वर्ष २०७६ लाई फर्किएर हेर्दा यस्तो देखियो तथ्याङ्कमा शेयर बजार

0
Shares

कोरोना संक्रमणका कारण नेपाल स्टक स्टक एक्सचेञ्जमा तेह्र कारोबार दिन शेयर कारोबार हुन नपाउँदै वर्ष २०७६ का लागि शेयर कारोबार टुङ्गिएको छ। यस वर्ष नेपाल स्टक एक्सचेञ्जमा कूल २३२ दिन शेयर कारोबार भयो। पहिलो दिन बैशाख २ गते सोमबार वर्षको पहिलो शेयर कारोबार सुरु भएकोमा चैत ९ गते आइतबार वर्षको अन्तिम कारोबार भयो।

वर्षको सुरु दिन अर्थात २०७५ बैशाख २ गते सोमबार नेप्से परिसूचक १ हजार १८४ दशमलव ०२ बिन्दुमा खुला भएकोमा अन्तिम दिन १ हजार २५१ दशमलव ४५ बिन्दुमा बन्द भएको छ। यसबीचमा कूल ६७.४३ अंकले नेप्से बढ्यो।

फागुन १५ गते बिहीबारको नेप्से परिसूचक यो वर्षको उच्च बिन्दु १ हजार ६३२ दशमलव १७ बिन्दुमा पुग्यो भने मंसिर १० गते मंगलबार वर्षकै न्यून बिन्दु अर्थात १ हजार १०९ दशमलव १६ बिन्दुसम्म झर्यो। यसबीचमा नेप्से परिसूचकमा ५२३ दशमलव ०१ बिन्दुको उतारचढाव देखा पर्यो।

  • जार पूँजीकरण हिसाबले पनि यो वर्ष १ खर्ब ३७ अर्बले वृद्धि

बैशाख १ गते बजार खुल्दा १४ खर्ब ६२ अर्ब ५० करोड ७७ लाख रहेकोमा अन्तिम दिन चैत ९ गते आइपुग्दा १६ खर्ब १९ करोड ७२ लाखमा रहेको छ। यसबीचमा १ खर्ब ३७ अर्ब ६८ करोड ९५ लाख रुपैयाँले लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको छ।

कूल बजार पूँजीकरणको हिसाबले फागुन १५ गते वर्षकै सबैभन्दा उच्च बिन्दु अर्थात २० खर्ब ८३ अर्ब ६८ करोड पुग्यो भने मंसिर १० गते सबैभन्दा कम १४ खर्ब ७ अर्ब ३५ करोड ७३ लाखसम्म खुम्चिन पग्यो। यस हिसाबले हेदा ६ खर्ब ७६ अर्ब ३३ करोड बराबरको पूँजीकरणमा उतारचढावको स्थिति रह्यो।

  • शेयर कारोबारमा एकैदिन नेप्सेमा ३ वटा नयाँ कीर्तिमान कायम

पूँजी बजारमा यो वर्ष नै इतिहासमा नै पहिलो पटक एकैदिन सबैभन्दा कारोबार संख्या, कित्ता र धेरै रकमको गरि ३ वटा नयाँ कीर्तिमान शेयर कारोबार भयो। फागुन १८ गते आइतबार एकैदिन ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार हुँदै ऐतिहासिक रेकर्ड कायम भएको हो।

नेप्सेका अनुसार सो दिन ३९ हजार २८९ वटा संख्यामा कारोबार भयो । यो पनि नयाँ रेकर्ड हो । यस्तै यसै दिन १ करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर खरीद बिक्री भएको छ । यो पनि नेपाली पूँजी बजारकै इतिहासमा सबैभन्दा उच्च कित्ताको खरीद बिक्री भएको नेप्सेले जनाएको छ।

सो दिन १६ हजार ७५२ जना लगानीकर्ता कारोबारमा संलग्न रहँदा कूल १ लाख ६४ हजार ४७२ वटा कारोबार आदेश भएकोमा अनलाइनबाट मात्रै २ अर्ब १५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।

शैंपछिको पहिलो कारोबार दिन असोज २३ गते बिहीबार वर्षकै सबैभन्दा कम रकमको शेयर कारोबार भएको थियो। सो दिन १२१ वटा कम्पनीको २ लाख ३२ हजार कित्ता शेयर ६ करोड ३८ लाख रुपैयाँमा खरीद बिक्री भएको थियो।

  • उपसमूहगत परिसूचक: जलविद्युतमा पहिरो चल्दा ब्यपारमा उछाल

यस वर्ष समूहगत परिसूचकका आधारमा भएको घटबढलाई हेर्ने हो भने जलविद्युत, होटल, निजीबन बीमा र म्युचुअल फण्डको इन्डेक्स बैशाखको तुलनामा घटेको छ भने ब्यापार सबैभन्दा धेरै सहित लघुवित्त, उत्पादन, जीबन बीमा, अन्य, विकास बैंक, बैंकिङ्ग, वित्तको सूचकमा बढोत्तरी भएका छन्।

जलविद्युतको परिसूचक १८.०६ प्रतिशतले घटेको छ। बैशाख १ गते ११३८.७४ बिन्दुमा रहेको इन्डेक्स वर्ष अन्त्यमा चैत ३० गते आइपुग्दा २०५.६८ अंक घटेर ९३३.०६ बिन्दुमा झरेको हो। यसैगरि होटलको इन्डेक्स ९.६० प्रतिशत अर्थात १६६.६ अंकले घटेर १५६३.४६ मा, निर्जीबन बीमा ३.०२ प्रतिशत अर्थात १६३.९८ अंक घटेर ५२७१.७५ अंकमा र म्युचुअल फण्डको इक्डेक्स २.३२ प्रतिशत अर्थात ०.२३ अंक घटेर ९.६९ बिन्दुमा झरेको छ।

उता ब्यापारको इन्डेक्स सबैभन्दा धेरै ४६.९६ प्रतिशत अर्थात ५१६.१२ अंकले बढेर ७६३.७२ अंकमा पुगेको छ। बैशाख १ गते ब्यापार सूचक २४७.६० अंकमा मात्र थियो।यसैगरि लघुवित्तको इन्डेक्स सबैभन्दा धेरै ४६.९६, उत्पादन २४.१०, जीबन बीमा १३.४५, अन्य १३.३५ प्रतिशत, विकास बैंक १५.६३, बैंकिङ्ग इन्डेक्स ३.९१ र वित्तको इन्डेक्समा २.९१ प्रतिशतले सुधार भएको छ।

चैत मसान्तसम्म आइपुग्दा बैशाखको तुलनामा बैंकिङ्ग इन्डेक्समा ४१.१४ अंक वृद्धि भई १०९३.२६ मा, विकास बैंक २३१.३१ अंक वृद्धि भई १७११.०१ मा, जीबन बीमा ८०५.६७ अंक बढेर ६७९७.२० मा, वित्त १८ अंक वृद्धि भई ६३६.१२ मा, उत्पादन ४७७.५७ अंक बढेर २४५९.३२मा, लघुवित्त ६५५.१४ अंक बढेर २०५०.३० मा, अन्य ९४.२३ अंक बढेर ७९९.९३ बिन्दुमा यस वर्षका लागि बन्द भएको छ।

प्रकाशित मिति: ३० चैत २०७६, आइतबार  २० : ४६ बजे