कोरोना असरः घरेलु तथा साना उद्योग महासंघको निर्धारित कार्यक्रम रद्ध, व्याज तथा हर्जाना छुट माग


कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ ।

अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भएतापनि सजगता र सावधानी अपनाउनका लागि महासंघले निर्धारित कार्यक्रमहरु स्थगन गर्ने निर्णय गरेको हो ।

कोारोनाले नेपालमा पनि महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल समेत गरेको छ । सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरिसकेको सन्दर्भमा सो आव्हानलाई मध्येनजर गर्दे महासंघले घोषित कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।

महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत यही चैत १४, १५ र १६ गते राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु आयोजना हुन लागेका थिए ।

संक्रमणको त्रासले नेपालको औद्योगिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको भन्दै महासंघले छिमेकी राष्ट्र भारतसँग जोडिएका चार वटा नाका मात्र खुल्ला हुँदा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा असर परिरहेको जनाएको छ ।

नेपालको औद्योगिक क्षेत्रमा कार्यरत विदेशी श्रमिकहरु सुरक्षाका लागि आफ्नो मुलुक फर्किएका र स्वदेशी जनशक्ति समेत सुरक्षित स्थानतर्फ लागेकाले उद्योग क्षेत्रमा जनशक्तिको अभाव हुँदै गएको पनि महासंघले जनाएको छ । कच्चा पदार्थ, जनशक्तिको अभाव, सन्त्रासको वातावरणका कारण उत्पादकत्वमा कमी भई नेपालको औद्योगिक क्षेत्रमा विचलन आएको भन्दै महासंघले यस्तै अवस्था अरु केही समय रहेमा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोना भाइरसका कारणले औद्योगिक क्षेत्रलाई असर पारेता पनि उद्योगहरुले कर्मचारी तथा मजदुरहरुलाई पारिश्रमिक दिइनुपर्ने, प्रशासनिक खर्च भइरहने र बैंकको व्याज लागिरहने भएकाले उद्योग क्षेत्र खास गरेर लघु, घरेलु तथा साना उद्योगीहरु मर्माहत भएको महासंघले जनाएको छ ।

कोरोना भाइरसबाट पीडित लघु, घरेलु तथा साना उद्योगका लागि विभिन्न किसिमका व्यवस्था गरिदिन सरकारसँग महासंघले आग्रह गरेको छ ।

कोरोना संक्रमण अवधिमा लागेको बैंकको व्याज तथा हर्जाना छुट हुनुपर्ने तथा चैत मसान्तसम्म बुझाउनु पर्ने आयकरको किस्ता बुझाउने म्याद अर्को तीन महिनाका लागि थप गर्नुपर्ने माग महासंघले अघि सारेको छ ।

उद्योग नविकरण गर्ने म्याद हाललाई कम्तिमा छ महिना थप गरि नविकरण शुल्क मिनाहा गरिनुपर्ने, वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशी उद्योगमा प्रतिस्थापन गर्न वा नयाँ उद्योग संचालनका लागि प्रोत्साहन गर्न उचित सीप विकास तालिम प्रदान गर्नुपर्ने महासंघको आग्रह छ ।