समयमा नै भुक्तानी पाउन छाडेपछि उखु खेती घट्यो, सर्लाहीका चिनी उद्योग धमाधम बन्द हुँदै

0
Shares

सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ। गत वर्ष वैशाख दोस्रो हप्तासम्म चलेको चिनी उद्योग यस वर्ष चैत पहिलो साता नै बन्द हुने भएको हो।

सर्लाही, महोत्तरी, रौतहट र बाराको गरी कूल २२ हजार क्षेत्रफलको उखु किसानले इन्दु शङ्करसहित जिल्लाका अन्य चिनी मिलका साथै छिमेकी जिल्लाका चिनी मिलसम्म पु¥याउने गरेका छन्।

यस उद्योगले गत वर्ष ३५ लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। यस वर्ष गत वर्षको तुलनामा लक्ष्यभन्दा घटी उखु क्रसिङ्ग भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए।

यस वर्ष पनि ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्यका साथ माघ ११ गतेबाट सञ्चालन भएको उद्योगले अहिलेसम्म २६ लाख ५० हजार क्विन्टल मात्र उखु क्रसिङ गरेको र उद्योगको रेकर्डमा रहेको जग्गाको क्षेत्रफल अनुसारको उखु सकिएको भन्दै उद्योग चैत पहिलो साता नै क्रसिङ सकिएकाले उद्योग बन्द गर्ने तयारीमा रहेको प्रबन्धक रजकले बताए।

उनका अनुसार तेस्रो चरणको सूचना प्रकाशित समेत भइसकेको छ। अबको दुई/तीन दिनभित्रमा उद्योग बन्द गर्ने गरी किसानको खेतमा बाँकी रहेको जे–जति उखु छ त्यो उद्योगसम्म ल्याउन उद्योगले सूचना जारी गरेको जनाइएको छ । आवश्यकभन्दा कम उखु उद्योगमा आएका कारण पछिल्लो समयमा दिनको केही घण्टा मात्र उद्योग चल्ने गरेको प्रबन्धक रजकले बताए। दिनमा दुई/चार घण्टा मिल सञ्चालन गर्दा उद्योग मारमा पर्ने भएका कारण उद्योग चाँडै बन्द गर्न लागेको रजकले बताए।

किसानले पाउनुपर्ने भुक्तानी तथा अनुदान नपाएको भन्दै किसानले पछिल्लो समयमा उखुखेती कम गर्न थालेपछि लक्ष्यअनुसार उखु नआएको उद्योगले जनाएको छ। ऋण गरेर किसानले गरेको उखुखेतीको समयमै भुक्तानी तथा अनुदान नपाउँदा किसानको उखुखेतीप्रति मनोबल कमजोर भएको र अरु खेतीतर्फ किसान आकर्षण हुन थालेको जानकारहरु बताउँछन्।

जिल्लामा तीन चिनी उद्योग भए पनि एउटा गत वर्षको अनुदान र भुक्तानी नै बाँकी रहेका कारण यस वर्ष सञ्चालन नै हुन सकेन भने एउटा केही दिन पहिला नै बन्द भइसकेको छ। इन्दु शङ्कर चिनी उद्योग पनि लक्ष्यअनुसार उखु क्रसिङ नभएपछि चाँडै बन्द हुन लागेको हो।

प्रकाशित मिति: ६ चैत २०७६, बिहीबार  १३ : १७ बजे