अर्थतन्त्र बचाउन राज्यले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ – सौरभ ज्योती


व्यवसायिक घराना ज्योती ग्रुपका निर्देशक सौरभ ज्योतीले कोरोना भाइरस संक्रमणले अर्थतन्त्रलाई दीर्घकालिन असर पारेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्त तथा बीमा समितिका सभापति समेत रहेका ज्योतीले अब मुलुकको अर्थतन्त्र बचाउनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नु पर्ने बताएका हुन् ।

नोटबजारसँगको कुराकानीमा ज्योतीले कोरोनाका कारण विश्वका सबै मुलुकहरु समस्यामा परेको भन्दै विगतमा जस्तो नेपालले अन्य मुलुकबाट सहयोग पाउने अवस्था नरहने भन्दै आन्तरिक रुपमा नै अर्थतन्त्र जोगाउनका लागि अभियान चलाउनु पर्ने बताएका हुन् ।

अहिले उद्योग व्यवसायलाई राज्यले उपलब्ध गराउन लागेको सहुलियत स्वागतयोग्य भए पनि दीर्घकालिन असर राख्ने किसिमको नभएको उनको ठम्याई छ ।

‘राहतको कुरा गर्ने हो भने राज्यले कर, बैंकको किस्ता तिर्ने समय केही पर सारिदियो, यसले केही सहज पक्कै भएको छ । १० प्रतिशत सहुलियतले समग्र क्षेत्रलाई राहत महसुस भएको छ, यसलाई स्वागतयोग्य कदम मान्नु पर्छ । तर यसमा समस्या के छ भने तपाईले पकाउने खाना ओभनमा २० मिनेट राख्नु पर्ने थियो, तर १० मिनेट मात्र राखेर निकाल्नु भयो भने त्यो खाना पाक्ने हैन बिग्रिन्छ । त्यसै गरी उद्योगलाई तीन महिनाको समय दिएर त्यो ‘रिभाइभ’ हुँदैन । वर्ष दिन लाग्न सक्ला वा अझै समय लाग्न सक्ला । यो अवस्थामा कि त व्याजलाई पनि पूँजीकरण गरेर लैजान पर्यो, कि हामीलाई एक वर्षको समय दिन पर्यो एउटा त्रैमास मात्र हैन । यसले उद्योग ‘रिभाइभ’ हुन्छ भन्ने आधार छैन, यसमा पुनरबिचार गर्नै पर्छ ।’

‘अर्को पक्ष भनेको व्याजमा हामीले कुरा गर्दै आएको स्प्रेडदरलाई घटाउन पर्छ । यसले हाम्रो ऋणको व्याजदर घट्छ । पहिले उद्योगको पुनरस्थापना गरौं, त्यस पछि बैंकहरुलाई रिपेमेण्ट गरौं । यसबाट नगद प्रवाग गर्दै अवस्था सामान्य हुने बाटोमा लागे पछि आफैं वित्तीय औजारहरुले काम गर्न थाल्छन् । नगद प्रवाहको चक्र तिब्र हुन थाले पछि ऋण तिर्ने अवस्था सृजना हुन्छ, जसले गर्दा अर्थतन्त्र चलायमान हुन गई अवस्था सहज हुँदै जान्छ । त्यस पछि उद्योग कलकारखाको बिस्तार, रोजगारी सृजना गर्ने लगायतका कामहरु क्रमिक रुपमा अघि बढ्न सक्छन्’ उनले भने ।

अर्थतन्त्र चलाउने, रोजगारी सृजना गर्ने अझ भनौं अर्थतन्त्रको मेरुदण्ड भनेको निजी क्षेत्र अनि उद्योग व्यवसाय नै हो । यो क्षेत्रले नै रोजगारी सृजना गर्ने हो । यसको विकल्प छैन । आजका दिनसम्म लाखौं मानिस बैदेशिक रोजगारीमा गइरहेका थिए, अब त्यो सम्भावना पनि छैन । कोभिडको यो प्यान्डमिकले गर्दा धेरै मानिसहरु नेपालमा नै बसेर काम गर्नु पर्ने अवस्था आउँछ । हामीले मुलुक भित्र रोजगारी सृजना गर्न सकेनौं भने ठुलो समस्या आउँछ । तसर्थ हामीले यहाँ नयाँ उद्योग अनि नयाँ रोजगारी सृजना गर्नु पर्छ । यसका लागि नयाँ सोचका साथै नयाँ शैलीमा काम गर्न जरुरी हुन्छ । विगतमा के भयो भन्ने छोडेर भविष्यका बारेमा सोच्दै राष्ट्रिय आवश्यक्ताको रुपमा अर्थतन्त्र जोगाउनका लागि उद्योग, भ्यालु एडिसनका साथै आन्तरिक उत्पादनलाई बढावा दिँदै व्यापार घाटा घटाउन सरकारले निजी क्षेत्रसँग हातेमालो गर्नै पर्छ । अहिले त कोभिड आयो, तर अर्थतन्त्रलाई बचाउन सकिएन भने त्यसको असर दीर्घकालसम्म रहन्छ । अहिले हेल्थ महत्वपुर्ण भए पनि भविष्यमा हेल्थसँगै हङगरको विषय झनै महत्वपूर्ण विषय बनाइनु पर्छ ।’ ज्योतीले भने ।

– सौरभ ज्योतीसँगको अन्तरवार्ता केही बेरमा प्रकाशित हुनेछ ।