सान्जेनको निमार्ण अवधि र लागत अझै बढ्ने, घाटा करोड नाघ्यो

0
Shares

निकै सुस्त गतिमा निमार्ण भइरहेको सान्जेन जलविद्युत आयोजनको निमार्ण कार्य कोभिड १९ को असरले थप प्रभावति हुने देखिएको छ। जसले गर्दा कम्पनीको निमार्ण अवधिका साथै लागत समेत बढ्दा घाटा झनै चुलिने निश्चित छ ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटा बढेर करोड नाघेको छ । चैत मसान्तसम्म कम्पनी एक करोड ५ लाख रुपैयाँ घाटामा पुगेको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनी ६८ लाख १ हजार घाटामा थियो ।

आयोजनको निमार्ण अवधि लम्बिदै जाँदा घाटा बढ्न पुगेको हो । कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

कम्पनीका अनुसार हालसम्म माथिल्लो सान्जेनको ८७ प्रतिशत तथा सान्जेनको ७८ प्रतिशत भौतिक प्रगति भएको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीका अनुसार माथिल्लो सान्जेनको २०७७ असारसम्म र सान्जेनको आर्थिक बर्ष ०७७/०७८ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । पहिलो त्रैमासको तुलनामा दुवै कम्पनीको निमार्ण प्रगति दुई प्रतिशतले मात्र सुधार भएको देखिन्छ ।

विश्वव्यापी कोभिड महामहारीको प्रभावका कारण निर्धारित समयमा आयोजन पुरा नहुने र लागत समेत बढ्ने कम्पनीको विवरणमा उल्लेख छ। लकडाउनका कारण ठेकेदारहरुले आवश्यक मेशिन तथा जनशक्ति आयोजना निमार्ण स्थलमा ल्याउन नसक्दा निमार्ण अवधि लम्बने निश्चित देखिएको छ।

सान्जेनको निमार्ण अवधिको ब्याज बाहेक ५ अर्ब २ करोड र माथिल्लो सान्जेनको २ अर्ब २१ करोड लागत अनुमान गरिएको छ । ब्याज सहित दुई आयोजनाको लागत झण्डै नौ अर्ब पुग्ने देखिन्छ । कम्पनीले सर्वधारणलाई शेयर बेचेर ५४ करोड ७५ लाख रुपैयाँ संकलन गरेको थियो।

चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको ३ अर्ब ९२ करोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ। जगेडाकोष पनि ९ करोड ५४ लाख ऋणात्मक छ। यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ५४ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५८ पैसा ऋणात्मक छ। अघिल्लो आवमा उसको प्रतिशेयर आम्दानी १३ पैसा ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा छ।