विश्व अर्थतन्त्रमा अहिलेसम्म देखिएका प्रमुख आर्थिक संकटहरु

0
Shares

  • सन् १९३० को विश्वब्यापी महामन्दी (The Great Depression)

अमेरिकी इतिहासमा सन् १९२०-१९२८ लाई रोवरिङ पिरियड को रुपमा लिईन्छ । यस बेला अमेरिकी अर्थतन्त्र तेज गतिमा बढेको थियो। बढ्दो स्टक मार्केट, जि.एन.पि, समृद्धि र बढ्दो आर्थिक सूचाङ्कले अमेरिकी अर्थतन्त्र एकदमै बढी आत्मविश्वासमा थियो ।

कम्पनीहरुको राम्रो परफरमेन्स, अर्थतन्त्रमा भएको वृद्धिको कारण शेयर बजारले राम्रो प्रगति र प्रतिफल दिइरहेको थियो । शेयर बजारको राम्रो प्रतिफल देखेर ब्यापार विश्लेषण गर्न नजान्ने सर्वसाधारणहरु समेत बढी प्रतिफल पाउने लोभले आफ्नो ठूलो धनराशी स्टक मार्केटमा लगानी गर्न थाले। यसले परिणाम स्वरुप शेयरको मूल्य सन् १९२९ अगस्ट ताका चरम उचाईमा पुग्यो र कम्पनीहरुको शेयर ओभर भ्यालुड हुनथाल्यो। सन् १९२७˗१९२९ भित्रमा दुई वर्ष मै शेयर बजारको मूल्य दोब्बर हुन पुग्यो। शेयर बजारको कम्पनीको शेयर मुल्यले कम्पनीको कमाईलाई पुष्ट्याउन सक्थेन।

अर्को तर्फ सन् १९२९ देखि नै अमेरिकी अर्थतन्त्रको वृद्धि सुस्ताउँदै गइरहेको थियो । अमेरिकी औद्योगिक क्षेत्र, कृषि क्षेत्र क्रमशः सुस्ताउँदो गतिमा नै थियो । सन् १९२९ अक्टोबर २४ बाट अमेरिकी शेयरको मूल्य घट्न शुरु हुन थाल्यो र त्यसको एक हप्ता भित्र अक्टोवर २९ मा शेयर बजार एक्कासी यसरी घट्न थाल्यो कि अमेरिकी शेयर बजार हेर्दाहेर्दै पुरै ध्वस्त हुन पुग्यो। त्यसैले २९ अक्टोवरलाई ब्लाक थर्सडे समेत भनियो। यस बेला शेयरको मूल्य ९० प्रतिशत सम्मले गिरावट भएको अवस्था थियो । यहि नै २० औं शताब्दीको ठूलो महामन्दीको शुरुवात थियो।

यस बेला धेरैले जागिर गुमाउनु पर्यो। धेरै मानिसहरुले जागिर गुमाए बैकमा आफुले राखेको पैसा झिक्न एकै पटक हुल का हुल ताती नै लाग्दा बैंक रनको समस्या समेत उत्पन्न भयो। बैंकहरुले आफुले दिएको कर्जाको किस्ता,ब्याज समेत उठाउन नसकेर खराब कर्जा बढदै जान थाले पछि ७ हजार देखि ८ हजार संख्यामा बैंकहरु डुब्न् पुग्यो। यस घटनाले मानिसहरुको बैकिङ सिस्टम प्रती बिश्वास नै गुम्न पुग्यो।

यस महामन्दीको कारणहरु: शेयरबजार ध्वस्त हुनु, वित्तीय भय, उच्च सीमा शूल्क, युद्धको कर्जा, कमजोर मोद्रिक नीति, असमान आम्दानीको वितरण, प्रभावकारी मागमा आएको गिरावट, कृषि र ओद्योगिक क्षेत्रमा भएको अधिक उत्पादन प्रमुख थियो । यसले बलियो अमेरिकी अर्थतन्त्रको बैंकिङ्ग क्षेत्र ध्वस्त बनाइदियो। विश्वब्यापी बेरोजगार २५ प्रतिशतले बढ्न गयो । वस्तु तथा सेवाहरुको मूल्य घट्न गयो । कामदारको तलबमा समेत कटौती गरियो । किसानहरुको आम्दानी ५० प्रतिशतले घट्न पुग्यो । यसले अमेरिकी अर्थतन्त्र लगायत विश्व अर्थतन्त्रमा ठूलो नोक्सानी पुग्यो।

सन् १९३३, मार्च ४ मा फ्रान्कलिन रुजवेल्ट अमेरिकाको ३२ औं राष्ट्रपति भएपछि उनले डुबेको कम्पनीलाई उकास्ने, कृषकहरुलाई उठाउने तथा समाजिक सुरक्षा सम्बन्धि विविध कार्यक्रमहरु ल्याए। उनले बैंकिङ्ग सिस्टमलाई संसोधन गरि एफ.डि.आई.सि (फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन), सेक लगायतका नियमनकारी संस्थाको स्थापना गरे।

रुजबेल्टले बैंकिङ्ग सिस्टमप्रति सर्वसाधारणहरुको जनविश्वास बढाउन यदि बैंकमा राखिएको पैसा जो कसैको डुबे एफ.डि.आई.सि ले क्षतिपूर्ति दिने भनेर समेत ग्यारेण्टी दिए। उनको यस महत्वपूर्ण कदमले सन् १९३३-१९३६ सम्म अमेरिकी अर्थतन्त्रमा केही सुधार भयो तर फेरि सन् १९३७ मा अमेरिकी अर्थतन्त्रमा समस्या देखियो र जब दोस्रो विश्वयुद्ध शुरु भयो ।

अमेरिकाले युद्ध सामान उत्पादनमा तीब्र वृद्धि गर्यो। फलस्वरुप हतियार उत्पादन गर्ने उद्योगले धेरै महिला, पुरुष बरोजगारहरुलाई रोजगारी दियो र अमेरिकी अर्थतन्त्रमा सुधार क्रमशः आउँदै गयो र त्यसपछि कहिले पछि फर्केर हेर्नु परेन ।

  • १९७३ को तेल संकट (1973 Oil Crisis)

सन् १९७३ मा इजराइल र अरब राष्ट्रहरु बीचको योम किप्पुर युद्धमा अरव सदस्य राष्ट्रहरु (अर्गनाईजेसन अफ पेट्रोस एक्सपोर्टिङ कन्ट्रिज–ओपेक) एउटा कित्तामा थियो भने इजराइल सहित अमेरिका, क्यानाडा, बेलायत, नेदरल्याण्ड, पोर्चुगल, साउथ अफ्रिका लगाएयतका राष्ट्रहरु अर्को कित्तामा थियो ।

संसा भर पेट्रोलियम पदार्थ निर्यात गर्ने अरब राष्ट्रले अमेरिका लगायतका विपक्षी देशहरुमा पेट्रोलियम पदार्थको निर्यातमा पुरै रोक लगाइदियो। अर्कोतर्फ तेल उत्पादनमा समेत कटौती गर्दा तेलको भाउ ३ डलरबाट आसिएर १२ डलर प्रति ब्यारलको उचाईमा पुग्यो ।
घट्दो तेलको आपूर्र्तिले तेलको मूल्य ४ सय प्रतिशतले बढ्न पुग्यो।

यसले विश्व अर्थतन्त्र उच्च मुद्रास्फितिको चपेटामा पर्दा अमेरिकी अर्थतन्त्र लगायत विश्व अर्थतन्त्रमा नै अर्को संकट निम्तियो। तेलमा आएको उच्च मूल्य वृद्घिले विश्व उत्पादनमा नै गिरावट आउन पुग्दा विश्वभरि उच्च मुद्रास्फितिको आर्थिक समस्याबाट गुज्रिनु पर्यो जसलाई स्टेग फ्लेसन भनियो ।

यस तेल संकटले विश्व अर्थतन्त्रको शेयर बजार बजारलाई ध्वस्त बनाईदियो भने मोद्रिक सिस्टम समेत निष्कृय हुन पुग्यो। उच्च मुद्रास्फिति, न्यून उत्पादन, न्यून आर्थिक वृद्घि ,उच्च बेरोजगारी, कुटनैतीक सम्बन्धमा तिक्तता लगायत पश्चिमी देशहरुमा राजनैनिक संकट समेत देखिन पुग्यो ।

सन् १९७३ अक्टुवर २६ मा यो लडाईको अन्त्य भयो र सन् १९७४ मार्च १७ मा वासिङ्टन आयल समीटमा भएको सहमतिबाट यस तेल संकटको अन्त्य भयो । यस घटनाले जापान जस्तो देशलाई तेलको विकल्पको रुपमा नयाँ उर्जाको रुपमा विद्युतीय प्रविधिको विकास गर्न सिकायो ।

  • २००७/२००८ को मन्दी

सन् १९९६ ताका अमेरिकामा डटकम बुम चलिरहेको थियो। जसमा टेक्नोलोजिमा आधारित कम्पनीको शेयरमूल्य उच्च गतिमा बढ्दै गइरहेको थियो । यसबाट शेयरमा लगानी गर्नेहरुले राम्रो प्रतिफल पाईरहेको थियो।

इन्टरनेटको बढ्दो प्रयोगले इन्टरनेटमा आधारित कम्पनीहरुमा लागनीकर्ताहरु धमाधम लगानी गर्दथे। कम्पनीको पछाडि डटकम जोडिएको मात्र भएमा पनि सबैले आखाँ चिम्लेर लगानी गर्थे। पेट्स डटकम, बो डटकम, अमेजन डटकम जस्ता कम्पनीहरुले आईपिओबाट मनग्य पैसा संकलन गर्न सके र नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै ती कम्पनीहरुले सर्वसाधारणको पैसा मनलाग्दी ठाउँमा लगानी गरे।

केही समयपछि लगानीकर्ताले आफुले सोचेजस्तो प्रतिफल पाउन छोडेपछि सर्वसाधारणहरु आफ्नो शेयर बेच्दै बजारबाट भाग्न थाले। परिणम स्वरुप सन् १९९९ बाट इन्टरनेटमा आधारित कम्पनीहरु जस्तै : पेट्स डटकम, इन्फोसिक लगायत कम्पनीहरु ध्वस्त नै भए । जसले गर्दा शेयरको मूल्य झन् तेज गतिले झर्नथाल्यो। सन् २०००-२००२ सम्ममा डट कम बबल विस्फोट भयो । अझ सन् २००१ सेटेम्बर ११ को आतंकारी हमलाबाट अमेरिकी अर्थतन्त्रमा थप संकट थपिदियो । परिणाम स्वरुप यस संकटमा कैयौं कम्पनीहरुको मूल्य ९९ प्रतिशतले ह्रास हुनपुग्यो । यस घटनाले कयौं लगानीकर्ताहरुलाई रोडमा झारिदियो।

शेयर बजारमा गुमाएका लगानीकर्ताहरु सन् २००२ पछि नयाँ लगानीको अवसरको खोजिमा थिए । मानिसहरु आफ्नो पैसा बैंकमा राख्दा न्यून ब्याज पाउने भएकोले बैंकमा पैसा राख्न चाहदैँनथे भने अर्को तर्फ शेयर बजारमा धेरैै लगानीकर्ताहरुले ठूलो धनराशी गुमाउनु परेकोले, यो बजार पनि असुरक्षित थियो। त्यसैले लगानीकर्ताहरु लगानीको नयाँ अवसरको खोजीमा थिए ।

यसै बेला अमेरिकी सरकारले अत्याधुनिक पूँजीवाद सिद्धान्तलाई अगाल्ने हेतुले सन् १९९९ मा “Gramm-Leach-Bliley Financial Modernaization Act” नयाँ नीति ल्यायो । वास्तवमा २००८ को वित्तिय संकटको विउ, डटकम बबल भएता पनि यहि नयाँ नीतिको प्रयोग नै अमेरिकी अर्थब्यवस्था ध्वस्त हुनु प्रत्यक्ष कारण थियो । यस नीतिले फरक फरक प्रकृतिको काम गर्ने कर्मसियल बैंक, इन्भेष्मेन्ट बैंक र इन्स्योरेन्स कम्पनी बीचको सीमा नै तोडि दियो। अर्थात् यिनीहरुलाई एकअर्कासँग म्युचुअल सहकार्य गरि बिजनेस गर्न नयाँ नीतिले अनुमति दियो जुन सन् १९९९ अघि पाईन्नथ्यो।

त्यस बेला अमेरिकामा अर्कोतर्फ रियल स्टेटको दाम दिन प्रति दिन बढ्दै गईरहेको थियो। अमेरिकी सरकार स्वयं मानिसहरुलाई घर जग्गा किन्न उत्प्रेरित गरिरहेको थियो । त्यस ताका बाइ नाउ, पे लेटर भन्ने नारा नै थियो । बैंकको सस्तो ब्याजदरमा त्यही घर धितोमा राखेर न्यूनतम डाउन पेमेन्टमा घरजग्गा लिन पाउने भएपछि यस क्षेत्रमा लगानी गर्ने बाढी नै आयो र घरजग्गामा लगानी एकदमै सुरक्षित जस्तै मानिएकोले अमेरिकी नागरिकहरु कर्जा लिईलिई कन भएपनि घर किन्न थाले। डटकम संकटबाट गुमाएका लगानीकर्ताहरु अब घरजग्गामा धमाधम लगानी गर्न थाले।

सन् १९९९ अघि कर्मसियल बैंकले मोर्टगेज पेपर अर्थात धितोको कागजात बैंक आफैँले राखेर कर्जा दिन्थ्यो र ग्राहकबाट किस्ता लिने गथ्र्याे र कर्जाको यो बिजनेस यति मै सीमित थियो । अब नयाँ नीतिको कानूनी मान्यता स्वरुप कर्मसियल बैंकहरु आफुले प्रवाह गरेको प्रत्येक कर्जाको मोर्टगेज पेपरमा इन्भेष्टमेन्ट बैंकहरुले लगानी गर्न थाले, इन्भेष्टमैंक बैंकले आफुले लगानी गरेको मोर्टगेज पेपरलाई छुटै नयाँ दस्ता बनाउथ्यो जसलाई क्रेडिट डेब्ट अब्लिगेसन (सि.डि.ओ.) भनिन्थ्यो र तिनीहरुलाई विभिन्न जोखिममा वर्गिकरण गथ्र्यो ।

ती सि.डि.ओ.हरुलाई रेटिङ एजेन्सी कम्पनीहरुले रेटिङ गथ्र्यो र रेटिङ पश्चात इन्स्योरेन्स कम्पनीहरुले ती विभिन्न जोखिममा वर्गिकरण गरि रेटिङ गरिएको सि.डि.ओ.लाई इन्स्योरेन्स गरि सि.डि.एस (क्रेडिल डिफल्ट स्वाप) मा परिणत गरि विश्वभरिका पेन्सन फण्ड, म्यूचुअल फण्ड, सोर्भन फण्ड, हेज फण्ड लगायत इन्भेष्टमेण्ट बैंकहरुलाई समेत अर्बो रुपैयाँ लगानी गर्न अवसर दिइन्थ्यो । विश्वभरिका पश्चिमा देश लगायत एसियाली देशहरु जापान, चीन समेतले आफ्नो ठूलो पूँजी यसमा लगानी बढाइरहेको थयो र मनग्य मुनाफा पनि कमाइरहेको थियो ।

यसले घरजग्गाको कारोबार झन् हौसिन थाल्यो। कर्मसियल बैंक, इन्भेष्टमेण्ट, रेटिङ एजेण्ट, इन्स्योरेन्स कम्पनी, राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्ताहरु सबैंले राम्रो कमाईरहेकोले अब कर्मसियल बैंकहरु आफ्नो एजेण्टहरुलाई घरजग्गा किन्ने बढी भन्दा बढी नयाँ ग्राहक ल्याउन दबाब दिन्थे ।

राम्रो आम्दानी भएको ग्राहक जति बैंकमा ल्याउनु ल्याइसकेका थिए । अब एजेण्टहरु जस्तो भेटे त्यस्तो ग्राहकलाई अफर देखाउँदै धमाधम बैंकबाट कर्जा दिँदैं घर जग्गामा लगानी हुन शुरु भयो । बैंकहरुले कमसल ग्राहकलाई समेत ट्रिजर लोन दिईकन घर किन्न प्रोत्साहित गर्न थाले । मुनाफा कमाउने उन्मादमा कसैलाई अब वित्तीय क्षेत्रमा के हुँदैछ ? कसैलाई थाहा थिएन र वास्ता समेत थिएन।

अब अमेरिकी रियल स्टेटमा घटना घट्न शुरु हुन थाल्छ । घर किन्न कर्जा दिएका निम्न आय भएका ग्राहकहरुले किस्ता बुझाउन सक्दैनन्। लिएको कर्जाको किस्ता नबुझाउने ग्राहकको संख्या दिन प्रतिदिन बढ्दै जान थाल्छ । बैंकहरुले धितोको रुपमा राखेको घर कब्जा गर्नथाल्छ र धमाधम पत्रिकामा घर लिलामीको लागि निस्कन्छ । लिलामीमा यति घर निस्कन्छ जुन अब बजारमा लिलाम हुन नै छोड् छ ।घरजग्गाको मूल्य स्वात्तै घट्न पुग्छ । यहि घटनाले अमेरिकी बैंकिङ्ग क्षेत्रमा ठूलो तरलता जोखिम निम्तियो ।

यसले गर्दा अमेरिकी रियल स्टेटको भाउ दिन प्रतिदिन घट्दै गयो । घरको नियमित किस्ता तिरिरहेको ग्राहकहरुले समेत आफ्नो घरको दाम आफुले तिर्न बाँकी रहेको बैंकको किस्ता भन्दा सस्तो भएको थाहा पाएपछि, राम्रो ग्राहकहरुले समेत बैंकलाई किस्ता तिर्न छोडे । यसले बैंकमा नन् पर्फमिङ एसेस्ट्स बैंकहरुमा झन् बढ्दै जान थाल्यो जसले विकराल क्रेडिट रिस्क निम्तियो । यसै घटनालाई नै हाउजिङ क्राईसिस भनियो ।

परिणाम स्वरुप यस घटनाले समग्र कर्मसियल बैंक, इन्भेष्टमेण्ट बैंक, इन्स्योरेन्स कम्पनी र अमेरिकी वित्तीय बजारमा लगानी गरेका सबै राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरु, इन्भेष्टमेण्ट बैंकहरुको लगानी समेत चुर्लुम्म डुब्न पुग्यो । अमेरिकी वित्तीय बजारमा कर्जा जोखिम बढ्दै गयो । अरु बैंकहरुले आपसमा लेनदेन समेत गर्न छोडे परिणम स्वरुप २००८ को वित्तिय संकटको शुरुवात भयो ।

अमेरिकी लेहमान ब्रदर्स, बाचोभिया, वासिङटन म्युचुअल जस्ता बैंकहरु उठ्नै नसक्ने गरि डुब्न पुगे। अमेरिकी सरकारी संस्था फ्रेडि म्याक र फेन्नी मे जसले रियल स्टेटमा लगानी गर्न बैंकलाई अबौं डलर दिएको थियो, तिनीहरु पनि चुर्लुम डुबे तर सरकारी संस्था भएकोले अमेरिकी सरकारले त्यसलाई बचाउन वेल आउटको कार्यक्रम ल्याए । आईसल्याण्ड लगायतका अन्य पश्चिमा मुलुक समेत प्रभावित भयो ।

चीन, जापान र भारत लगायतका मुलुकहरुलाई प्रत्यक्ष प्रभावित भयो । नेपाल जस्तो देशहरु जसले अमेरिकी वित्तीय बजारमा लागानी गरेन उनीहरुलाई प्रत्यक्ष प्रभाव त परेन तर विश्वब्यापी फैलिएको ठूलो वित्तीय संकटबाट कोहि अछुतो भने रहन सकेनन् । यसको परिणाम सन् २०१० मा पुरै अमेरिकीले वाल स्ट्रिट घेराउ आन्दोलन समेत गरे र अमेरिकी सरकारले यस आर्थिक संकटबाट पार पाउन टार्फ (ट्रबल एसेट्स रिलिफ प्रोगाम) लगायतका नयाँ कार्यक्रमहरु, फिस्कल स्टिमूलस कार्यक्रमहरु ल्याए । त्यस्तै अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जभले संख्यात्मक तरलता (क्वाण्टिटेटिभ ईजिङ) कार्यक्रमहरु सन् २००७ डिसेम्बरबाट शुरु भएको यस संकट सन् २००९ जुनमा करिब अठार महिना पछि समाप्त भयो।

  • सन् २०२० को कोरोना भाईरस संकट

आइ.एम.एफ, वल्र्ड बैंक, इकोनोमिक कोपरेसन एण्ड डेभलपमेण्ट अर्गानाइजेसन सबैका अनुसार सन् २०१९ डिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाईरसका कारण विश्वभर आर्थिक मन्दी आउने प्रक्षेपण गरिसकेको छ । विश्वभर भएको लक डाउनका कारण हरेक देशको आर्थिक वृृद्धि २ प्रतिशत भन्दा बढीले खस्किने भनिएको छ।

चीन वुहानबाट फैलिएको यस कोरोना भाईरसबाट अमेरीका, इटाली, स्पेन, जर्मनी, इरान, व्रिटेन, भारत लगायत विश्वका २०० भन्दा बढीं राष्ट्रहरु प्रभावित हुनपुग्दा समाचार प्रकाशन हुँदासम्म करिब ६५ हजार मानिसहरुले आफ्नो ज्यान गुमानु परेको छ । यसले विश्व बजारलाई नै ठप्प परिदिएको छ । साउदी अरवले आफ्नो तर्फबाट तेलको मूल्य ३५ प्रतिशतबाट घटाएर ३० डलर प्रति ब्यारलमा झारेको छ भने अमेरिकी १० वर्षे टे«जरी वण्ड ०.५४२ प्रतिशतभन्दा तल झरेको छ।

विश्वबजारको शेयर मार्केट, भारतीय सेन्सेक्स, निफ्टी घट्दो क्रममा छ भने सुनमा केहि प्रतिशत वृद्घि भएको देखिन्छ । यस महामारिबाट पूर्वी एसियालाई पर्यटनमा र कमोडिटी मार्केटमा आधारित देशहरु बढी प्रभावित हुने आंकलन गरिएको छ । छिमेकी देश भारत सहित नेपाल समेत कोरोना भाइसरलाई परास्त गर्न लकडाउनको संघारमा छ ।

यस संकटले नेपालको अर्थतन्त्रमा पैदा गरेको समस्याहरु:-

१. गत आ.व २०७५/७६ मा ७६.९ अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको नेपालको बाह्य र आन्तरिक पर्यटन सबै ठप्प छ । होटल, रेष्टुरेण्ट, लज, रिसोर्ट, फनपार्क सबै सुनसान भएको छ ।

२.उपभोक्ताको दैनिक उपभोग्य वस्तुहरुको अभाव हुँदै गइरहन्दा, महँगी बढ्दो क्रममा छ ।

३. विरामीहरुको लागि आवश्यक औषधिको कच्चा पदार्थमा समेत अभाव बढेको छ।

४. बैंकिङ्ग क्षेत्रमा कर्जाको किस्ता तथा ब्याज नियमित नहुने, कर्जा जोखिम बढेर गएको छ ।

५. कुल रोजगारको ६० प्रतिशत योगदान दिइरहेको अनौपचारिक क्षेत्र जसले लाखौ मानिसलाई रोजगारि दिएको छ । त्यस क्षेत्र ठप्प हुँदा बेरोजगारीदर ११.४ प्रतिशतबाट बढेर जाने पक्का छ ।

६. कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रको विशेष च्याउखेती, पशुपंक्षी, कुखुरा पालन लगायतका ब्यवसाय चौपट भएको छ।

७.काम गर्ने श्रमिक, कच्चा पदार्थको अभावमा कुल ग्राहस्थ उत्पादनमा १५.२ प्रतिशत योगदान रहेको ओद्योगिक क्षेत्र पुरै बन्द अवस्थामा छ।

८. अनिश्चितता र अन्योलको कारण शेयर बजार ठोस अवस्थामा छ ।

९. क्वाराईण्टाइनमा घरमै बस्नु पर्दा औपचारिक क्षेत्रमा काम गर्नेहरुलाई धेरै फरक नपरे पनि आज कमाएर भरे गुजारा गर्नुपर्ने निम्न आय भएका श्रमिकहरुको जीवन कष्टकर बन्दै गएको छ ।

१०. सेवा क्षेत्रमा १३.८ प्रतिशत योगदान रहेको एयरलाईन्स र अन्य यातायातका सेवा समेत ठप्प छ ।

११. कुल ग्राहस्थ उत्पादनमा २६ प्रतिशत योगदान रहेको विप्रेषण आप्रवाहमा नकारात्मक प्रभाव परेको छ ।

१२. उच्च आर्थिक वृृद्घि, सामाजिक तथा पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्घिका कारण घट्दै गईरहेको निरपेक्ष गरिवीको रेखामुनीको जनासंख्या १८.७ प्रतिशतबाट फेरि बढ्ने अवस्था छ ।

  • समाधानका उपायहरु :-

सन् २००७/२००८ को आर्थिक संकट वित्तीय समस्याबाट जन्मेको समस्या थियो । जसबाट अमेरिका लगायत अमेरिकी वित्तीय बजारमा लगानी गरेका सबै देशहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभावित भए र यस आर्थिक संकटलाई मौद्रिक तथा वित्तीय औजारहरुको परिचालनबाट समाधान गरियो।

तर सन् २०२० को यो संकट कुनै वित्तीय समस्याको कारण स्वरुप उत्पन्न भएको आर्थिक संकट होईन । यो चीनबाट फैलिएको कोभिड˗१९ माहामारिबाट फैलिएको जीवन र मृत्युसँग सम्बन्धित मानवीय संकट हो । यस माहामारी विरुद्ध लड्न आज विश्व नै क्वारेण्टाईनमा लकडाउन भई बस्नुपर्दा विश्व अर्थतन्त्र नै मन्दीको चपेटामा परेकोले यस समस्याको रामवाण केवल मौद्रिक नीति र वित्तीय नीतिका औजारहरु मात्र पर्याप्त हुन सक्दैन ।

हुनत: लकडाउन छोटै दिनको मात्र भएता पनि यस महामारीको ल्याग तथा ग्लोवल इफेक्ट हुने भएकोले यस संकट समाधानका आवश्यक उपायहरु निम्न छन्:-

१. यस प्रकोपमा फ्रन्ट लाईनमा बसी काम गर्ने स्वास्थ्यकर्मीहरु लगायत सबैको मनोबल उच्च बनाई राख्न आवश्यक ब्यवस्थापनसँगै जोखिम न्यूनिकरणका आर्थिक कार्यक्रम ल्याउन आवश्यक छ ।

२.कृषि क्षेत्रको कुखुरापालन, च्याउ खेती, लाइभस्टक, रेसम खेती लगायतका क्षेत्रहरु समेत प्रभावित भएकोले यस क्षेत्रमा समेत राहतको कार्यक्रम ल्याउनु आवश्यक छ।

३. यस महामारीको प्रभाव प्रत्यक्ष रुपमा लामो समयसम्म पनि पर्यटन क्षेत्रमा पर्ने भएकोले यस क्षेत्रमा प्रवाह गरिको कर्जा, ब्याज र करमा समेत, महसुस हुने किसिमको राहत दिनुपर्छ ।

४. विशेष पर्यटन क्षेत्रमा बढी प्रभाव परेता पनि यसको रिपल इफैक्ट अरु क्षेत्रमा समेत पर्ने भएकोले बैंक तथा वित्तिय संस्थाहरुले विभिन्न क्षेत्रमा प्रवाह गरिएको कर्जाको नविकरण, किस्ता, ब्याज समयमा ग्राहकहरुले तिर्न नसक्ने जोखिमलाई ध्यानमा राखि कर्जा नोक्सानी ब्यवस्थामा राष्ट्र बैंकले लचकता ल्याउन आवश्यक छ।

५. औद्यागिक क्षेत्र पूरा बन्द भएकोले यस क्षेत्रमा प्रवाह गरिएको कर्जामा, विद्युत महसूल, करहरुमा राहत तथा अनुदानको कार्यक्रम आवश्यक हुन्छ ।

६. स्वदेशी उद्योग, ब्यापारमा सहज हुने गरि भन्सार महसुलमा लचकता ल्याउनु पर्छ ।

७. अनौपचारिक क्षेत्रमा काम गर्ने कूल रोजगारको ६० प्रतिशत निम्न आय भएका श्रमिकलाई असहज परिस्थिति सम्म न्यूनतम जीवन निर्र्वाहको लागि राहतको कार्यक्रम ल्याउनुपर्छ ।

८. दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्तिलाई कसरी बजारमा सहज उपलब्ध गराउने भन्ने तिर ध्यान दिई सो को ब्यवस्थापन गर्न जरुरी छ ।

९. कृतिम अभाव सृजना गरी हुन सक्ने कालाबजारीलाई रोक्न प्रभावकारी अनुगमन तथा ठाउँ ठाउँमा साझा सहुलियत पसल खोल्नुपर्ने हो कि यसलाई कार्यन्वयन गर्न आवश्यक हुन्छ ।

१०. उपभोक्ताहरुको न्यूनतम आवश्यक शिक्षा, स्वास्थ्य, पानी, विजुली, घरभाडा लगायतका आधारभूत आवश्यकताहरुमा अल्पकालीन राहत कार्यक्रम ल्याउनुपर्छ ।

११. राष्ट्र बैंकले अर्थतन्त्रमा मुद्रा विस्तार नीतिलाई आत्मसाथ गर्दै सि.आर.आर., बैंक रेट, सि.डि रेसियो लगायतका मौद्रिक उपकरणमा लचकता ल्याउनुपर्छ । जुन काम राष्ट्र बैंकले गरिरहेको अवस्था छ ।

१२. आउँदो दिनमा पर्यटन, कृषि, उद्योग, ब्यापार, सेवा लगायतका क्षेत्रहरुमा प्रवाह गरिने कर्जामा अझ सहज र सरल बनाउनु पर्छ । नयाँ उद्यमीहरुलाई समेत लगानी गर्न उत्साहित बनाउने कार्यक्रम ल्याउन सक्नुपर्छ ।

१३. बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकिदिएको सहुलियत कर्जा प्रवाहमा कन्जुस्याई नगरि इमान्दार पुर्वक सो कर्जाहरु सम्बन्धित क्षेत्रमा प्रवाह गर्न आवश्यक छ ।

१४. अझै पनि बैंकिङ्ग सेवा लिएका ग्राहकहरु मध्ये ८० प्रतिशतभन्दा बढीले बैंकको मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ए.टि.एम कार्ड सुविधा लिन जानेका छैनन्। ग्राहकहरुले यस किसिमको ई-बैंकिङ सेवाहरुलाई समय सापेक्ष उपभोग गर्ने बानी बसाउन नितान्त आवश्यक छ ।

यस संकट भन्दा अघिका सन् १९३० को बिश्वब्यापी महामन्दी, सन् १९७३ को तेल संकट, सन् २००८ को आर्थिक मंन्दी अमेरिकी अर्थतन्त्रको नीति नियममा आएको कमी कमजोरी र शक्ति राष्ट्रहरु बीचको टकराबको कारण स्वरुप उत्पन्न भएको आर्थिक संकट थियो । ती समस्यालाई समाधान गर्न कुनै एक्लो मान्छेको हातमा थिएन पनि र ती संकटहरुको समाधान वित्तीय तथा मोद्रिक नीतिको सुधार तथा कार्यक्रमहरु मार्फत र कुटनैतीक वार्ताहरुबाट गरियो।

तर सन् २०२० को यस संकट भनेको पहिले त मानवीय संकट हो र त्यसपछि यसले उब्जाएको आर्थिक संकट हो। आर्थिक संकटको समाधान फिस्कल तथा मनिटरि स्टिमुलस कार्यक्रमहरु मार्फत, क्षेत्रीय सार्क राष्ट्रको सहयोग, वल्र्ड बैंक, आई.एम.एफ, यू.एन.लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहयोगबाट राहतको आर्थिक कार्यक्रमहरु ल्याई समाधान गर्नुपर्ने जरुरी हुन्छ।

विश्वले भोगीरहेको यस महामारीको नियन्त्रण गर्न जति छिटो सक्यो त्यति नै हामी सबैको भलाई हुन्छ। अन्यथा यस माहामारीबाट जति मानिसहरुको मृत्यु भएको छ त्यो भन्दा बढी आगामी दिनहरुमा आर्थिक संकटबाट भोखमरीले मृत्यु हुने आंकलन गरिएको छ । यस अवस्थामा यस संकटको पहिलो समाधान त हामी सबैको आफ्नै हातमा नै छ । त्यो भनेको रोगलाई फैलिन नदिनु हो अर्थात् हरेकले आत्म अनुशासन भई सरकारको अनुरोध मानी सामाजिक दूरी कायम राख्नु नै हो ।

लेखक बिदुर कुमार श्रेष्ठ (विवेक) अर्थशास्त्रका विद्यार्थी एवं कृषि विकास बैंकका कर्मचारी हुन्।