शेयर बजार खुलाउने प्रयासमा धितोपत्र बोर्ड

0
Shares

नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई पुनः सुचारु गराउन छलफल सुरु गरेको छ। सरकारले अर्थतन्त्र चलायमान बनाउने निर्णय गरेसंगै पूँजी बजारलाई पनि अब बन्द राख्न नहुने भन्दै धितोपत्र बोर्डले सम्बन्धित पक्षहरुरसंग छलफल सुरु गरेको हो ।

गत चैत ११ देखि बन्द रहेको धितोपत्र बजार विचमा २ दिन नयाँ कारोबार संयन्त्र सहित खुलेको थियो । धितोपत्र बजार खुल्दा लगानीकर्ताको चर्को विरोध तथा कोरोना भाइरसको संक्रमण वढ्दो क्रममा रहेको हुनाले पुन बन्द भएको थियोे । बैशाख महिनाको अन्तिममा २ दिन खुलेर पुन बन्द भएको बजार अझै पनि बन्द रहेको हुनाले अव धेरै दिन बन्द राख्न नहुने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुङगानाले बताए ।

धितोपत्र बजारलाइ पुन सुचारु गराउनका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से), केन्द्रीय निक्षेप सेवा, धितोपत्र ब्रोकर, लगानीकर्ता लगायत सम्बद्ध पक्षहरुसंग छलफल भैरहेको ढुङगानाले बताए । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि धितोपत्र बजारलाइ धेरै लामो समय बन्द राख्नु नहुने बताउदै गर्दा बोर्ड अध्यक्षले बजार खुलाउन आवश्यक गृहकार्यमा भईरहेको बताएका हुन ।

कोरोना भाइरसका कारण नेपालको मात्र नभै विश्व शेयर बजारमा पनि उच्च अंकको गिरावट आएको बताउदै उनले नेपालमा कोरोना संक्रमण वढ्दै गएको भएपनि सरकारको निर्णय अनुसार आफुहरुले काम गर्ने ढुङगानाको भनाइ छ । बहुमत लगानीकर्ता अनलाइन कारोबारमा आवद्ध नभएकाले बजार बन्द गरेको बताउदै उनले भने,“यो अवस्थालाई धेरै लामो समयसम्म लैजान नहुनेमा बोर्ड सचेत छ । आगामी दिनमा कसरी कारोबार गर्ने भन्नेमा हामी छलफल गरीरहेका छौ ।”

चालु आर्थिक वर्षको बैंशाखसम्ममा धितोपत्रको प्राथमीक बजारमा हकप्रद, ऋणपत्र तथा समुहिक लगानी कोष गरी कुल ३० संस्थाको ३० अर्ब ७९ करोड रुपैयाँ बरावरको धितोपत्र निष्कासन गरी पूँजी परिचालन भएको उनले जानकारी दिए।

धितोपत्रको दोस्रो बजारमा एक खर्ब ३८ अर्ब ८१ करोडको कारोबार भएको समेत उनले जानकारी दिए । यो अवधिमा नेप्सेको कुल बजार पूँजीकरण १५ खर्ब ३६ अर्ब ४२ करोड कायम रहेको बताउदै उनले कुल निक्षेप खाता संख्या १६ लाख ६० हजार पुगेको समेत जानकारी दिए । निक्षेप खाता संख्याको आधारमा धितोपत्र बजारमा सहभागी लगानीकर्ताको संख्या कुल जनसंख्याको ५.४ प्रतिशत पुगेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको १० महिनामा धितोपत्र बजारवाट मात्र पूँजीगगत लाभ कर ८८ करोड ८३ लाख रुपैयाँ राजस्व सकलन भएको उनले बताए ।

कोरोना प्रभाव सुरु हुन भन्दा अघि धितोपत्र बजार सुधारको गतिमा थियो । यस अघि धितोपत्रको बार्षिक कारोबार लगभग एक सय १० अर्ब मात्र रहेकोमा चालु आर्थिक वर्षको १० महिनामा नै एक सय ३१ अर्बको शेयर कारोबार भएको उनले बताए । त्यस्तै धितोपत्र बजारको दैनिक औसत कारोबार गत आर्थिक वर्षमा ४४ करोड रुपैयाँ रहेकोमा चालु आवको औसत दैनिक कारोबार रकम ८८ करोड रुपैयाँ पुगेको छ ।

दोस्रो बजारको पहुँच समेत विस्तार गरी लगानीकर्ताको निक्षेप खाता र बैंक खाता इन्टिग्रेट गर्ने तथा धितोपत्र दलालको आधिकारीक प्रतिनिधि मार्फत धितोपत्र बजार विस्तार गर्ने सोचमा धितोपत्र बोर्ड रहेको समेत उनी बताउछन । लगानीकर्ता प्रशिक्षण कार्यक्रमलाई संस्थागत गर्ने उद्देश्यले धितोपत्र बजार तथा बस्तु विनिमय बजारका लगानीकर्ता प्रशिक्षणका लागि लगानीकर्ता प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नका लागि बोर्डले अध्ययन समेत सुरु गरेको जानकारी उनले दिए । बोर्डले सञ्चालन गर्दै आएको लगानीकर्ता शिक्षा रेडियो कार्यक्रमलाई समेत परिस्कृत गरेर लैजाने उनले बताए ।

आगामी दिनमा धितोपत्र बजार मार्फत कृषि उपजको कारोबार तथा मूल्य निर्धारण तथा जोखिम व्यवस्थापनाको माध्यम बनेको बस्तु विनिमय बजारको महत्व वढ्दै समेत उनको भनाइ छ । आगामी वर्षमा धितोपत्र बजार र बस्तु विनिमय बजारलाइ अन्तरािष्ट्रय स्तरको बनाउने समेत उनले जिकीर गरे ।