बीमा कम्पनीले महाविपत्ती र बीमा कोषवाट सापटी लिइ पूँजी पुर्याउन सक्ने


बीमा कम्पनीहरुले महाविपत्ती र बीमा जगेडा कोषको रकम सापटी गरेर सहज रुपमा न्युनतम चुक्ता पूँजी पुर्याउन सक्ने भएका छन । बीमा कम्पनीहरुलाई बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्ने नयाँ विकल्प देखाएको हो ।


समितिको ५१ औं वार्षिकउत्सवमा कार्यक्रममा बोल्दै अध्यक्ष चिरन्जीवी चापाँगाईले चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीहरुले महाविपत्ती र बीमा जगेडा कोषको रकम सापटी गरेर सहज रुपमा न्युनतम चुक्ता पूँजी पुर्याउन सक्ने बताएका हुन । यो व्यवस्थाले बीमा कम्पनीहरुलाई हकप्रद वा बोनस वितरण गरेर पूँजी वृद्धि गर्नुपर्ने दबाबवाट मुक्त गरिदिएको हो ।

समितिका अध्यक्ष चापाँगाईले बीमकहरुको व्यवहारिक कठिनाईलाई ध्यानदिदै समितिको निर्देशन अनुसार कायम गर्नुपर्ने महाविपत्ती जगेडा र बीमा जगेडामा रहेको रकमलाई चुक्ता पूँजी पुर्याउनको लागि सापटी प्रदान गर्ने गरी सहजता प्रदान गरिएको बताए । बीमा समितिले २०७६ असार मसान्त भित्र जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीको न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिइसकेको छ ।

आर्थिक वर्ष २०७४÷७५ बाट बीमा कम्पनीहरुले समितिबाट जारी गरिएको बीमकको वित्तीय विवरण अनुसार नेपाल वित्तीय प्रतिबेदनमान (एनएफआरएस) अनुरुपको वित्तीयस विवरण तयार पार्नुपर्ने व्यवस्था छ ।
एनएफआरएसमा आधारित वित्तीय विवरण अनुसार बीमकले आफ्नो दायित्व पर्याप्तता परिक्षण गर्दा संचित मुनाफा हिसाबमा फरक पर्न गएको करणले पूँजी योजना समितिले तोकेको समय सीमामा पुर्याउन व्यवहारिक कठिनाई भएको अध्यक्ष चापाँगाईको भनाई छ ।
एनएफआरएस लागु गर्दा बीमकले आफ्नो दायित्व पर्याप्तता परिक्षण गर्नुपर्ने र त्यस्तो मूल्याङ्कन गर्ने बीमाङ्की नेपालमा नभएकोले केही समय ढिलो भएको उनले बताए । हाल दुई वटा जीवन बीमा र चार निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याएको अध्यक्ष चापाँगाई जानकारी दिए ।