काठमाण्डौं इञ्जिनियरिङ कलेज समुहको प्रवेश पछि यसरी व्युतियो नेपाल फाइनान्स, ५ वर्ष पछि व्यवसायिक कारोबार


नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्थाको सूचीबाट हटाए पछि नेपाल फाइनान्सले बिहीबारदेखि व्यवसायिक कारोबार सुरु गरेको छ । काठमाण्डौं इञ्जिनियरिङ कलेज समुहका साथै स्थानीय व्यवसायीको इन्ट्रीसँगै फाइनान्स समस्याग्रस्तबाट मुक्त भएको थियो ।

यस अघि समस्याग्रस्त जनरल फाइनान्सको व्यवस्थापनमा प्रवेश गरेर बेष्ट फाइनान्सका नाममा व्यवसायिक कारोबार गराएका उद्धव राज थपलियाको नेतृत्वमा अहिले नेपाल फाइनान्स व्युँतिएको हो ।

नोटबजारसँग कुरा गर्दै नेपाल फाइनान्सलाई व्युँताएका प्रमुख कार्यकारी अधिकृत उद्धव राज थपलियाले संस्थालाई सबल बनाएर अघि बढाउने बताए ।

‘काठमाण्डौं इञ्जिनियरिङ कलेज समुहका साथै स्थानीय व्यवसायीहरुको लगानीमा नेपाल फाइनान्सलाई समस्याग्रस्तबाट फुकुवा गरी आजदेखि व्यवसायिक कारोबार सुरु गरेका छौं’ प्रमुख कार्यकारी अधिकृत थपलियाले भने ।

यस अघि समस्याग्रस्त जनरल फाइनान्सलाई व्युँताएर बेष्ट फाइनान्सका नाममा सेवा सुरु गराउँदा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थपलियाले मेहनत गरेका थिए । त्यसै अनुभवका आधारमा अहिले नेपाल फाइनान्सलाई अघि बढाउन सहज भएको उनले बताए ।

नेपाल राष्ट्र बैंकले २०७१ मंसिर १७ गते समस्याग्रस्त संस्था घोषणा गरेको फाइनान्सलाई ५ वर्ष पछि २०७६ मंसिर २० गते समस्याग्रस्त संस्थाबाट फुकुवा गरेको थियो ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यही मंसिर २० गते फाइनान्सलाई समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेको थियो ।

नेपाल फाइनान्सलाई राष्ट्र बैंकले २०७१ मंसिर १७ गते नै ६ महिनाभित्र तोकिएका वित्तीय सूचकलाई नियम अनुसार कायम गर्न भनेको थियो । तर, राष्ट्र बैंकको निर्देशन अनुसारका काम गर्न ६ महिनामा गर्न नसके पछि समस्या ग्रस्त संस्थाबाट मुक्त हुन फाइनान्सलाई ५ वर्ष लागेको हो । नयाँ लगानीकर्ताको प्रवेश पछि मात्र फाइनान्स समस्याग्रस्तबाट मुक्त भएको हो ।

फाइनान्सको २०७० पुस मसान्तसको अपरिष्कृत वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन अनुसार समस्याग्रस्त घोषणा गरेको थियो ।

२०७० असार मसान्तसम्म २२ करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउनु पर्नेमा १३ करोड ५८ लाख मात्र पूँजी कायम गरेको फाइनान्सको संस्थापक एवम विगतमा लामो समयसम्म कार्यकारी प्रमूख रहेका रविचन्द्र प्रधान र उनको परिवार र सम्बन्धीत व्यक्ति तथा संस्थाको नाममा ३६ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व छ ।

संस्थाले एउटै ग्राहक, फर्म, कम्पनी, वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समुहरुलाइ राष्ट्र बैंकको निर्देशन विपरीत प्राथमिक पूँजीको २५ प्रतिशत भदा वढी कर्जा प्रबाह गरेको समेत केन्द्रीय बैंकको स्थलगत निरीक्षणमा भेटिएको थियो ।

समस्याग्रस्तबाट फुकुवा भएर व्यवसायिक कारोबार सुरु गरेसँगै फाइनान्सले व्याजदर समेत सार्वजनिक गरेको छ । काठमाण्डौंको कमलादीमा मुख्य कार्यालय रहेको फाइनान्सले साधारण बचततर्फ ८ वटा निक्षेप योजनामा ८ देखि ८.७५ प्रतिशतसम्म व्याज दिने भएको छ ।

त्यसै गरी मुद्धती निक्षेपमा तीन महिनादेखि एक वर्षसम्मको अवधिमा ९ देखि १०.२५ प्रतिशत व्याज दिने बताएको फाइनान्सले एक वर्षभन्दा बढी अवधिको निक्षेपमा १०.५ प्रतिशत व्याज दिनेछ ।

कर्जातर्फ फाइनान्सले आधार दरमा ५ प्रतिशत मात्र प्रिमियम थप गरी ऋण उपलब्ध गराउने जनाएको छ । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत थपलियाले अन्तिम आधार दर निक्यौल भैनसकेको जनाउँदै बढीमा ११ प्रतिसम्म पुग्न सक्ने बताए । उनका अनुसार १५ प्रतिशत व्याजदरमा कर्जा परिचालन गर्न फाइनान्स सक्षम हुनेछ । यो व्याजदर बढीमा १६ प्रतिशतसम्म उक्लिन सक्ने उनको भनाई छ ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार  ११ : २६ बजे