सौरभ ज्योति, नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, बित्त तथा बिमा समितिको सभापति छन् । व्यवसायिक घराना ज्योति समूहका निर्देशक ज्योति, नेपाल अब खाद्य र कृषिमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिन्छन् । अहिले कोभिड १९ को मात्र असर देखिए पनि यो सामान्य बनेपछि राष्ट्रिय अर्थतन्त्र र नेपालीको जीवन शैलीको परिभाषा बदलिनु पर्ने उनको धारणा छ ।
आगामी दिनको नेपालको आर्थिक चुनाती र समाधानका उपायका विषयमा केन्द्रित रहेर नोटबजार डटकमका तर्फबाट परमेश्वर अधिकारीले सौरभ ज्योतिसंग कुराकानी गरेका छन् ।
अधिकारीले ज्योतीलाई सोधे आधारभुत खाद्यान्नदेखि सबै वस्तुमा परनिर्भर हामीले अबको दिनमा के गर्नु पर्ला ?
सौरभ ज्योतीः हो पक्कै पनि खाद्य सुरक्षा अब हाम्रो पहिलो प्राथमिकता हुनु पर्छ र कृषि उद्योग अब को ‘फोकस’ हुनु पर्छ । कोभिडको महामारी पछि को लडाई अझै चुनौति पूर्ण हुनेमा कुनै शंका छैन । यस्तो अवस्थामा हाम्रो चुनौती भनेको मुलुक भित्रै प्रशस्त रोजगारी सृृजनाको विषय हुनेछ । यसका लागि सरकार, व्यवसायीसँगै आम उपभोक्ताले आयात मुखी सोचमा परिवर्तन ल्याउनु पर्ने हुन्छ । किनभने अब बैदेशिक रोजगारीमा नेपाली जनशक्ति बाहिर जाने अवस्था देखिँदैन ।
नोटबजारः यो जटिल परिस्थितिमा कर मिलानका साथै कर्जा मिलानमा केही राहतमा राज्यले सम्बोधन गरेको छ । तर व्यवसायी र बैंकका बिचमा अझै मतभेद देखिन्छ । अहिले उद्योग व्यवसायमा परेको असरलाई समाधान गर्न राहत प्याकेजका सम्बन्धमा महासंघले सम्बद्ध पक्षहरुसँग कसरी समन्वय गरिरहेको छ ?
सौरभ ज्योतीः सरकारको पछिल्लो राहत घोषणा अनुसार हामीले ‘लबिङ’ गरिरहेका छौं । लकडाउन मात्र समस्या समाधानको विकल्प हैन । लकडाउनको उद्धेश्य भनेको तत्काल संक्रमणको फैलावटलाई नियन्त्रण गर्नु मात्र हो । यसका लागि लकडाउनको समयमा संक्रमितहरुको ‘किट टेस्टिङ’बाट ‘लोकेट’ गर्नु पर्यो । त्यस पछि उपचार प्रकृयामा जानु पर्छ । यो चरणमा पुगेपछि लकडाउन खोल्नु पर्छ । लामो समयको लकडाउनले मुलुकलाई आर्थिक रुपमा लामो समयसम्मका लागि झनै कमजोर बनाउँछ । कोभिडको कारणले मात्र पर्ने असरलाई निश्चित अवधिको मान्नु पर्छ । किनकी महामारीको रुपमा अहिले विश्वभर कोभिड फैलिरहेको छ । यसले अर्थतन्त्रलाई अस्वभाविक असर पारिरहेको छ ।
यस पछिको ठूलो संकटको रुपमा अर्थतन्त्रमा ठुलो असर आउने निश्चित छ । अरु बेला अन्य मुलुकहरुबाट सहयोग तथा अनुदान आउने गरेको थियो । तर अहिले चीन, भारत लगायत समग्र मुलुकहरु आफैं समस्यामा छन् । यस्तो बेला कतैबाट पनि राहत आउने अवस्था देखिँदैन । अब हामी आफैंले मुलुकलाई आर्थिक रुपमा उठाउनु पर्छ ।
यसको पहिलो खुट्किलो पर्यटन हो, अहिले सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र पनि यही नै हो । त्यस पछि रेमिट्यान्समा ठूलो धक्का लागेको छ । यसका लागि अब स्वदेशमा नै रोजगारीको वाताबरण बनाउनु पर्नेछ । किनकी बैदेशिक रोजगारीमा जाने अवस्था तत्काल नआउला । यसका लागि उद्योगको बिस्तारदेखि धेरै कुराहरु आउँछन् । यो अवस्थामा अर्थतन्त्र जोगाउनका लागि हामी सबैले एक भएर लाग्नु पर्ने हुन्छ । यसका लागि हामीले नेपाल सरकार, राष्ट्र बैंक लगायतसँग विभिन्न प्याकेजहरु माग गरिरहेका छौं ।
नोटबजारः आयात मुखी अर्थतन्त्रमा सरकारको स्रोत ‘कष्टम ड्यूटी’ र त्यसै को ठुलो अंशमा लाग्दै आएको अन्तशुल्क र भ्याट मात्र छ । बन्द व्यवसाय र राजस्व दुवै आयातमा अधिक निर्भर छ । अर्कोतर्फ लकडाउनले आयातको लागि पनि नयाँ एलसी खुलेका छैनन् भने पुरानामा पनि समस्या छ । अब व्यापार केन्द्रित हाम्रो व्यवसाय कसरी अघि बढ्छ ?
सौरभ ज्योतीः हो तपाईले भनेको समस्या अहिले अधिक छ र हामीले यसमा पनि कुरा उठाइरहेका छौं । हामी हरेक पटक समस्या परे पछि मात्र समाधानका उपायको खोजी गर्दै आईरहेका छौं । भूकम्पको बेला होस् वा नाकाबन्दीको समयमा होस्, यो समस्या त आएको थियो नि । अहिलेको पहिलो समस्या भनेको ‘फूड सेक्यु्रिटी’ हो, जुन कुरा मैले सुरुमा नै भनिसकेको छु । कुरा जेसुकै भए पनि कृषि हाम्रो पहिलो प्राथमिकताको क्षेत्र हो । अहिले सबैले ‘लक्जरीयस’ खाना खान चाहँदैन । तर दाना, दाल, भात र रोटीसम्म खान सक्ने अवस्थामा त हामी हुन पर्यो नि । अर्को क्षेत्र उर्जा हो, यसमा पछिल्ला दिनहरुमा राम्रो नतिजा देखिइरहेको छ । तेस्रो भनेको पुर्वाधार हो ।
कोभिडको महामारीले अर्थतन्त्र धरापमा पारेको समस्या विश्वव्यापी भए पनि हामीले समाधानको बाटो स्थानीयस्तरमा खोज्नु पर्ने हुन्छ । यस अघि यो अवस्था खासै नदेखिएकोमा अहिलेको ‘प्यानडामिक’ले अब हामी समृद्ध हुनै पर्छ भन्ने देखाएको छ । अहिले कोभिड आयो, भोलिका दिनमा अरु यस्तै किसिमका ‘प्यानडमिक’हरु आउँदैनन् भन्ने अवस्था छैन । यो अवस्थालाई हेरेर हामीले पुर्वाधार विकासमा विशेष जोड दिनु पर्छ । जहिले पनि कुरा पुर्वाधार विकासको हुने तर नतिजा नआउने, अवस्था यस पटक बजेटमा पुर्वाधारमा नौ प्रतिशत मात्र खर्च हुनुेले हामी के गरिरहेका छौं भन्ने उजागर गरिसकेको छ ।
चाहे खाद्यनान्न ओसारपासरमा होस् वा स्वास्थ्यका दृष्टिकोणले होस्, उद्योगको दृष्टिमा होस् वा अन्य किसिमबाट हेर्दा पुर्वाधार अपरिहार्य छ । पुर्वाधारमा हाम्रो ध्यान केन्द्रित हुने हो भने अहिलेको आर्थिक अवस्थालाई सुधार गर्न सहज परिस्थिती बन्छ ।
योसँगै स्वास्थ्य सम्बन्धि पुर्वाधारमा पनि उत्तिकै काम गर्न जरुरी छ । अब हामी विकेन्द्रीकृत प्रणालीमा जानु पर्छ । के काठमाण्डौंका मानिसको मात्र ज्यान हो र ? बाहिरका मानिसको ज्यान हैन ? अहिले प्रदेशहरुमा स्वास्थ्य पुर्वाधार कहाँ छ ? काठमाण्डौंमा बस्ने हामी बाहिरकोभन्दा केही भाग्यमानी छौं कि, यहाँ केही ठुला र सुजिधासम्पन्न अस्पतालहरु छन् । तसर्थ सबै प्रदेशहरुमा स्वास्थ्य सम्बन्धि पुर्वाधार तथा जनशक्तिको विकास हुनै पर्छ ।
उद्योगको पनि उत्तिकै विकास हुन जरुरी छ । अहिलेको घर बसाईबाट हामीले कसरी उद्योेग सञ्चालन गर्ने भन्ने सिकिसक्यौं । उत्पादन र बितरण प्रणालीलाई सहज बनाउन अनलाइन माध्यममा जाने वाताबरण बनाउन पर्छ र यो सम्भव मात्र हैन सहज पनि छ । अब नयाँ पेशा व्यवसायमा जाँदा त्यसको ‘बेस’ अनलाइनमा आधारित हुनु पर्छ । सिक्ने सिकाउने माध्यम पनि यसैलाई बनाइनु पर्छ । उद्योगमा पनि स्वास्थ्य सम्बन्धि पुर्वाधारको पाटोलाई ध्यानमा राख्न पर्छ, ताकि आगामी दिनमा अहिलेको जस्तो समस्या आउँदा परिस्थिती केही सहज बनोस ।
उदाहरणका लागि नयाँ व्यवसायको रुपमा गार्मेण्ट तथा यस्तै प्रकृतिका उद्योगहरुले धमाधम मास्क तथा ‘पीपीइ’का उपकरण उत्पादनमा काम गर्न सक्ने अवस्था छ । त्यसै गरी अटोमोबाइल तथा प्रविधि सम्बन्धि उद्योगले भेण्टिलेटर उत्पादन गर्न सक्छन् । यो बेलामा आवश्यक्ता अनुसारका उत्पादन स्थानीयस्तरमा नै तयार गर्नु पर्छ । र ‘रियलस्टेट’लाई बढी महत्वमा राख्न हुँदैन जस्तो लाग्छ । अहिले कोभिडले घरबाटै काम गर्न सक्ने अवस्था देखियो भने रियलस्टेटमा अधिक लगानी गरेर त्यो पुर्वाधारमा नै काम गर्नु पर्छ भन्ने त देखिएन नि । अझै धेरै समय हामी सामाजिक दुरी कायम गराउँदै घरमा बसेर काम गर्नु पर्ने देखिन्छ ।
नोटबजारः हामीले पछिल्लो तीन चार दशकमा ‘क्लासिकल इकोनोमिक प्रिन्सीपल’हरुलाई छोडिदिएका थियौं । यसलाई ‘ओल्ड इकोनोमि’ भनिरहेका थियौं । खाद्य क्षेत्रमा पनि हामीले काम गर्न छोडिसकेको र धेरै उद्योगहरु लोप नै भैसकेको अवस्थामा सम्भावना के देख्नु हुन्छ ?
सौरभ ज्योतीः अब हामी कृषिमा त लाग्नै पर्छ । यसको कुनै विकल्प हामीसँग छैन । किनभने हामी आफैंले अर्थतन्त्र सुधार गर्नु पर्ने अवस्था आएको छ । यसका लागि बाहिरबाट कच्चा पदार्थ आयात गर्नु पर्ने अवस्था छैन । राज्यले कृषिलाई प्राथमिकतामा राख्दै आएको अवस्थामा प्याकेज दिने हो भने सबै कुरामा त हैन कम्तीमा अत्यावश्यक सामानहरुमा हामी आत्मनिर्भर हुन सक्छौं । अर्को क्षेत्र उर्जामा त मैले अघि पनि भने हामी राम्रो अवस्थामा पुग्दैछौं ।
तर यहाँ समस्या के छ भने जे सुकै कुरा गरे पनि धेरैजसो उद्योगले अहिले कच्चा पदार्थ आयात गरिरहेको अवस्था छ । तपाईले भनेजस्तै ‘कन्जरभेटिभ म्यानिफ्याक्चरिङ’बाट ‘मुभ अन’ गरेर जुन जुन क्षेत्रमा हामी आत्मनिर्भर हुन्छौं, जस्तैकी उर्जा, डिजिटल इकोनोमी, डिजिटल पेमेण्ट लगायतको सीप र जनशक्ति हामीसँगै छ भने पछि हामी जे कुरामा आत्मनिर्भर छौं त्यो क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्यो । अहिलेको ठूलो आकारको आयातलाई तत्काल नै रोक्न सकिन्न । तर अहिले नेपाल राष्ट्र बैंकले भनिरहेको जसरी अत्यावश्यक वस्तुहरुको वर्गीकरण गरेर त्यसको मात्र आयात गर्दै सामान्य आवश्यक्ताका वस्तुको आयात घटाउँदै जाने गर्नु पर्छ । यस्तो गर्दा सरकारको राजश्व अवस्य नै घट्छ, यसको विकल्प पनि खोज्नु पर्छ ।
नोटबजारः अब त सरकारले पनि ‘रियल इकोनमि’ को पावर बुझ्नु पर्ला र नीति भन्दा कार्यान्वन र कमसे कम सार्क मुलुकमा भएको जस्तो ‘कम्पिटेटिभ’ बातावरण त बनाइ दिनु पर्ला नि ? कस्तो ‘जोइन्ट अप्रोच’को अपेक्षा गर्नु हुन्छ ?
सौरभ ज्योतीः अब के गर्ने त ? उद्योग गर्यो भने गाह्रो छ । धेरै उत्तरदायी भएर धेरै काम गर्नु पर्छ । फेरी नाफा पनि धेरै छैन, सरकारको सहुलियत नदिने नीतिले गर्दा नाफा धेरै नभएको हो । आधारभुत पुर्वाधारको व्यवस्था राज्यले नगरिदिएका कारण पनि लागत बढ्दा नाफा कम भएको हो । व्यापार भयो भने केही सहज हुने मात्र हो । यसबाट हामी आत्मनिर्भर हुनेतिर लाग्नु पर्छ, आयात घटाउँदै ‘भ्यालु एड’ गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै जानु पर्छ । स्वदेशमा उद्योग तथा कल कारखाना सञ्चालनका लागि जग्गा, पुर्वाधार लगायत क्षेत्रमा राज्यले सहुलियत दिने तथा सडक लगायतका अरु पुर्वाधार निर्माण गरिदिने काम राज्यले गर्नै पर्छ ।
अहिले धेरै विशेष आर्थिक क्षेत्रहरु छन्, तर खै नतिजा कतैबाट पनि आएको छैन नि ? यसका लागि पनि राज्यले अब आफ्नो जिम्मेवारी र भुमिकालाई प्रभावकारी बनाउनु पर्छ । श्रम गर्ने जनशक्ति राजनितिबाट मुक्त हुनु पर्यो अनि उचित श्रम गर्ने संस्कारको विकास हुनु पर्यो । यस्ता धेरै विषय छन् जसमा कुराहरु भै पनि रहेका छन् । हरेक पटक मैले भन्ने यो हो कि अब सबै पक्षका बिचमा सहकार्यको कुनै विकल्प छैन । यसमा सरकारले निजी क्षेत्रलाई नजिक राख्नु पर्छ ।
नोटबजारः पछिल्लो समय आयातमुखी प्रणाली बन्दै जाँदा उद्योगहरुलाई समस्या भयो । अहिले तपाईले दिर्घकालिन उपायहरुको कुरा गर्नुभयो । तर सरकारको बुझाई नै अर्कै छ जस्तो देखिन्छ । यसमा निजी क्षेत्रको कुनै कमजोरी होला नि ?
सौरभ ज्योतीः यसमा हाम्रै कमजोरी हो कि, हामीले बुझाउन नसकेको हो कि जस्तो लागेको छ । तर अब ‘पब्लिक सेन्टिमेण्ट’मा पनि उद्योग व्यवसायीप्रतिको नकरात्मक ‘माइनडसेट’लाई परिवर्तन गर्न जरुरी छ । जेसुकै भने पनि अर्थतन्त्र चलाउने, रोजगारी सृजना गर्ने अझ भनौं अर्थतन्त्रको मेरुदण्ड भनेको निजी क्षेत्र अनि उद्योग व्यवसाय नै हो । यो क्षेत्रले नै रोजगारी सृजना गर्ने हो । अब यसको विकल्प पनि छैन । जसरी आजका दिनसम्म लाखौं मानिस बैदेशिक रोजगारीमा गइरहेका थिए, अब त्यो सम्भावना छैन । यो ‘प्यान्डमिक’ले गर्दा धेरै मानिसहरु नेपालमा नै बेरोजगार भएर बस्नु पर्ने भयावह अवस्था आउँदैछ । हामीले मुलुक भित्र रोजगारी सृजना गर्न सकेनौं भने ठुलो समस्या आउँछ । तसर्थ हामीले यहाँ नयाँ उद्योग अनि नयाँ रोजगारी सृजना गर्नु पर्छ । यसका लागि नयाँ सोचका साथै नयाँ शैलीमा काम गर्न अपरिहार्य हुन्छ । तसर्थ विगतमा के भयो भन्ने छोडेर भविष्यका बारेमा सोच्दै राष्ट्रिय आवश्यक्ताको रुपमा अर्थतन्त्र जोगाउनका लागि उद्योग, ‘भ्यालु एडिसन’मा ध्यान दिँदै आन्तरिक उत्पादनलाई बढावा दिँदै व्यापार घाटा घटाउन सरकारले निजी क्षेत्रसँग हातेमालो गर्नै पर्छ ।
अहिले त कोभिड आयो, तर अर्थतन्त्रलाई बचाउन सकिएन भने त्यसको असर दीर्घकालसम्म रहन्छ । अहिले ‘हेल्थ’ महत्वपुर्ण भए पनि भविष्यमा ‘हेल्थ’सँगै ‘हङगर’को विषयलाई झनै प्राथमिकतामा राखिनु पर्छ ।
प्रतिक्रिया