माथिल्लो तामाकोशीले असारदेखि विद्युत् उत्पादन थाल्ने, ९९% काम सम्पन्न

0
Shares

कोरोना भाइरसको त्रास बढीरहेको बेला सरकारका एक मन्त्री आफ्नो जिम्मेवारीमा रहेको कामलाई केन्द्रमा राखेर आयोजना स्थलको निरीक्षणमा पुगेका छन् ।

।देशभित्र कोरानाको संक्रमणको त्रास बढीरहेको बेला ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री लगायतको उच्चस्तरीय टोली राष्ट्रिय गौरवको आयोजनाको अवस्थाको निरीक्षण गर्न आज माथिल्लो तामाकोशी पुगेको हो ।

स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाटको जलाशययुक्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उनले आज स्थलगत निरीक्षण गरेका हुन्। ।

आयोजनाको बाँध तथा बालुवा थिग्र्याउने पोखरीको (डिसेण्डर) प्राविधिक परीक्षण शुरु भएपछि मन्त्री पुन निरीक्षणमा पुगेका हुन । गत सोमबारबाट आयोजनाको बाँधमा पानी जम्मा गर्न सुरु गरिएकामा आइतबार पोखरी भरिएको छ । कूल २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको बाँध निर्माण गरिएको छ ।

कूल आठवटा ढोका रहेको बाँधमा चारवटा डिसेन्डर बेसिन राखिएका छन् । बेसिनमार्फत मुख्य सुरुङ हुँदै पावर हाउससम्म पानी पु¥याइन्छ । बाँधको परीक्षण सफलतापूर्वक सम्पन भएको छ । बाँध र पोखरीको प्राविधिक परीक्षण सफल भएकामा मन्त्री पुुनले आयोजनाका पदाधिकारी, ठेकेदार, परामर्शदाता र निर्माण युनिटलाई धन्यवाद दिए ।

निर्धारित समयमै सकिने

बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित समयमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिनुभएको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईँले जानकारी दिए ।

गोरखा भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने उनको भनाइ थियो । परीक्षणका काम चालु आर्थिक वर्षमै सक्ने र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन मन्त्री पुनको निर्देशन थियो ।

काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार रहेको भन्दै उहाँले तर, काम तोकिएकै समयमा हुनुपर्नेमा बताए । सरकारको मात्र नभई दोलखा, रामेछापसहित देशैभरका सर्वसाधारण, निजामति र जङ्गीतर्फका कर्मचारीको समेत लगानी रहेकाले निर्माणका काममा ढिलाइ हुन नहुने मन्त्री पुनको स्पष्ट निर्देशन थियो । उनले समस्या परे तत्काल आफूलाई खबर गर्न आयोजनाका अधिकारीलाई आग्रह गरे ।

“माथिल्लो तामाकोशीमा सरकारको मात्र होइन, शेयरमार्फत जनताको ठूलो लगानी परेको छ”, मन्त्री पुनले भने, “धेरै काम भएको छ, अब बाँकी काम जसरी भए पनि समयमै हुनुपर्छ ” । थोरै भए पनि संवेदनशील र चुनौचीपूर्ण काम बाँकी रहेकाले प्राविधिक कमजोरी नगर्न पनि मन्त्री पुनले सचेत गराए । सो अवसरमा आयोजनाका पदाधिकारी, ठेकेदार र परामर्शदाता सबैले समयमै काम सक्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जामन्त्री जिम्मेवारी संहालेपछि पुनको यो तेश्रो तामाकोशी भ्रमण हो ।

मन्त्री पुनसँगै निरीक्षणमा गएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले धेरै जटिलता र कठिनाइबीच आयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएकामा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई धन्यवाद दिए । दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङले देशकै सबैभन्दा ठूलो आयोजना जिल्लामा बन्नु दोलखाकासीका लागि खुसीको कुरा भएको उल्लेख गरे ।

मन्त्री पुन र गुरुङसँगै टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेल, सदस्य डा। कृष्णप्रसाद ओली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ लगायत सहभागी थिए ।

यस्तो छ पछिल्लो विवरण

विसं २०६५ देखि शुरु भएको आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाबाट आगामी असारदेखि विद्युत उत्पादन थाल्ने तयारी छ । सबैभन्दा जटिल ठानिएको आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर लामो पेनस्टक पाइप जडान गरिएको छ ।

तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । तल्लो ठाडो सुरुङमा १४७ र माथिल्लो ठाडो सुरुङमा १७१ मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम आगामी वैशाख महिनाभर सक्ने तयारी छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ । त्यसका लागि करिब डेढ महिना लाग्नेछ ।

असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका रहेको तामाकोशी आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सिभिलअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत् गृहका सम्पूर्ण उपकरण यसअघि नै जडान भइसकेको छ ।

बाँध परीक्षण सफल

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको परीक्षण सफल भएको छ ।

दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्सको काम सम्पन्न भएसँगै बाँधमा पानी थुनेर एक सातादेखि गरिएको परीक्षण सफल भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।

एक सातादेखि पानी थुनेर गरिएको परीक्षणमा सिभिलका सबै संरचनाहरु टोलरेन्स लेभलमा रहेको, पानी लिकेज कम रहेको र बाँध क्षेत्रको परीक्षण सफल भएको प्रवक्ता न्यौपानेले बताए।

निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको हेडवक्र्सअन्तर्गतको बाँध, गेट, स्टपलग आदिको परीक्षण सफल भएसंँगै आयोजना बालुवा थिग्र्याउने पोखरीको परीक्षण गर्ने तयारीमा लागेको छ । सुरुङको परीक्षणपछि अन्तमा पेनस्टकको परीक्षण गरिने र त्यो सफल भए मात्र विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

अहिलेसम्म ९९ दशमलव चार प्रतिशत निर्माणको काम सकिए पनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काममा केही ढिलाइ भएका कारण आयोजना सम्पन्न हुन सकेको छैन । ठाडो सुरुङको दुईवटा भागमध्ये तल्लो ठाडो सुरुङ ३७३ मिटर लामो र माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो रहेको छ ।

अहिलेसम्म तल्लो ठाडो सुरुङमा २६० मिटर पेनस्टक पाइप जडान भएको र माथिल्लो ठाडो सुरुङमा १५० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले जनाएको छ । विसं २०६७ देखि मुख्य सिभिल निर्माण कार्यको शुरुआत गरिएको यो आयोजनाले २०७२ जेठ महिनामा पहिलो युटिनबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

विसं २०७२ वैशाखको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।