विद्युतीय भुक्तानीको सीमा बैंकहरुले नै तोक्न पाउनुपर्ने

0
Shares

नेपाल बैंकर्स संघले विद्युतीय माध्यमबाट हुने कारोवारलाई बृद्धि गर्नका लागि नगद कारोवारको सीमा थप घटाउन माग गरेको छ ।

साथै संघले विद्युतीय भुक्तानीको सीमा बैंकहरुले नै तोक्न सक्ने नीतिगत व्यवस्था गर्न माग गरेको छ।

बैंकर्स संघले आगामी मौद्रिक नीति बारे राष्ट्र बैंकमा सुझाब पेस गर्दै विद्युतीय कारोबारलाई व्यवस्थित तथा सुरक्षित वनाउनका लागि न्युनतम अपनाउनु पर्ने सुरक्षा मापदण्ड तोकी वैंक तथा वित्तीय सस्थाहरुको डिजिटल विजनेश ग्रोथका आधारभुत मापदण्ड निर्धारण र वित्तीय क्षेत्रमा प्रत्यक्ष संलग्न भएका मर्चेन्ट, वालेट, एजेन्ट्स, भेन्डर लगायतको सुपरिवेक्षण, अनुगमन र निरीक्षण सम्बन्धमा समेत स्पष्ट व्यवस्था गर्न आग्रह गरेको छ ।

यस्तै, हालको परिस्थितीलाई मध्यनजर गर्दै एउटा निश्चित सीमा तोकी अनलाइन खाता खोल्न मिल्ने व्यवस्था भए तापनि केवासी पुरा गर्न बैंकमा आउनुपर्ने भएकोले अनलाइन केवासी अपडेट गर्न भिडियो कल मार्फत् आफ्नो विवरणहरु अद्यावधिक गर्न सक्ने व्यवस्था गर्न सकिने व्यवस्था गर्न पनि सुझाब दिएको छ ।

यसैगरी हाल प्रक्रिया शुरु गरिएको नेशनल पेमेन्ट स्वीचको कार्यलाई एक निश्चित समयावधी तोकेर संचालनमा ल्याउन समोन खुद्रा तथा किराना व्यवसायसँगै सम्पूर्ण सरकारी कारोवार तथा भुक्तानीहरु समेट्न सहज हुने बैंकर्स संघको भनाई छ।

संघले प्रबिधिको विकास सँग–सँगै बंैिकङ्ग कारोवारको समेत समय सापेक्ष विकासका निमित्त क्यू आर कोड मार्फत् भुक्तानी गर्न प्रोत्साहित गर्नका लागि थप पूर्वाधार÷व्यवस्था लागु गरिनु उपयुक्त हुने सुझाब दिएको छ । हालका लागि क्यू आर कोड मार्फत् भुक्तानी लिन साना÷घुम्ती व्यापारीहरुलाई प्यान अनिवार्य नगर्ने व्यवस्था भएमा यसको प्रयोग बढ्न सक्ने सुझाब संघको छ ।

साथै, अन्तर्राष्ट्रिय सेवा प्रदायक भिसा, मास्टर कार्ड, युनियन पेहरुले लिने शुल्क कम गर्नका निमित्त नेपाल राष्ट्र बैंकबाट आवश्यक पहल भएमा यी सेवा प्रदायकलाई मुलुकबाट शुल्क वापत बाहिरिने खर्च कम हुने बैकर्स संघको सुझाब छ ।

  • हाल कति छ विद्युतीय भुक्तानी सीमा

नेपाल राष्ट्र बैंकले पछिल्लो समय गत चैत ९ गतेदेखि विद्युतीय भुक्तानीको सीमा बढाएको थियो ।

जसअनुसार मोवाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा १ दिनको सीमा १ लाख र महिनाको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने व्यवस्था भएको थियो।

यस्तै इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइन्छ।

यस्तै एजेन्ट वा सव एजेन्टबाट दैनिक २५ हजार र मासिक एक लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ।

यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यस्तै वालेटबाट बैंकमा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्ता राष्ट्र बैंकले गरेको थियो।