फागुनमा बैंकहरुको नाफा साढे १३% ले बढ्यो, चैतमा लकडाउनले प्रभावित

0
Shares

चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन एक महिनामा वाणिज्य बैंकहरुको नाफा साढे १३ प्रतिशतले बढेको छ । यो नाफा वृद्धिदर माघ महिनाको भन्दा थोरै हो । माघ महिनामा बैंकहरुको नाफा करिब १४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्ममा २७ वाणिज्य बैंकहरुले कूल ४२ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा माघ महिनाको तुलनामा १३.५६ प्रतिशतले धेरै हो । माघ महिनासम्ममा बैंकहरुले कूल ३७ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा गरेका थिए । पुस महिनाको तुलनामा माघमा बैंकहरुको नाफा १४ प्रतिशतले बढेको थियो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसको नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गर्नु भन्दा अघिल्लो महिनाको कार्यसम्पादन भएको हुनाले बैंकहरुको नाफामा असर गरेको देखिँदैन । तर, चैत ११ गते देखि सुरु भएको लकडाउनले सम्पुर्ण अर्थतन्त्र नै प्रभावीत भएको छ । यसको असर बैंकहरुको चैतको विवरणमा देखिनेछ।

बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनामा गरेको नाफा गत आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा भने २८ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको माघसम्ममा बैंकहरुले ३२ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा गरेका थिए। गत आर्थिक वर्षको फागुन महिनामा बैंकहरुको नाफा साढे ७ प्रतिशतले मात्र बढेको थियो ।

बैंकहरुले निक्षेपको व्याजदरमा भद्र सहमती गरेर कर्जाको ब्याजदर नघटाएपछि नाफा बढेको बैंकहरु बताउँछन् । यो अवधिमा बैंकहरुको औषत निक्षेपको ब्याजदर ६.६२ प्रतिशत रहेको छ भने कर्जाको औसत ब्याजदर १२.३२ प्रतिशत रहेको छ ।

चालु आवको फागुन महिनामा सबैभन्दा धेरै नाफा गरेको नबिल बैंकले २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको फागुनको तुलनामा ४.२७ प्रतिशतले थोरै हो। गत आर्थिक वर्षको फागुनमा बैंकले २ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको फागुनसम्ममा एनआइसी एसिया बैंकले २ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले माघ महिनाको तुलनामा फागुनमा करिब ७३ करोड रुपैयाँले नाफा बढाएको छ । तर, गत आर्थिक वर्षको फागुनको तुलनामा भने बैंकको नाफा करिब ७८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको फागुनमा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

त्यसैगरी जनता बैंकलाई गाभेर संयुक्त कारोबार सुरु गरेको ग्लोबल आइएमइ बैंकले यो अवधिमा २ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा सबैभन्दा थोरै सिभिल बैंकले ४५ करोड रुपैयाँ मात्र खुद नाफा गरेको छ ।