शेयर लगानीकर्ताको संख्या साढे १६ लाख बढी

0
Shares

धितोपत्र बजारमा जोडिएका लगानीकर्ताको संख्या साढे १६ लाखभन्दा बढी रहेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तथ्याङ्कमा भेटिएको छ । आव २०७३/७४ सम्म ८ लाख ७१ हजार वटा मात्र डिम्याट खाता खुलेका थिए। तीन वर्षको अन्तरआलमा लगानीकर्ताको संख्या करिब दोब्बरले बढेको हो।

पछिल्लो समय स्थानीय स्तरमा हाइड्रोपावर कम्पनीहरुको शेयर वितरण गर्न शेयर आरक्षण हुन थालेपछि र धितोपत्र बजारमा भएको विस्तारका कारण २०७७ बैशाख १५ गते आइपुग्दा डिम्याट खाता खोल्नेहरुको संख्या १६ लाख ५९ हजार ९१ पुगेको छ। पछिल्लो समयमा शेयर बजारमा पूर्वाधारको विकासले लगानीको संख्या बढेको छ ।

नेपाल धितोपत्र बोर्डले हरेक आवेदकलाई १० कित्ताका दरले शेयर वितरण हुने प्रणाली विकसित भएपछि एक हजार रुपैयाँको सानो रकमबाटै पनि शेयर बजारमा लगानी गर्न सकिने भएकाले लगानीकर्ताको संख्या उच्च देखिएको हो । यसअघि आवेदनका लागि कम्तिमा ५ हजार रुपैयाँ चाहिन्थ्यो।

केन्द्रीय निक्षेप सेवा सञ्चालन गरी शेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गदाएको समयमा १४ लाख रहेको लगानीकर्ताको संख्या त्यसपछिका दिनमा साढे २ लाख बढीले वृद्धि भएको हो। यद्यपि, नेपाल धितोपत्र बोर्डले हरेक नागरिकको डिम्याट खाता खोल्ने नीति तथा कार्यक्रम ल्याएपनि त्यसको पैभावकारी कार्यान्वयनमा ध्यान पुर्याउन नसक्दा डिम्याट खाता खोल्न बाँकी रहेको लगानीकर्ताको संख्या अझै बढी रहेको अनुमान गरिएको छ ।

डिम्याट खाताका आधारमा लगानीकर्ताको संख्या गणना गर्दा सोमबारसम्ममा सिडीएसीले मान्यता प्रदान गरेको ७५ वटा निक्षेप सदस्य मार्फत १६ लाख ५९ हजार ९१ जनाले डिम्याट खाता खोलेका छन् । जसमध्ये केही हजारको संख्यामा दोहोरो खाता अर्थात एकै व्यक्तिले एकभन्दा बढी खाता खोलेको हुनसक्छ।

डिम्याट खाता खोल्ने लगनीकर्ताको संख्या साढे १६ लाख पुगेपनि १० लाखभन्दा धेरै लगानीकर्ताअझैनिष्कृय लगानीकर्ताको रुपमा मात्र देखिन्छन्। नेपालमा निष्काशन भएको सार्वजनिक निष्काशनमा ४ लाख बढी लगानीकर्ताहरुबाट मात्र सक्रिय रुपमा सहभागिता हुँदै आएको पाइन्छ।

सीडीएस एण्ड क्लियरिङले लगानी व्यवस्थापन गर्ने व्यक्तिलाई दुईभन्दा बढी पनि डिम्याट खाता खोल्ने छुट दिएको छ भने एकै व्यक्तिले बढीमा २ वटामात्र डिम्याट खाता खोल्नसक्ने प्रावधान ल्याएको छ।

नेपाल धितोपत्र बोर्डको शेयर बजारको विकास र विस्तार गर्ने तथा सक्दो धेरै लगानीकर्ता बजारमा प्रवेश गराउने नीति अनुसार बजार प्रवेश गर्ने नयाँ लगानीकर्ताहरुलाई आफ्नो लगानीको निर्णय आफैँ गर्न सक्नेगरि प्रशिक्षित गनुपर्ने जानकारहरु बताउँछन्। उनीहरुको तर्क छ पूँजी बजारको नियामक निकायले शेयर बजारमा लगानीकर्ताको संख्यात्मक वृद्धिमात्र नहेरी गुणात्मक वृद्धिलाई पनि ख्याल गर्न जरुरी हुन्छ।

प्रकाशित मिति: १५ वैशाख २०७७, सोमबार  ०८ : २८ बजे