कोरोनाको सङ्क्रमणको जोखिम हुन नदिन लकडाउन जारी रहेको छ । यसलाई कोरोनाविरुद्ध लड्ने महत्वपूर्ण हतियार मानिएको छ । विपद्को समयमा सामाजिक दूरी कायम राखेर नियमित काम गर्ने वातावरण मिलाउनेहरु पनि उत्तिकै छन् ।
कास्कीको फेवाताल नजिकैबाट निर्माण भइरहेको केबलकारको निर्माण लकडाउनमा समेत जारी छ । एकाध दिन काम रोकिए पनि सो आयोजनाको काम नियमितजस्तै सञ्चालनमा छ । स्वास्थ्य सुरक्षा र सामाजिक दूरी कायम गरेर निरन्तर काम भइरहेको अन्नपूर्ण केबलकार प्रालिका परामर्शदाता एवं रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल बताउछन् ।
लकडाउनको समयमा समेत स्वास्थ्य सुरक्षाका सम्पूर्ण विधि प्रयोग गरेर श्रमिकलाई काम लगाइएको जानकारी दिँदै उनले विपद्सँग जुध्ने उपयुक्त उपायको खोजीमा सबै लाग्न आग्रह गर्छन् । मन्त्रिपरिषद्को यही वैशाख २४ गते बसेको बैठकले निर्माण क्षेत्रमा सामाजिक दूरी कायम गरेर काम गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । सरकारले स्पष्टरूपमा विकास आयोजनासम्बन्धी काम गर्न पाउने गरी आवश्यक प्रबन्ध गरेको छ ।
त्यसमा राष्ट्रिय गौरवका आयोजनाहरु, सरकारी तथा निजीस्तरबाट सञ्जलविद्युत् आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना, विमानस्थल, सडक तथा पुल, सरकारी भवन निर्माण तथा प्रबलीकरणको काम गर्न पाउने स्पष्ट व्यवस्था गरेको छ । एक स्थानमा एकपटकमा अधिकतम १० (दश) जनामा नबढ्ने गरी सञ्गरिने अन्य शहरी पूर्वाधार विकास निर्माणका कामसमेत गर्न पाइने व्यवस्था पछिल्लो निर्णयमा समावेश छ ।
राष्ट्रिय गौरवलगायत विकास निर्माणका आयोजनामा काम गर्ने श्रमिकलाई सम्बन्धित आयोजनाले दैनिकरूपमा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै एकै स्थानमा आवासको व्यवस्था गर्नुपर्ने, श्रमिकलाई कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउनुपर्ने सरकारको निर्णयमा उल्लेख छ ।
आयोजनास्थलमा स्थान अभाव भएमा स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा निजी विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था गर्ने गरी सरकारले स्पष्ट निर्णय गरेको छ । त्यसका लागि लाग्ने आवश्यक खर्च भने सम्बन्धित निर्माण व्यवसायीले व्यहोर्नुपर्नेछ ।
त्यस्तै ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्रीहरूको उत्पादन, सङ्कलन र ढुवानी, सिमेन्ट उद्योगका लागि खानी सञ्आवश्यक चुनढुङ्गा, कोइला, क्लिङ्करको उत्पादन, सङ्कलन र ढुवानीसम्बन्धी कार्य पनि गर्न सकिने प्रबन्ध गरिएको छ।
सरकारको पछिल्लो निर्णयले केही सहज भए पनि स्थानीय निकायका आफ्नै नियमका कारण केही जटिलता भने पैदा हुने अवस्था छ । कोरोना सङ्क्रमण हुने डरले स्थानीय निकायले सहजै काम गर्न दिने अवस्था तथा बुझाइमा भने केही समस्या भने उत्तिकै रहेको आयोजनाको बुझाइ छ ।
चिलिमे जलविद्यत् कम्पनीको सहायक कम्पनी साञ्जेनले रसुवामा निर्माण गरिरहेको दुई आयोजनाको काम लकडाउनको समयमा जारी नै थियो । सिभिललगायतका निर्माणको काम भए पनि इलेक्ट्रोमेकानिकल तथा अन्य प्राविधिक काममा भने समस्या उस्तै रहेको छ ।
हाल आयोजनामा २५० बढी नेपाली कामदारले काम गरिरहेको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । “सरकारको पछिल्लो निर्णयले कार्यालय सञ्चालनलगायतका विषयमा सहज भएको छ । त्यसलाई थप सहज वातावरण बनाइदिन स्थानीय निकायको पनि थप सक्रियता जरुरी छ ।”
लकडाउनका कारण आयोजनाका काम नियमितजसो नै भए पनि अपेक्षित भने रहेको छैन । आयोजनास्थलमा पठाइएका कामदार तथा कर्मचारीले अनिवार्यरूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । कोरोनाका कारण आयोजना निर्माणको काम झण्डै छ महिना पर धकेलिने अवस्था सिर्जना भएको छ ।
कम्पनीले दुई आयोजना निर्माण गरिरहेको छ । कूल ४२.५ मेगावाट क्षमताको साञ्जेन र १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन निर्माण गरिरहेको र आयोजनाको भौतिक प्रगति समग्रमा ८० प्रतिशतको हाराहारीमा रहेको छ । नेपाली कामदारले काम नियमित गरिरहेको भए पनि चिनियाँ कामदार आउन नसक्दा मेसिन जडानलगायतका काम भने अगाडि बढ्न सकेको छैन ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार निर्माण सामग्रीको आयातमा भने कुनै समस्या हालसम्म देखिएको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक सहजीकरण गरेका कारण समस्या नभएको उनको भनाइ छ । रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको १११ मेगावाट क्षमताको रसुवागढीमा पनि काम जारी नै छ । भौतिक निर्माणको काम भइरहेको भए पनि मेसिन तथा अन्य काममा भने समस्या देखिएको छ ।
उता राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशीको काम पनि लकडाउनमा जारी छ । सरकारको पछिल्लो निर्णयले केही सहजता थपिने आयोजनाले विश्वास लिएको छ । सो आयोजनाको कूल भौतिक प्रगति ९९.४ प्रतिशत पुगेको छ । सबैभन्दा जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान र अन्य भौतिक निर्माणको कामसमेत भइरहेको छ । यस्तै अन्य आयोजनामा पनि काम जारी छ ।
प्रतिक्रिया