साँवा, ब्याज भुक्तानी गर्ने अवधि बढाई असारमै मौद्रिक नीति जारी गर्न माग

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले बैंक/वित्तीय संस्थाहरूलाई बुझाउनु पर्ने साँवा, ब्याज भुक्तानी गर्ने समयावधि बढाएर असार मसान्तभित्रै मौद्रिक नीति सार्वजनिक गर्न आग्रह गरेको छ।

कोरोनाको कारण झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहेको र उक्त समयमा मुलकभित्र अत्यावश्यक वाहेक सम्पूण उद्योग व्यवसाय ठप्प रहेको भन्दै महासंघले असारमसान्तमा बैंकको साँवा ब्याज तिर्न नसकिने बताएको छ ।

लकडाउनको कारण समग्रमा अर्थतन्त्र चलायमान बन्न नसक्दा यससंग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम जनताको दैनिक जीवनयापन समेत अत्यन्त कठिन बन्दै गएको महासंघको भनाई छ ।

बैंक तथा वित्तिय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरीरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू यस्तो विषम परिस्थितिका कारण यतिखेर गम्भीर संकटमा परेको महासंघले बताएको छ । उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तिय संस्थाहरूको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको र पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भैरहेको छ भन्दै महासंघले गम्भिर ध्यानकर्षण गराएको छ।

इतिहासमै अत्यन्त कम मात्र देखापर्ने यस प्रकारको कठिनतम घडीमा अर्थतन्त्रका महत्वपूर्ण आधार उद्योग व्यवसाय बचाउनु राज्यको प्रमुख दायित्व भएकाले २०७६ चैत्रदेखि सबै उद्योग व्यवसायले वित्तिय संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकुल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनरसंरचना र पुनर्तालिकिकरण गर्न राष्ट्र बैंक समक्ष गरेको छ । साथै आगामी आर्थिक वर्षको मौद्रिक नीति यही असार मसान्तसम्म ल्याउन पनि महासंघ राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गर्दछ । महासंघको विज्ञीप्तिमा भनिएको छ ।

आजको जटिल परिस्थितिलाई मनन गरी उद्योग व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जान सक्ने हुंदा महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदै निजी क्षेत्रको आवाजलाई समयमै संवोधन गर्न महासंघले जोडदार माग गरेको छ ।