‘येस बैंक’ जोगाउन भारत सरकार देखि बैंकिङ्ग क्षेत्र एकजुट, अधिकांश बैंकले लगानी गर्ने

0
Shares

निजी क्षेत्रको ठूलो मानिएको ‘येस बैंक’मा समस्या आएपछि भारत सरकार, रिजर्भ बैंक इण्डिया र बैंकिङ्ग क्षेत्रका अधिकांश संस्थाहरु एकजुट भएर पुनसंरचनामा लागेका छन्।

रिजर्भ बैंकको पहलमा भारत सरकारले पुनसंरचना गर्ने निर्णय स्वरुप अन्य बैंक वित्तीय संस्थाहरु येस बैंकमा लगानी गर्न तत्पर भएका हुन्। शुक्रबार बसेको मन्त्रिपरिषदको बैंठकले येस बैंकलाइ पुनरसंरचना गर्ने रिजर्भ बैंकको प्रस्ताव पारित गरेको छ।

भारतको मन्त्रिपरिषदले येस बैंक पुनसंरचना गर्ने प्रस्ताव निर्णय गरेपछि बैंकिङ्ग क्षेत्रका संस्थाहरु एकपछि अर्को गर्दै लगानी गर्न तत्पर भएको अवस्था छ। गत फागुन २२ गते येस बैंकको वित्तीय अवस्था बिग्रदो रहेको हुनाले समग्र अर्थतन्त्रमा असर पनएबाट जोगाउन रिजर्भ बैंकले हस्तक्षेप गरेको थियो।

येस बैंकको बढ्दो खराब कर्जाका कारण देखिएको समस्या सम्बोधन गर्नका लागि बैंक सञ्चालक समिति समेत भङ्ग गरेर नयाँ कर्जा जारी नगर्न तथा बचतकर्तालाई ५० हजार भारु भन्दा धेरै झिक्न नपाउने व्यवस्था गरेको थियो। सोही अनुसार एसविआई बैंकका पूर्व वित्तीय अधिकारी प्रसान्त कुमार येस बैंकको प्रशासकमा नियुक्त भइसकेका छन्। त्यसका सरकारले आगामी बुधबार देखि ५० हजार भारु भन्दा धेरै झिक्न नपाउने व्यवस्था समेत हटाइने जनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

केन्द्रीय बैंकले येस बैंकलाइ टेकओभर गरेर पुनसंरचनाको योजना बनाउने तथा बैंकको अन्तरिक समस्याको गहिराईसम्म पुग्नेगरी अध्ययन सुरु गरेको थियो। रिजर्भ बैंकले येस बैंक सुधारका लागि थप पूँजी लगानी गर्ने प्रस्ताव सहित भारत सरकार समक्ष प्रस्ताव गरेको थियो। केन्द्रीय बैंकको प्रस्तावलाई गत शुक्रबार सम्पन्न मन्त्रिपरिषदको बैंठकले येस बैंक पुनसंरचनाको कार्यक्रम अघि बढाउन केन्द्रीय बैंकलाई अनुमती दिएको थियो।

केन्द्रीय बैंकले येस बैंकमा लगानी गर्नका लागि लगानीकर्तालाई आह्वान सुरु गरेको थियो। सोही अनुसार स्टेट बैंक अफ इण्डियाले ४९ प्रतिशतसम्म लगानी गर्ने भनेपछि अन्य बैंक वित्तीय संस्थापनि इच्छुक देखिए। सोही अनुरुप शनिबारसम्ममा आधा दर्जन भन्दा धेरै बैंक वित्तीय संस्थाले येस बैंकलाइ ब्यूँताउने प्रक्रियामा सहभागीता जनाइसकेका छन्।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले येस बैंकको पहिलाको १ हजार १०० करोडको चुक्ता पूँजी बढाएर अब ६ हजार २०० करोड पु¥याउने योजना रहेको बताएकी थिइन्। सोही अनुसार यस बैंकमा लगानी गर्न तयार रहेको स्टेट बैंक अफ इण्डियाले यस बैंकको तरलताका लागि मात्र ३० करोड भारतीय रुपैयाँ पब्लिक क्षेत्रका बैंकहरुबाट संकलन गरिने जनाएको छ। त्यसका साथै बैंक सञ्चालन समिति तथा उच्च व्यवस्थापन पनि नयाँ बनाउन समेत सुझाव अनुसार काम अघि बढेको हो।

  • कुन संस्थाले कति गर्दैछन् लगानी ?

येस बैंकको पुर्नगठन योजना अनुसार ६ हजार २०० करोड पूँजी पु¥याउनका लागि स्टेट बैंक अफ इण्डिया (एसबिआई) ले ७ हजार २५० करोड, आइसिआईसिआई बैंकले १ हजार करोड, एचडिएफसीले १ हजार करोड, एक्सिस बैंकले ६०० करोड, कोटक महिन्द्र बैंकले ५०० करोड, बन्धन बैंकले ३०० करोड, फेडरल बैंक ३०० करोड, राधाकिसिन दमानी ५००, राकेश झुनझुनवाला ५०० करोड र अजीम प्रेमजीले ५०० करोड गरी कूल १२ हजार ४५० करोड भारतीय रुपैयाँ लगानी जुटीसकेको अवस्था छ। यो लगानी मध्ये एसबिआई बैंकको २६ प्रतिशत र अन्य लगानीकर्ताको लगानी ३ वर्षसम्म लकइन पिरियोडमा रहने जनाइएको छ।

  • येस बैंकको वित्तीय अवस्था

येस बैंकले सन् २००४ देखि कारोबार सुरु गरेको हो। सञ्चालनमा आएको १६ वर्षको अबधिमा १ हजार १०० भन्दा बढी शाखा सञ्जाल, १ हजार ९०० भन्दा बढी एटिएम र १९ हजार भन्दा धेरै कर्मचारी मार्फत भारतका सबै स्टेटहरुमा बैंकिङ्ग व्यवसाय गर्दै आएको चौथो ठूलो निजी क्षेत्रको बैंक हो।

बैंकले गत वर्ष सम्ममा २ हजार १०० अर्ब निक्षेप संकलन गरि २ हजार २५० अर्ब कर्जा प्रवाह गरेको थियो । बैंकको वासलातको आकार ३ हजार ४५० अर्ब भन्दा माथि पुग्यो। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले ५.१ अर्ब पूँजी हुँदै गर्दा शेयर प्रिमियम ११९ भारु सहित बैंकको सञ्चिति तथा रिजर्व २७२ अर्ब पुगेको थियो।

बैक सुरु गर्दा बैंक सञ्चालनको जिम्मा बैंकका संस्थापक मध्येका एक राणा कपुरले प्रमुख कार्यकारीको जिम्मेवारी लिएका थिए भने संस्थापक अशोक कपुर सञ्चालक समितिको अध्यक्षको रुपमा थिए।प्रमुख कार्यकारीको निरन्तरतामा रिजर्भ बैंकले हस्तक्षेप गरेर सन् २०१९ जनवरी सम्म सीमित गरिदियो। तर, सञ्चालक समिति भने राणा कपुरलाई नै थप ३ वर्ष निरन्तरता दिन चाहन्थ्यो। संस्थागत सुशासनको कारण देखाई केन्द्रीय बैंकले उनलाई निरन्तरता दिन मानेन।

यस वर्ष नै बैंकले १५ अर्ब भन्दा बढी नोक्सानी सहितको वित्तीय विवरण प्रकाशित गर्यो। यस अवधिसम्ममा अंकित मूल्य २ भारु रहेको बैंकको शेयर मूल्य दोस्रो बजारमा ४०० भारु सम्म पुगेको थियो। रेटिङ्ग एजेन्सी मुडीजले येस बैंकको क्रेडिट रेटिङ्ग बिटु बाट घटाएर सिएएथ्रि गराइसकेको छ।

  • येस बैंकको समस्या के हो ?

एकाएक व्यवसाय विस्तारमा आक्रामक बनेर अघि बढेको बैंकमा अन्तर्राष्ट्रिय एक्सपोजर पाएका बैंकहरु व्यवस्थापनमा थिए। तरपनि राना कपुरले अरु सबै बैंकहरु परम्परागत शैलीमा व्यापार गरिरहेको बेला येस बैंक अक्रामक शैलीमा व्यवसाय विस्तार गर्न थाल्यो। अन्य बैंक नपत्याएका व्यवसायी, फर्म तथा कम्पनीहरुलाई उच्च सेवा शुल्कमा कर्जा प्रवाह गर्न थाल्यो। बैंकले थोरैमा पनि २ देखि ३ प्रतिशतसम्म सेवा शुल्क र उच्च ब्याजदरमा कर्जा प्रवाह गर्न थाल्यो। जसले बैंकको तत्कालको नाफा त धेरै देखियो। तर, दीर्घकालमा त्यही ब्यापार शैलीले बैंकलाई समस्यामा ल्याएको हो।

त्यसपछि बैंकले कर्पोरेट कर्जामा नै केन्द्रीत भयो। बैंकको कूल कर्जाको ६५ प्रतिशत भन्दा बढी अंश ठूला कर्पोरेट कर्जा रहेका थिए। कर्जाको ब्याज चुक्ता नहुँदा पनि थप कर्जा प्रवाह गर्दै बैकले खराब कर्जा १ प्रतिशत मात्र दैखाउँदै आयो। सन् २०१६ पछि रिजर्भ बैंक अफ इण्डियाले ५ करोड भन्दा माथिका कर्जाको विवरण केन्द्रीय बैंकमा पेश गर्नुपर्ने व्यवस्था गर्यो। यस ब्यवस्थासँगै येस बैंकलाई कर्जा ब्यवस्थापनमा असहजता भयो। बैंकले यतिबेला ७.५ अर्ब भारु बराबरको खराब कर्जा देखाएको थियो। यो वास्तवमा ५० अर्ब भारुको हाराहारी हुनुपर्र्थो भन्ने अनुमान गरिएको छ।

सन् २०१८–१९ मा बैकले खराब सम्पत्ती ७८.८ अर्ब भारुको देखायो तर, केन्द्रीय बैंकले भने १ खर्ब ११ अर्ब भारु भन्दा धेरैको खराब सम्पत्ती रहेको हुनाले सोही अनुसार विवरण बुझाउन भन्यो। बैंकले सन् २०१९ सेप्टेम्बरमा नै १ खर्ब ७१ अर्ब भारु खराब सम्पत्ती रहेको विवरण सार्वजनिक ग¥यो। यसरी बढ्दो खराब सम्पत्ति बैंकको समस्याको मुल कारण रह्यो। त्यसका साथै बैंकका संस्थापकहरुको आन्तरिक कलह र कमजोर संस्थागत सुशासनले समस्या थप बढाउँदै गयो।

कमजोर संस्थागत सुशासन, आन्तरिक किचलो र ठूलो खराब ऋणहरुको आशंकाको कारण बैक नोक्सानमा गएपछि थप पूँजी लगानी थप्न लगाउन प्रयास पनि सफल हुन सकेनन्। जसको कारण पूँजीकोष र तरलता ब्यवस्थापन असहज हुँदै गयो।