हालसम्म ५८ हजार ८७१ कोरोना परीक्षण सम्पन्न, संक्रमित संख्या ५७ नै

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ५८ हजार ८७१ वटा परीक्षण भैसकेको जनाएको छ।

यसरी परिक्षण भएमध्ये पीसीआर विधिबाट कूल १२ हजार ११ वटा र आरडिटी विधिबाट कूल ४६ हजार ८६० वटा परीक्षण भएका हुन्। गत २४ घण्टामा १ हजार ६८२ वटा नयाँ नमुना परिक्षण भएको हो।

हालसम्म कोभिड १९ बाट संक्रमितहरुको कूल संख्या ५७ रहेको छ। जसमध्ये १६ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने ४१ जना उपचाररत रहेको प्रवक्ताले बताए। संक्रमितमध्ये धनगढीमा १, बीरगञ्जमा ८, भरतपुरमा १ र वीराटनगरामा ३१ जना उपचाररत रहेका छन्। सबै संक्रमितको स्वास्थस्थिति सामान्य रहेको छ।

त्यसैगरी दक्षिण कोरिया र चीनबाट ग्लब्स, थर्मामिटर, माक्स, पिपिइ लगायतका स्वास्थ्य सामग्री आइपुगेको मन्त्रालयका प्रवक्ता देवकोटोले जानकारी दिए। उक्त स्वास्थ्य सामग्री स्वास्थ्य विभागलाई प्रदान गरिएको छ ।

  • मूलुकभर २३ हजार ३२६ जना क्वारिन्टाइनमा, आइसोलेसनमा ८० र रेडजोनमा ३१२ जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म मूलुकभर २३ हजार ३३६ जना क्वारिन्टाइनमा राखिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको नियमित प्रेस ब्रिफिङका सो जानकारी दिएका हुन्।

यसैगरि हालसम्म सम्भावित संक्रमित हुनसक्ने आशंकामा ८० जना आइसोलेसनमा राखिएकोमा छ। तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर ७७ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या गत २४ घण्टामा ४४२ जना रहेको छ। यसरी कूल २९ हजार १३७ जनाले आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गराएका छन्।

गत २४ घण्टामा जनाथप २ वटा गरि कूल ३१२ जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई महाशाखा अन्तर्गत ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको एप्लिकेशन ८२ हजार २७० पटक डाउनलोड भएको छ भने वेवसाइटमा १ लाख ७८ हजार बढीले हालसम्म भिजिट गरेका छन्। मन्त्रालयको एप्लिकेशन र वेवसाइट मार्फत स्वमूल्याङ्कन बाहेक विश्व र नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या हेर्न सकिन्छ। आफ्नो वरिपरि र विदेशबाट फर्किएकाहरुको जानकारी लिन सकिन्छ र कोभिड १९ का बारेमा जनचेतनामूलक सामाग्रीहरु हेर्न पठ्न र सुन्न सकिन्छ।

यसैगरि आफ्नो नजिकमा रहेका कोभिड १९ का लागि अस्पतालहरु, प्रयोगशालाहरुको विवरण र म्याप पनि हेर्न सकिन्छ।

पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झलक गौतमले देशका विभिन्न जिल्लामा दादुराको प्रकोप बढिरहेको बताए। उनले गत पुसदेखि हालसम्म १८५ दादुरा रोगका बिरामी देखिएका जानकारी दिए।

उनका अनुसार झापा, सर्लाही, धादिङ, काठमाडौँ, ललितपुर, चितवन र गोरखामा दादुराका बिरामी देखिएका छन्। जसमा चार महिनादेखि ४० वर्ष उमेर समूहका व्यक्तिमा दादुरा देखिएको छ। स्वास्थ्य प्रशासक गौतमका अनुसार दादुरा रोग देखिएकामध्ये धादिङमा दुई जना बालबालिकाको मृत्यु समेत भएको छ ।

उनले यही वैशाख १७ देखि २३ गतेसम्म प्रकोप देखिएका क्षेत्रमा खोप सञ्चालन गरिसकेको जानकारी दिए। उनले तत्कालको लागि खोपजन्य सामग्रीको अभाव नभएको स्पष्ट पारे। खोपजन्य सामग्री कम्तीमा तीन महिनासम्मलाई पुग्ने हुँदा विभिन्न जिल्लामा स्थानीय तहसँग समन्वय गरेर नियमित रुपमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य प्रशासक गौतमले बताए।

प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीबार  १६ : ५६ बजे