जुकरवर्गको वार्षिक सुरक्षा खर्च ६० प्रतिशतले बढ्यो


फेसबुकका प्रमूख कार्यकारी अधिकृत मार्क जुकरबर्गको सुरक्षा खर्च ६० प्रतिशतले वढेर गत वर्ष २ करोड २६ लाख डलर पुगेको छ । करिब २ करोड डलर जुकरबर्ग र उनको परिवारको सुरक्षामाथि र २६ लाख डलर प्राइभेट जेट प्रयोग गर्नका लागि खर्च भएको जनाइएको छ ।

कम्पनीले रेगुलेटरी फाइलिङमा सन् २०१८ मा जुकरबर्गको सुरक्षा खर्च २ करोड २६ लाख डलर पुगेको जनाएको हो । यो रकम सन् २०१६ मा उनले पाएको रकमभन्दा ४ गुणा धेरै हो । गतवर्ष फेसबुक विभिन्न मुद्दामा मुछिएसँगै जुकरबर्गको सुरक्षा खर्च बढेको हो ।

सन् २०१७ मा जुकरवर्गको सुरक्षा खर्च ९० लाख डलर मात्र थियो । एक वर्षमा उक्त खर्च ६० प्रतिशतले बढेको हो । गतवर्ष जुकरबर्गको सुरक्षा खर्च सबैजसो क्षेत्रमा बढेको थियो । सन् २०१८ मा उनले व्यक्तिगत सुरक्षाका लागि १ करोड डलर पाएका थिए । यस वर्ष भने १ करोड डलर व्यक्तिगत सुरक्षाका लागि छुट्याइएको छ । यसबाट जुकरवर्ग र उनको परिवारको व्यक्तिगत सुरक्षाका लागि खर्च हुनेछ । यद्यपी जुकरबर्गले वार्षिक तलबको रुपमा ३ वर्षसम्म केबल १ डलर मात्र लिदैँ आइरहेका छन् । एजेन्सी