सुन एक वर्षमै तोलामा २८ हजारले बढ्यो, किन बढ्दैछ भाउ ?

0
Shares

विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सुनचाँदीको भाउमा निरन्तर वृद्धि भैरहेको छ। सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बन्न थालेपछि स्वदेशी सुन बजार सुनसान देखिएको छ । बजारमा सुनको माग नरहेको महासंघले बताएको छ । किन्नेभन्दा पनि बेच्ने उद्देश्यले मानिस आउने गरेको व्यवसायीको भनाइ छ ।

सुन सुरक्षित लगानी भएकै कारण लगानीकर्ता यसतर्फ आकर्षित छन् । माग बढेपछि सुनको मूल्य निरन्तर उकालो लागेको छ । सेयरका लगानीकर्ताले पनि सुन खरिद गरी सञ्चय गर्न थालेका छन् ।

लकडाउन पश्चात मात्रै सुनको भाउ तोलामा १५ हजार ८०० रुपैयाँले बढीसकेको छ। लकडाउन अघि चैत १० गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ असार ३१ गते आइपुग्दा ९२ हजार ८०० रुपैयाँ पुगेको हो।

विश्वमा सुनको भाउ विस्तारै उकालो लाग्न थालेको छ । नेपालको सुन बजारमा २०६९ सालमा ६३ हजार ७०० सबैभन्दा महँगो भाउमा कारोबार भई रेकर्ड कायम भएकोमा २०७६ सालको फाल्गुण २७ गते फेरि ८२ हजार ७०० रुपैयाँको भाउमा पुगेर अर्को नयाँ रिकर्ड कायम गर्यो । यही समयमा अन्तर्राष्ट्रिय बजारको सुनको भाउ बढेर १ हजार ७८३ डलरसम्म पुगेको छ भने डलरको नेपाली मुद्राको विनिमय दर पनि १२० रुपैयाँ भन्दा माथी पुगेर नेपाली सुनबजारमा सुनको भाउ ९२ हजार ८०० को भाउमा पुगेको छ । यो नेपालको सुनको भाउको इतिहासमा नै सबैभन्दा बढी सुनको भाउ हो ।

एक वर्षअघि आजकै दिन सुनको भाउ प्रतितोला ६४ हजार ५०० रुपैयाँ थियो । त्यस बेला कारोबार सन्तोषजनक थियो । अहिले भने कारोबार निराशजनक रहेको महासंघको दाबी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यका अनुसार सुनको मूल्य बढ्नुमा विभिन्न कारणहरु देखा परेका छन्। जसमा सबैभन्दा महत्वपूर्ण कारण भनेको अमेरिकी फेडरल बैंकले ब्याजदरलाई ०.२५ प्रतिशतमा झार्नु हो।

फेडरल रिजर्भ बैंक अफ अमेरिकाले हालै क्रमशः ब्याजदरमा कटौती गर्दै ल्याएर लगभग ०.२५ प्रतिशतमा झारी सकेको छ। यसबाट बैंकमा पैसा जम्मा गर्दा ब्याज नपाउने हुन गएको छ र यसले पनि उपभोगमा वा सुनचाँदी जस्ता बहुमूल्य धातुहरुको मूल्यमा वृद्धि गर्ने उनले बताए।

आधुनिक बैंकिंगको नियमन र विश्वको मौद्रिक ब्यवस्थालाई ब्यवस्थित गर्न प्रमुख २८ वटा देशहरुको अगुवाईमा बासेल समितिले विश्वका रिजर्भ बैंकहरुले आ-आफ्नो ढुकुटीमा बिभिन्न Tier 1, Tier 2, Tier 3 खण्ड गरि विभिन्न विदेशी मुद्रा, बण्डहरु, सेक्युरिटिहरु, सुन लगायतका सम्पत्तिहरु राख्नुपर्ने ब्यवस्थामा सन् २०१९ को सेप्टेम्बर देखि डलर र बण्डलाई तेश्रो खण्डमा लगी त्यसकोे सट्टामा पहिलो खण्डमा सुन नै राख्नुपर्ने ब्यवस्था लागू गरेको छ । यसले पनि सुनको मूल्यमा वृद्धि गराएको छ।

Tier 1 मा अमेरिकी डलर, बण्ड लगायतका सम्पत्ति रहेकोमा अमेरिकाको ऋण २३ ट्रिलियन डलर भन्दा बढी भईसकेको र फियट करेन्सी (Fiat currency) को रुपमा अमेरिकी डलरको अत्यधिक छपाई भएकोले विश्वसनीयतामा कमी आउँदै गएकोले पहिलो खण्डमा रहेको डलर र अमेरिकी बण्डलाई तेश्रो खण्डमा लगिएको हो।

सन् २०२२ को जनवरी १ सम्ममा अनिवार्य सबै देशका रिजर्भ बैंकहरुले लागू गर्नुपर्ने भएकाले विभिन्न देशहरुका रिजर्भ बैंकहरुले धमाधम सुन खरिद गरि आआफ्नो ढुकुटीमा सुनको मौज्दात बढाउँदै लैजाँदा समेत सुनको भाउमा वृद्धि भैरहेको उनले बताए।

गत वर्षमा मात्र विभिन्न देशहरुका रिजर्भ बैंकहरुले ६५० टन भन्दा बढी सुनको खरिद गरेका छन् । युरोपका धेरैवटा देशहरुले सुन खरिद गरेका छन् भने एसियाका पनि रुस, चीन, भारत, ईरान लगायतका बिभिन्न देशका रिजर्भ बैंकहरुले सुनको मौज्दात बढाएका छन् ।

शाक्यका अनुसार मुद्रा प्रणालीमा आएको परिवर्तनका कारण पनि सुनको भाउ वृद्धिमा सघाउ पुगेको छ। यस्तै नेपाल सरकारले बजेटले प्रतितोला २ हजार ३०० रुपैयाँ भन्सार शुल्क बढाएकाले मूल्यमा त्यसको पनि असर परेको छ।

यता विश्व सुनको बजारमा भाउमा वृद्धि हुनु अनि नेपाली रुपैयाँ पनि कमजोर हुँदै जाँदा पनि नेपाली सुनको बजारमा चौतर्फी दबाब परेको छ । त्यसैको कारणले अहिले नेपाली सुनको बजारमा सुनको भाउ क्रमशः उकालो लाग्दै छ ।

सुनको भाउमा वृद्धि भएसँगै औसतमा दैनिक सुनको माग ५ केजीभन्दा तल झरेको छ। भाउमा वृद्धिसँगै अर्थशास्त्रीहरु अवैध सुन कारोबार बढ्नसक्ने खतरा औंल्याउँछन्। यसअघि पनि सुनको भाउ बढेको बेला भन्सार छलेर सुन ल्याउने र सुनको खरिद बिक्रीमा अपारदर्शिता बढ्ने गरेको उदाहरणहरू देखिने गरेको छ। बजारमा अभाव भएका बेला सुन पक्रिएको खबर आउने गरेको थियो।