अब ‘टि प्लस वान’ मा डिआईएस बुझाउनुपर्ने, ब्रोकर भन्छन् ‘चेकको राफसाफलाई पनि चुस्त बनाइनुपर्छ’


अबदेखि शेयर लगानीकर्ताले भौतिक शेयर बिक्री पूर्जी (डिआईएस) कारोबारको भोलिपल्टै शेयर बिक्रेता दलालकोमा र विद्युतीय बिक्री पूर्जी (इडिआईएस) पर्सिपल्टसम्ममा अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ।

पछिल्ला दिनमा देखिएको उच्च कारोबारले राफसाफमा चाप परेपछि केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले शेयर बिक्री गरेको पर्सिपल्ट (अर्थात् ‘टी प्लस थ्री’) भित्र सहज रुपमा कारोबार राफसाफ हुने व्यवस्था मिलाउन सो व्यवस्था गरेको हो। टी प्लस थ्री को मध्यान्ह १२ बजेदेखि शेयर राफसाफको काम सुरु हुने यस अघिको प्रणालीलाई पछिल्ला दिनमा कारोबार चाप बढेपछि व्यवस्थित गर्न यस्तो व्यवस्था गरिएको सिडिएससीले जनाएको छ ।

यसका साथै सिडिएससीले भौतिक रुपमा डिआईएस बुझाउने लगानीकर्तालाई भोलिपल्ट नै धितोपत्रको भारित औषत लागतको विबरण पनि सँगै बुझाउन भनेको छ । साथै सिडिएससीले भौतिक डिआईएस तथा भारित औषत गणनामा सहजताका लागि लगानीकर्तालाई मेरो शेयर प्रयोग गर्न पनि आग्रह गरेको छ ।

टी प्लस थ्री भित्र राफसाफ हुने व्यवस्था भएकाले यसअघि भने लगानीकर्ताले कारोबारको तेस्रो दिनको १२ बजेभित्र समेत डिआईएस बुझाउँदै आएका थिए। नयाँ व्यवस्थासँगै लगानीकर्ताले पनि तत्कालै निर्देशन पूँर्जी बुझाउनुपर्ने भएको छ भने शेयर राफसाफमा पछिल्लो घण्टामा थपिने राफसाफको कार्यभार कम हुने भएको छ।

कारोबार राफसाफको अवधिमा भने कुनै परिमार्जन नगरिएको पनि सिडिएससीले प्रष्ट पारेको छ। लगानीकर्ताले ढिलो गरी बुझाउँदै आएको डिआईएस छिटो संकलन गरी राफसाफ सहज बनाउन यस्तो निर्णय गरिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले नोटबजारलाई बताए ।

उनका अनुसार उल्लेखित समयमा डिआईएस तथा इडिआईएस नबुझाउने लगानीकर्ताले कुनै पनि किसिमको समस्या झल्नु परेमा त्यसको जिम्मेवार स्वयं लगानीकर्ता नै हुनेछन्। समयमा नै कारोबार राफसाफ हुन नसकेको खण्डमा क्लोज आउटमा परि लगानीकर्ताले कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ।

उता शेयर दलालले भने लगानीकर्तालाई गरिएको आग्रह अनुसार चुस्त रुपमा राफसाफको काम हुनु पर्नेमा जोड दिएका छन्। ‘शेयर खरिद गरेको भोलिपल्ट बिहान लगानीकर्ताले डिआईएस बुझाए पनि राफसाफ हुन सकिरहेको अवस्था छैन।’ स्टक ब्रोकर एसोसिएशनका पुर्व अध्यक्ष एवं कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापतिले नोटबजारसँग भने । ‘सिडिएससीको पछिल्लो निर्देशन चुस्त रुपमा कार्यान्वायन हुन सके समस्या घट्ला तर लगानी कर्ताले डिआईएससमयमै बुझाए भने पनि राफसाफ, चेकको राफसाफ लगायत पक्ष चुस्त भएन भने अहिलेको समस्या उस्तै रहन्छ ।’

आर्यतारा सेक्युरिटिजका प्रबन्ध निर्देशक गुणनिधी भुषालले पनि सिडिएससीको पछिल्लो निर्देशनले राफसाफको काममा केही सहज हुने अपेक्षा गरेको बताए । तर लगानीकर्ता मात्र नभई सम्बद्ध सबै पक्ष तथा निकायले समयमा काम नगर्ने हो भने जुन उद्धेश्यले निर्देशन आएको हो, त्यो सफल हुन सक्दैन ।