कोरोनाको सङ्क्रमण भित्रिन नदिन सीमामा सुरक्षा निगरानी बढाइने

0
Shares

कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ। कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन देशको सीमा नाकामार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति अध्यक्ष गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हुने स्वास्थ्य परीक्षणमा सहयोग गर्ने, जनमानसमा कोरोना भाइरससम्बन्धी जनचेतना बढाउन सूचना सम्प्रेषण गर्ने तथा सरकारबाट गठित उच्चस्तरीय समन्वय समितिलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।

बैठकले दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरणका साथै महङ्गी तथा कालाबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ। बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उपरथी तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु सहभागी थिए।

बैठकपछि गृहमन्त्री थापाले सीमा नाकामा कडाइ तथा निगरानी बढाउन र सशस्त्रको सीमा निगरानी पोष्टलाई थप सक्रिय बनाउन निर्देशनसमेत दिएका छन्। उनले जनचेतना बढाउन, कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएका छन्।

  • कोरोना भाइरस भित्रिन नदिन बाँकेमा उच्च सतर्कता

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च सतर्क रहन निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

उनका अनुसार, जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी भएको छ । कोरोना भाइरसबाट जिल्लावासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, स्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई सतर्क अवस्थामा रहन निर्देशन जारी गरिसकेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए।

‘बाँकेवासीलाई कोरोना भाइरसबाट जोगाउन चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेका छौँ, एक साताअघिनै सबै सरोकारवाला पक्षसँग यसबारेमा छलफल गरी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरिसकेका छौँ ।”, प्रमुख जिल्ला अधिकारी खड्काले भने। कोरोना भाइरस नेपाल भित्रिन नदिन नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकामा परीक्षण कक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण हुँदै आएको छ ।

  • विमानस्थलमा परीक्षण कक्ष

नेपालगञ्ज विमानस्थलमा कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिएको छ । स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलबाट बाहिरिने र नेपालगञ्ज भित्रिने हवाई यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए।

विमानस्थल प्रवेशद्वारमा स्थापना गरिएको परीक्षण कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ । विमानस्थलमा आगमन तथा प्रस्थानमा आउने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका प्रमुख ठाकुरको भनाइ थियो ।

बाँके प्रशासनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मेला महोत्सव, भेला, प्रदर्शनी र भीडभाड नगर्न निर्देशन दिएको छ। कोरोना भाइरसकै कारण नेपालगञ्जको सडकमा गरिने भनिएको सडक खाना महोत्सव स्थगित भएको छ ।कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी सङ्घ संस्थाका साथसाथै राजनीतिक पार्टीले समेत धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् ।

  • काठमाडौंमा कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउँदै सफाइ अभियानकर्मी

कोरोना भाइरसबाट बच्न वाग्मती सफाइ महाअभियानले जनचेतनामूलक सफाइ अभियान शुरु गरेको छ । महाअभियान ३५६औँ हप्तामा प्रवेश गर्दा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सफाइ महाअभियानले शनिबारदेखि तीनै सुरक्षा निकायलाई सफाइमा सहभागी नहुन आह्वान गरेको थियो ।

तिलगङ्गा पहेँलो पुल क्षेत्रमा १५० अभियानकर्मीको उपस्थितिमा भएको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन्। यस क्षेत्रका घर–पसलमा गई चेतनामूलक अभियान पनि चलाइएको थियो । सफाइ अभियानले आ–आफ्नो गाउँ–टोलमा सचेतना फैलाई कोरोनाबाट समाज सुरक्षित बनाउन आह्वान गरेको छ ।

कोरोनाको सङ्क्रमणका कारण सुरक्षा निकाय, विद्यार्थी लगायतलाई सहभागी नहुन आह्वान गरिए पनि बालकुमारीस्थित काठमाडौँ फरेस्ट कलेजका ५० विद्यार्थी सहभागी भएका उनको भनाई थियो। कलेजका विद्यार्थीसँगै १०० जना नियमित अभियानकर्मी सफाइमा सहभागी भएका थिए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३१७औँ हप्तामा गोठाटारस्थित गाईबाच्छा संरक्षणस्थलमुनिको नदी किनारमा पनि जनचेतनामूलक सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा भएको यस क्षेत्रको सफाइमा पनि अभियानकर्मीमात्र सहभागी भएका थिए ।

यस क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीको नेतृत्वमा शुरु गरिएको अभियान कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भएकाले स्थगित गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए। त्यस अवसरमा गाईबाच्छा संरक्षणस्थलमा जम्मा भएको प्लाष्टिकलगायत फोहरसमेत व्यवस्थापन गरिएको थियो ।

चक्रपथको पश्चिमी भेग सफाइ अभियानको १३६औँ हप्तामा बाफल क्षेत्रमा जनचेतनामूलक सफाइ अभियान गरियो । मास्क नपाएकै कारण यस क्षेत्रको सफाइमा आउने अभियानकर्मी प्रभावित भएका अभियानकर्मी ताराबहादुर कुँवरले जानकारी दिए। यसैगरी उपत्यकाका अन्य नदी एवं चक्रपथ सफाइ अभियानमा पनि धेरै मानिसको भीडभाड नगरी अभियानकर्मी जम्मा भएर जनचेतनामूलक कार्यक्रम गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण रहेसम्म सफाइ अभियानलाई जनचेतना फैलाउन उपयोग गरिने भएको छ ।

  • ‘कोभिड–१९’को प्रतिकार्य गर्ने कर्णालीको निर्णय

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले आज पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारको सामाजिक मन्त्रालयबाट प्रस्तावित नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ प्रतिकार्य सम्बन्धमा गरिएको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँले यस प्रदेश भित्रका पाँच नाका हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई, विमानस्थल र कुइनेमा हेल्थडेस्क राख्ने, त्यसका लागि आवश्यक जनशक्ति परिचालन तथा बजेट व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरिएको बताए।

प्रवक्ता केसीका अनुसार ‘कोभिड–१९’को प्रतिकार्य गर्न सरकारले मेला, महोत्सव, आमसभा, भेला तथा सार्वजनिक कार्यक्रम, अनावश्यक आवतजावत, हात तथा गला मिलाउने कार्य नगर्ने र नगराउने, उत्तरी नाकालाई विशेष ढङ्गले कडाई गर्ने, यो समयमा कालोबजारी गर्नेलाई कडाईपूर्वक कार्वाही गर्ने निर्णय गरेको छ । त्यस्तै, कोरोना भाइरसबारे आतङ्कित नहुन र उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीबाहेक शिक्षक, विद्यार्थी, नागरिक समाज, नीजि क्षेत्र, सरोकारवाला पक्षसँग आवश्यक समन्वयगरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सन्देशमूलक कार्यक्रमलाई प्रभावकारी ढङ्गले प्रवाह गर्ने निर्णय भएको उनको भनाइ थियो।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिबार  १५ : १५ बजे