तानी गर्दा अनिवार्य रुपमा बीमित वा हकवालाको बैंक खातामा बैंक मार्फत वा अकाउन्टपेयी चेकद्धारा मात्र भुक्तानी पाउने व्यक्तिको खातामा भुक्तानी गर्नुुपर्ने व्यवस्था गरिएको छ।

मार्गदर्शनबाट बीमितले बीमा कम्पनीहरु (बीमक) बाट दाबी भुक्तानी सरल र सहज हुनुको साथै हाल बीमा दाबी भुक्तानीमा देखापर्ने गरेको र भविष्यमा आउनसक्ने समस्यालाई समेत सम्बोधन हुने समितिले जनाएको छ ।