प्रधानमन्त्री र मुख्यमन्त्रीबीच भिडियो कन्फरेन्स मार्फत संवाद

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरूबीच शनिबार बिहान ११:३० देखि अपरान्ह ३:४० बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म भिडियो कन्फरेन्स मार्फत कुराकानी भएको छ।

भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीलाई सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयाशहरूको स्थिति बारेमा जानकारी गराएका थिए।

प्रधानमन्त्रीले यसबीचका प्रयाशहरू सकारात्मक नै रहेको र अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभयो। उहाँले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट गर्नुभयो । सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गर्नुभयो ।

उहाँले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फ्ड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताउनुभयो ।

लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्दै उहाँले जोड दिनुभयो। भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराउनुभयो ।

उहाँले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्नुहुँदै सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पार्नुभयो। साथै, स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताउनुभयो ।

लकडाउनमा प्रशासनिक लापरबाही हुनैभएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले जनतालाई दु ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गर्नुभयो । साथसाथै, सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गर्नुभयो ।