प्रयास गर्न खोजिए पनि बजेटमा अपेक्षित सम्बोधन भएन : पशुपति मुरारका


नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र धेरै उत्साहित बन्न नसक्ने बताएका छन् । नोटबजारसँगको कुराकानीमा उनले बजेट मार्फत घोषणा गरिएको रोजगारी श्रृजना गर्ने विषयमा धेरै गृहकार्य गर्नु पर्ने बताएका हुन । कुराकानीमा आधारित मुरारकाको बिचार :

समग्र अर्थतन्त्र सुधार गर्नका लागि चालिनु पर्ने कदमलाई हेर्ने हो भने धेरै क्षेत्रमा सम्बोधन गर्ने प्रयास भएको छ । तर यसबाट लगानी बढ्ला वा उद्योगी व्यवसायीले केही राहत पाउलान भन्ने देखिएन । समग्रमा हामीले सोचेको जस्तो सम्बोधन चैं कुनै क्षेत्रमा भएको छैन । उद्योग व्यवसायको क्षेत्रमा पनि अर्थमन्त्रीको सम्बोधनले उत्साहित हुनु पर्ने अवस्था देख्दिन ।

‘इकोनोमी’मा ‘मनी पम्प’ गरेको देखिएन । साना उद्योगहरुलाई राहत तथा सहज हुने किसिमको सम्बोधन गर्न खोजेको चैं देखियो । यद्यपी कर्जालाई नै राहत भन्न त मिलेन नि हैन ? रिफाइनान्सिङको कुरा गर्नु भएको छ अर्थमन्त्रीले तर यसले नै उद्योग कलकारखाना सञ्चालनमा सहजता आउँछ भन्न सक्ने अवस्था छैन ।

जसरी आन्तरिक रुपमा नै रोजगारीका अवसरहरु दिने भनिएको छ, यो सहज छैन । कसरी र कुन मोडालिटीमा काम गर्दा रोजगारी श्रृजना हुन्छ भन्ने विषयमा अब गरिने गृहकार्यले मात्र नतिजा देखाउँछ । हामी पनि अहिले असहज परिस्थितमा छौं, नयाँ रोजगारीलाई एक तहमा चुनातीका रुपमा देखिरहेका छौं । यो अवस्थामा पूर्ण रुपमा आशावादी हुन चैं सकिन्न ।

करका दरहरुमा केही कुरा उठेका छन् । तर बिस्तृतमा यो विषयमा गरिएका सम्बोधन मात्र नभई यसका अनुसूची नहेरी त्यसको असर आँकलन गर्न सकिन्न । उत्साहित बन्नु पर्ने किसिमले करका दरमा सम्बोधन भएको छ जस्तो पनि लागेको छैन । राहतका नाममा ५ प्रतिशतको विषयले खासै असर राख्दैन होला, किनकी उद्योगहरु लामो समयसम्म ‘बर्डेन’ मा रहि रहन्छन् । त्यसैले पहल गरे पनि उत्साहित हुन सकिन्न ।

विद्युतमा गरिएको घोषणाको खास अर्थ रहन्न । अहिले नै रातीको विद्युत खपतको बिलिङ आजको सम्बोधनको नजिक छ ।

समग्रमा भन्नु पर्दा सम्बोधनका प्रयासहरुलाई सकरात्मक मान्नु पर्छ, तर विगत वर्षमा पनि यस्ता कार्यक्रम घोषणा नभएका हैनन् । त्यसैले कार्यान्वायन कति हुन्छ हेर्दै जाउँ ।