लक्ष्य निर्धारण गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन


नेपाल राष्ट्र बैंकले बार्षिक लक्ष्य निर्धारण गरी सहुलियतपूर्ण कर्जा प्रभावकारी रुपमा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । व्याज अनुदान सम्बन्धी कार्यविधि कार्यान्वयनलाई थप प्रभावकारी बनाउन केन्द्रय बैंकले बैंक तथा वीत्तीय संस्थाको नाममा यस्तो निर्देशन जारी गरेको हो ।

सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकको बैंक तथा वीत्तीय संस्था निनयमन विभागले यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले गत असोजमा नै परिपत्र गर्दै सरकारले चालु आर्थिक बर्षको बजेटमा गरेको व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिका आधारमा योग्य र इच्छुक सर्वसाधारणलाई तत्काल कर्जा उपलब्ध गराउन भनेको भए पनि बैंकहरुले अहिलेसम्म नतिजाउन्मुख काम गरेका छैनन् ।

महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, भूकम्प पीडितहरुको निजी घर निर्माण र व्यावसायिक कृषि तथा पशुपञ्छी पालनमा सहुलित दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था कार्यविधिमा छ ।

तर सरकारको योजनालाई बैंक तथा वित्तीय संस्थाले प्रत्येक पटक अटेर गरे पछि राष्ट्र बैंकले सोमबार सूचना जारी गरेर सचेत गराएको हो । व्याज अनुदानको सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमबाट फाइदा लिन नसकेको गुनासो पछि गत माघ १६ गते पनि केन्द्रीय बैंकले कर्जा प्रबाह सहज बनाउन मातहतका निकायमा निर्देशन गरेको थियो ।

उक्त कार्यविधि अनुसार व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा ५ करोड रुपैयाँसम्म, शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ ।

यसैगरी महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था कार्यविधिमा छ । जसका लागि पाँच प्रतिशत व्याज अनुदान तोकिएको छ ।

राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि नजिकको बैंकमा पुगेका सेवाग्राहीले बैंक तथा वीत्तीय संस्थाहरु सहुलियतपूर्ण कर्जा दिन उदासिन भएको गूनासो बढ्दै गए पछि यस्तो निर्देशन जारी गर्नु परेको केन्द्रीय बैंकले जनाएको छ ।